राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुुनुपर्छ- मन्त्री पासवान

काठमाडौँ, २ मङ्सिर , विभेद विरुद्ध अभियान । विज्ञान, प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुुनुपर्ने बताउनु भएको छ ।
निजामती सेवामा दलित समुदायको प्रतिनिधित्व बढाउने उद्देश्यले आयोजना गरिएको लोकसेवा आयोग शाखा अधिकृत पदको तयारी कक्षा अभिमुखीकरण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले शदियौँदेखि आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएको दलित समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री पासवानले दलित समुदायको सवालमा नयाँ संविधान २०७२ मा सुनिश्चित गरिएको अधिकारलाई कार्यान्वयनमा जोड दिँदै थप अधिकारका लागि संयुक्त रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । दलित आयोगका सदस्य वुद्धिमान परियारले दलित समुदायको उत्थान र प्रगतिका लागि आयोग सक्रिय हुँदै आएको र आगामी दिनमा पनि अझ सक्रिय हुने बताउनुभयो ।
व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र (पिडिआरसी) का अध्यक्ष कमला हेमचुरीले राज्यको स्थायी सरकार भनेर चिनिने निजामती कर्मचारी सेवामा दलितको पहुँच बढाउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय दलित कर्मचारी समाज नेपालका अध्यक्ष महेन्द्र विश्वकर्माले दलित समुदायको इच्छा शक्ति अभावका कारण राज्यले दिएको उपलब्धि हासिल हुन नसकेको धारणा राख्नु भयो ।
दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनार, दलित सेवा सङ्घका अध्यक्ष चक्रमान विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष भक्त विश्वकर्मालगायतले अधिकारका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment