सूर्यकुमार खाती आलोकश्रीको नाममा चर्चित संगीतकार कसरी बने ?

कार्तिक २२- विभेद विरुद्ध कुनै यस्तो वेला थियो, संगीतकार आलोकश्रीको नाम मात्रै छापेर निकालिएका गीतका एल्बम हजारौा प्रति बिक्थे । उनले आफ्नो संगीतमा नेपालका चर्चित गायकसाग मात्रै होइन, मुम्बई पुगेर चर्चित गजलकार जगजित सिंहसाग पनि गीत रेकर्ड गराए । उनले संगीत दिएका गीत चर्चित बन्न थालेपछि कतिपयले आलोचनासमेत गर्न भ्याए, यो त आलोकश्रीको संगीत नै होइन । अनामनगरस्थित गुन्जन स्टुडियोमा पुगेर प्रवीण देवकोटाले आलोकश्रीको संगीत–संघर्षका पाटा खोतल्ने प्रयास गरे : ‘त्यो दिन एउटा सुमधुर धुन मेरा कानमा ठोक्किन आइपुग्यो, उपल्लो घरतिरबाट । मेरा आँखा टाठा भएर माथितिरै मोडिए । काले दाइ घरको पालीमा बसिरहेका थिए । उनको टाउकोमाथि भित्तामा झुन्डिएको रेडियोबाट त्यो धुन कम्पन भइरहेको मैले भेउ पाइहालेँ । ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ गीत घन्किरहेको थियो । बिचरा दाइ † त्यतिखेर त्यो गीतका शब्दमा उनकै जीवन कहेजस्तो लाग्थ्यो । कोलकातातिर लाहुर गएका उनी झोलाभरि टिबी रोगको औषधि बोकेर दुई दिनअघि मात्रै घर फर्किएका थिए ।’ अनामनगरस्थित आफ्नै रेकर्डिङ स्टुडियो गुन्जनमा मलाई निम्तो दिएका आलोकश्रीले बालापनको त्यो दिन सम्झिए । 
गाउँको सूर्य अर्थात् सूर्यकुमार खाती, आलोकश्रीको नाममा चर्चित संगीतकार बन्नुमा त्यो दिनको भूमिका महत्त्वपूर्ण रहेछ । उनले सुनाउँदै गए– रेडियोबाट निस्केको धुनले मलाई माथिल्लो घरतिरै उक्लिन बाध्य पार्‍यो । काले दाइको नजिकै गएर गीत सुनेँ । टिबीले गालेको शरीर भित्तामा अड्याएर पटक–पटक लामो सास फेर्थे, उनी । गीतका शब्द र दाइको हालतले मेरो मन भावुक भयो । मलाई त अनायसै संगीतको नसा लागेछ, दिनहुँ दाइको पालीमा पुग्न थालेँ । दाइ पनि खुसी थिए, मेरो साथ पाएर । एक दिन मैले सोधेँ, ‘ए दाइ, यो गीत कहाँबाट, कसरी बज्छ होला, तपाईंलाई थाहा छ ?’ जवाफ पाएको थिएँ, ‘बाबु, यहाँभित्र मान्छेहरू छन्, तिनैले गाउँछन् ।’ अनि मलाई लाग्थ्यो, रेडियो खोलेर भित्रका मान्छे हेरौँ कि क्या हो । तर, ०४० सालतिरको दाइसँगको त्यो बसाइ लामो रहन पाएन, उनी बिते । पालीको भित्तामा झुन्डिएको रेडियो पनि दाइको मृत्युसँगै मर्न पुग्यो । ब्याट्री सकिएपछि घरमै कतै मिल्काइदिए । संगीतको धुनमा मन हेलिदिएर सूर्यलाई रेडियोले साथ छोड्यो । उनलाई आफ्नी आमाको पात बजाउने कलाले झनै झस्काउन थाल्यो । ‘आमाको ‘पातेसंगीत’को कथा रेडियोसँग जोडिनुभन्दा पहिलेकै हो,’ आलोकश्रीले सुनाए, ‘मेलापात जाँदा म पनि आमाको पछि–पछि लाग्थेँ । चिलाउनेको कलिलो पात टिपेर आमा विरहका धुन दिनुहुन्थ्यो । मेरा आँखाबाट अनायसै आँसु चुहिन्थे । अहिले सम्झिँदा लाग्छ, आमाकै कला सरेर त होला, म त्यतिखेरै आफ्नै भाका निकालेर कान्छो भाइलाई सुताउन सक्थेँ ।’ 
बिहेमा जाने बहाना पारी रेडियो नेपाल पुग्दा 
