जातिय विभेद अन्त्यका लागि सङ्घर्ष गर्ने समुदाय बीच नै जातीय विभेद

अविनाश चौधरी, धनगढी, मङ्सिर १४ - विभेद विरुद्ध अभियान । ‘हामी विश्वकर्माहरुले नेपाली थरकालाई आफ्नो कुँवामा आउन दिंदैनौं । उनीहरुको कुँवाको पानी पनि खाने गरेका छैनौं ।’ कैलालीको गोदावरी गाविस–१ ओलानीकी अमृता विकले सुनाइन्–‘यहाँ पहिलेदेखि नै यस्तै चलन छ ।’
जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्दै आएको दलित समुदायभित्रै जातीय विभेद व्याप्त रहेको अमृताको भनाइले नै पुष्टि गर्छ । विभेद विरुद्ध आवाज उठाउने दलित समुदायभित्रै विभेद रहेको कुरा पत्याउन सजिलो नरहे पनि गोदावरीमा दलितभित्रैको विभेद छताछुल्ल भएको छ । 
आफूलाई उच्च ठान्ने सुनार, विश्वकर्मा, चनारा, सार्की लगायतकाले नेपाली थरका दलितलाई तल्लो स्तरमा राख्ने गरेका छन् । उच्च भन्ने थरका दलितहरुले नेपालीसंग मागी विवाह गर्दैनन् । उनीहरुले नेपालीको भान्छामा पाकेको खाना खाँदैनन् । नेपालीले छोएको पानी पनि पिउने गरेका छैनन् । उच्च ठान्ने थरका दलित र तल्लो स्तर भनिएका नेपालीहरुको पानी खानका लागि गोदावरीमा छुट्टाछुट्टै कुवा बनाइएको छ । विश्वकर्माहरुका लागि बनाइएको कुवामा नेपालीहरुलाई प्रवेश गर्न र पानी भर्नका लागि रोक लगाइएको अमृताले बताइन् ।  
उनले थपिन्–‘विकहरुले पहिले नै नेपालीहरुलाई कुवामा आउन नदिने नियम बनाए । त्यसैले उनीहरु आउन पाउँदैनन् ।’
गोदावरीको ओलानीमा दलित र गैरदलित दुबै समुदायको बसोबास रहेको छ । धारा र अन्य सामूहिक कार्यमा मिल्ने दलितहरु कुँवामा पानी भर्नका लागि भने मिल्न सकेका छैनन् । 
पानीकै लागि झगडा हुन थालेपछि गैरदलित, दलितका लागि छुट्टाछुट्टै कुवा बनाइयो । तर, चाखलाग्दो कुरा के रह्यौ भने दलित पनि आफैमा मिल्न सकेनन् । उनीहरुबीच नै छुवाछुत हुन थालेपछि नेपालीका लागि पानी खाने छुट्टै कुवा बनाइएको हो । 
तल्लो स्तरको भन्दै विकहरुले आफ्नो कुवामा जान नदिएपछि नेपालीहरुका लागि बनाइएको कुवामा उनीहरुलाई पनि आउन रोक लगाइएको स्थानीय सीता नेपालीको भनाइ छ ।
उनले अगाडि थपे–‘तल्लो भन्दै उनीहरु त्यसै पनि हाम्रो कुवामा आउँदैनन् । पहिलेदेखि नै विक र नेपालीबीच रहेको विभेद अहिलेसम्म कायम छ ।’
दलितभित्रै आन्तरिक विभेदले नेपाली र विकको कुवा भनेर कुवामै नाम उल्लेख गरिएको छ । विकको कुवामा सार्की, चनारा, सुनार, कोली, भुल लगायतकाले भने पानी खान पाउने गरेको बताइएको छ । 
गैर दलितले विभेद गरे भनेर मिलेरै लड्ने उनीहरु आफ्नै समुदाय भित्रकै आन्तरिक विभेदलाई भने निरन्तरता दिएका छन् । आन्तरिक विभेद निर्मूल नगरी उच्च जातीबाट हुने विभेद अन्त्य गर्न नसक्ने बुझेका केहि महिलाहरुले विभेद अन्त्यका लागि आवाज समेत उठाउने गरेका छन् । 
तर, बुढापाकाहरुले त्यो आवाजलाई दबाउने गरेको जनज्योती दलित महिला समूहका अध्यक्ष कविता विकले बताइन् । 
‘विभेद हुनु हुँदैन भनेर हामीले सामूहिक आवाज उठाउन थालेका छौं’, उनले अगाडि थपिन्–‘धेरै हद्सम्म प्रयास सफल पनि भएको छ । तर, बुढापाकाले मान्ने गरेका छैनन् ।’
उनले विभेद अन्त्य गर्नका लागि समूहमा सबै थरका दलितलाई समेटेको बताउँदै भने–‘हामी मानव सबै एउटै हो । आन्तरिक र सबैखाले विभेद अन्त्य गर्न आवश्यक छ ।’
बुढापाकाहरुले पहिलेदेखि नै बनाएको रुढिवादी परम्पराको अन्त्य नभएसम्म दलितभित्रकै आन्तरिक विभेद नहट्ने स्थानीय कृष्णा विकले बताइन् । उनले विभेदको संस्कार हटाउन घर–घरबाटै सोचाई परिवर्तन हुन आवश्यक रहेको दाबी दाबी गरिन् । 
दलित महिला अधिकारकर्मी सावित्रा घिमिरेले दलित–दलितबीच नै आन्तरिक विभेद रहेको स्वीकार्दै यस प्रकारको विभेद अन्त्य गर्न आवश्यक रहेको बताइन् । उनले दलितबीच रहेको र अन्यबीच हुने सबैखाले जातीय विभेद अन्त्यका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने जोड दिइन् । 
गोदावरीमा खाने पानीको समस्या छ । बनेका धाराहरुमा पानी नआएपछि स्थानीयहरुले भूमिगत जलस्रोतबाट आएको र कुवाको पानी खान बाध्य छन् । तर, पानी जोहोकै बहानामा जातीय विभेदले पनि जरा गाडेको पाईन्छ । 
दलित महिला संघ (फेडो) कैलालीका अध्यक्ष पुनम सिजापतीले दलित–दलितबीच नै आन्तरिक विभेद रहनुले सबै खाले जातीय विभेदको अन्त्य गर्न चुनौती रहेको बताइन् । 
उनले जातीय विभेद हटाउनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको धारणा राखिन् । 
‘दलितबीच नै आन्तरिक विभेद कायम रहेको कुरा सत्य हो’, उनले भनिन्–‘तर, यस प्रकारको विभेदको अन्त्य गर्न आवश्यक छ ।’ दलितभित्रै पनि छुवाछुत रहेकाले दलित महिला संघको अगुवाईमा समूहहरु गठन गरेर त्यसविरुद्ध बोल्न महिलाहरुलाई सक्रिय बनाएको अध्यक्ष सिपातीले बताइन् । 
उनले थपिन्–‘समूहका महिलाहरु सबै खाले विभेद विरुद्ध बोल्न थालेका छन् । उनीहरुले भेदभाव हटाउन एक्सन लिन थालेका छन् ।


रेडियो पश्चिम टुडेबाट

No comments:

Post a Comment