सभाषद बि.क.को रकमले दलित वस्तीमा धारा

प्रेम सुनार
गुल्मी, साउन–२२ । आफ्नै क्षेत्रका सभाषदलाई धेरै पटक जिताए गुल्मी क्षेत्र नम्वर १ शान्तिपुरका दलितहरुले फर्केर हेरेनन् तर अर्को क्षेत्रको समानुपातिक सभाषदले रकम दिए पछि त्यहाँका दलितहरुले यसपाली घरघरमा पानी धारा पाएका छन् । गुल्मी क्षेत्र नम्वर २ की समानुपातिक सभाषद कमला बि.क.ले संसद विकास कोषबाट एक लाख रुपैयाँ दिए पछि शान्तिपुर वडा नम्वर ३ र ७ का २३ घरधुरी खाने पानीको सुविधा पाएका हुन् ।
शान्तिपुर ७ का समाज सेवी वलबहादुर नेपालीले आफ्नै क्षेत्रका सभाषदले यहाँको दलित वस्तीलाई फर्केर नहेरेको गुनासो गर्दै अर्को क्षेत्रको सभाषद बि.कले पानीको सुविधा दिएकोमा उनि प्रति आभार प्रकट गरे । उनले भने–‘ वषौं देखि आधा घण्टा भन्दा बढि समय लगाएर पानी बोकेर खानु पर्दथ्यो अहिले सभाषद बि.कले दिएको रकमले बढिमा पाँच मिनेटमा प्रत्येक घरधुरीले पानी लैजान सक्छन् , यस प्रति आभार प्रकट गर्दछौं ।’
शान्तिपुर ३ खानेपानी उपभोक्ता समितिका अध्यक्ष एमबहादुर बि.क.ले पनि सभाषद बि.क. प्रति आभार प्रकट गरे । ‘उहाँले दिएको रकले गाउँको विचमा एउटा धारा बनाएका छौं, यहाँका १० घरधुरीले खाने पानीको सुविधा पाएका छन्’–बि.कले भने –‘उहाँ प्रति आभारी छौं । ’ शान्तिपुर ७ मा १३ घरधुरीले दुई वटा धारा बनाएर पानीको सुविधा पाएको अध्यक्ष नेपालीले बताए । सभाषद बि.क.ले थोरै रकमले पनि प्रभावकारी काम गरेकोमा त्यहाँका दलित अगुवा नेपाली लगायतलाई धन्यवाद दिएकी छन् ।

No comments:

Post a Comment