०४२ सालमा उनी १३–१४ वर्षका थिए । गाउँकै एकजना दाइको काठमाडौंमा बिहे हुँदै छ रे भन्ने सुने । आठ कक्षामा पढ्दै गरेका उनलाई त्यतिखेर भने थाहा भइसकेको थियो, काले दाइको पालीमा बज्ने धुन रेडियो नेपालबाट आउँथ्यो र त्यो काठमाडौंमा छ भन्ने कुरा । बिहेको निम्तो उनका हजुरबा–हजुरआमालाई पनि थियो । काठमाडौं आउन तनहुँको डुम्रेबाट बस रिजर्भ गरेका थिए, सबै गाउँले मिलेर । ‘म पनि बिहेमा जाने भनेर पछि लागेँ, तर उद्देश्य बिहेको रमाइलो होइन, रेडियो नेपाल हेर्ने थियो,’ उनले सम्झिए, ‘जावलाखेलस्थित बिहेघरमा पुगेपछि हजुरआमाको आँखा छलेर बिहेघरबाट फुत्किएँ ।’ ठाउँ–ठाउँमा सोध्दै उनी रेडियो नेपाल पुगे । भित्र गीत रेकर्ड भइरहेको हेरे, अवलोकन शाखाबाट । त्यतिखेर सिंहदरबार छिर्न र रेडियो नेपाल ‘भिजिट’ गर्न अहिलेजस्तो समस्या थिएन । ‘तारादेवी दिदीको गीत रेकर्ड भइरहेको थियो, नातिकाजीको संगीतमा,’ आलोकश्रीले सुनाए, ‘ती मान्छे उहाँहरू नै हो भन्ने कुरा निकै पछि चिनाजानी भएपछि मात्रै ठम्याएको हुँ, सम्झनाका आधारमा ।’ बेलुका उनी बिहेघरमै फर्किए । उनले भने, ‘हजुरआमा रोइरहनुभएको रहेछ, नाति कता हरायो भनेर ।’ ०४४ सालमा त उनले एसएलसी पनि दिए । रिजल्टका लागि तीन–चार महिना पर्खिनुपथ्र्यो, त्यो वेला । यसबीचमा काठमाडौं जाने अठोट गरे । ‘कुखुराको भाले बेचेको २० रुपैयाँ आमाले गोजीमा हालिदिनुभयो, त्यही पैसा बोकेर डुम्रेबाट काठमाडौंको गाडी चढेँ,’ उनले भने, ‘जावलाखेलस्थित काकाकोमा आएर बसेँ । सानोतिनो केही काम गरेँ ।’ काठमाडौं गएको छोराबाट घरकाले आस त राख्ने नै भए । उनका बाआमाले पनि छोराले पैसा पठाउला भनी सोचेका थिए । घरकाले पैसाको आस पालेको खबर गाउँकै मान्छेमार्फत काठमाडौंसम्म आउँथ्यो । ‘तीन महिनापछि तीन हजार रुपैयाँ बोकेर घर फर्किंदा गाउँभर चर्चा भएको थियो, फलानाको छोराले यत्रो पैसा कमाएछ भनेर,’ उनले त्यो खुसी सम्झिए । 
मादल बजाउन नआउने गीतकारबाट संगीतकार 
उनले एसएलसी पनि पास गरे । फेरि काठमाडौं नै आए । पाटन क्याम्पसमा भर्ना भएका उनी गुजारा चलाउन स्कुलतिर पढाउने पेसामा अल्झिए । तर, पढाउने उनको रहर थिएन । रहर त गीत–संगीतमा लाग्ने थियो । ‘केही पैसा जम्मा गरेर मैले थोत्रो हार्मोनियम किनेँ,’ उनले सुनाए, ‘संगीत दिने त मेरो हैसियत थिएन, मादल ठोक्न पनि आउँदैनथ्यो । तर, गीत भने लेख्थेँ ।’ ०४५ सालतिरको त्यो समयमा गीत लेखेर उनले डायरी भरिसकेका थिए । स्कुल छुट्टी भएपछि त्यही गीतको डायरी बोकेर उनी रेडियो नेपाल धाउँथे । ‘कसैले गाइदेला कि भनेर भेटेजतिलाई गीत देखाउँदै हिँड्थेँ, ज्यू, हजुर गर्न कसैलाई बाँकी राखिनँ,’ संघर्षका क्षण सुनाए, ‘कसले पुछ्ने मजस्तोलाई ।’ लामो संघर्षपछि बल्लतल्ल उनले लेखेको एउटा गीत रेकर्ड भयो । सूर्यकुमार गीतकार पो बने । तर, उनी चाहन्थे संगीतकार बन्न । संगीतको ‘स’ पनि नआउने उनले आँट गरे । ‘वर्षात्सँगै चट्याङ परिरहेछ, मुटु कमाउने गरी हावा बगिरहेछ, विछोडिएर बाँच्दा तिमीसँग यो मन जलिरहेछ’ बोलको आफ्नै गीतमा मनको भावले एउटा धुन निकाले । तर, गायक र रेडियोमा ‘रेकर्डिङ डेट’ मिलाउन नसक्दा गीत रेकर्ड गर्न सकेनन् । ‘आफ्नो संगीतमा कसरी गीत रेकर्ड गर्ने त ? मलाई निकै छटपटी भयो,’ आलोकश्रीले भने, ‘रेकर्डिङका लागि खर्चबर्च चाहिन्छ भनेपछि स्कुलबाट एडभान्स लिएको दुई हजार रुपैयाँ बुझाएर बल्लतल्ल ‘तिमी जति टाढा भए पनि तिम्रो याद आउँछ’ भन्ने गीत रेकर्ड गराएँ ।’ भरत जंगमको शब्दमा पूर्ण परियारले स्वर दिएको त्यो गीत त्यतिखेर ‘सुपरहिट’ भयो । संगीतमा सूर्यकुमार खाती भन्ने नाम रेडियो नेपालमा घन्किन थाल्यो । उनी संगीतकार बने । नारायणगोपाललाई चिया बोक्न थालेँ 
उनलाई थाहा भइसकेको थियो, आफू सानो छँदा काले दाइको रेडियोमा घन्किएको ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ गीत नारायणगोपालले गाएका थिए । र, उतिवेला रेडियो फुटाएर हेर्न मन लागेका नारायणगोपाललाई देख्ने अवसर पनि उनले पाइसकेका थिए । रेडियो नेपाल धाउँदा नारायणगोपाललाई नहेरी धित नै नमर्ने भयो उनलाई । ‘सेतो पाइन्ट र रातो सर्टको पहिरनमा पान चपाउँदै दाइ चस्मा लगाएर टकटक…आउनुहुन्थ्यो, उहाँलाई हेर्दा मात्रै पनि आनन्द लाग्थ्यो,’ आलोकश्रीले त्यो संगत सुनाए, ‘हत्तपत्त मान्छेहरूसँग नबोल्ने उहाँको स्वभाव थियो, तर, म साखिलो बन्दै उहाँको टेबुलनजिकै गएर बस्थेँ । सधैँको मेरो यो बानी देखेर उहाँले खै के ठान्नुहुन्थ्यो थाहा थिएन । तर, उहाँले ‘जा गएर चिया ले’ भन्नुहुन्थ्यो । म ल्याउँथेँ ।’ बीचमा काम विशेषले उनी गाउँ गए । झन्डै तीन–चार हप्ता नारायणगोपालसँग ‘ग्याप’ भयो । ‘दाइले त मलाई ‘मिस’ गर्न थाल्नुभएछ, सधैँ मलाई चिया ल्याउने केटो कता हरायो भनेर,’ भेटपछिको स्मरण गर्दै उनले भने, ‘मलाई देख्नेबित्तिकै दाइले ‘कहाँ गाथिस् तँ’ भनेर सोध्नुभयो ।’ उनले गाउँ गएको कुरा सुनाए । नारायणगोपालले घरको ठेगाना सोध्दा उनले गोरखाको लिगलिग भएको बताए । गोरखा घुमिसकेका नारायणगोपालसँग उनको सामीप्यता झनै बाक्लियो । तर, केही समयपछि बिरामी भएर थला परेका नारायणगोपालले ०४७ सालमा सबैलाई छाडेर गए, सूर्यकुमारलाई पनि । नारायणगोपालले सूर्यकुमार खातीलाई देखे, तर आलोकश्रीलाई देख्न पाएनन् । ‘न त मैले त्यो वेला मेरो गीत गाइदिनुस् भन्न सकेँ, न त राम्रो संगीतकारको हैसियत बनाउँदासम्म उहाँ यो धर्तीमा रहन पाउनुभयो ।’ आलोकश्रीले नारायणगोपाललाई सम्झिए, ‘मेरो सांगीतिक जीवनमा खड्किएको एउटा ठूलो कुरा यो नै हो ।’
 रामकृष्ण ढकालसँग सकसले बन्यो सम्बन्ध 
०५२ सालतिर नेपाली संगीतमा रामकृष्ण ढकालको भर्खर–भर्खर आगमन भएको थियो । उनी रेडियो नेपालमा जागिरे पनि थिए । उनले गाएका गीत श्रोताले रुचाइसकेका थिए । धेरैले चिन्थे उनलाई । ‘मैले ढकालजीलाई भेटेर मेरो एउटा गीत गाइदिनुपर्‍यो भनेँ,’ आलोकश्रीले त्यो घटना सुनाए, ‘उहाँले टेरपुच्छर लगाउनुभएन ।’ तर, ढकालसँग उनको हाई–हेल्लो भने चल्दै गयो । ‘उहाँ रेडियोमा कार्यक्रम सकेर निस्किने वेलासम्म म बाहिरै कुरिरहन्थेँ,’ उनले सुनाए, ‘आठ–दश महिनापछि केही नजिक भइयो । अन्तत: कालीप्रसाद रिजालको शब्द र मेरो संगीतमा रामकृष्णले एउटा गीत लाइभ रेकर्ड गरिदिनुभयो ।’ कामकै क्रममा रामकृष्णसँग उनको सम्बन्ध गाढा बन्न थाल्यो, नङ–मासुजस्तै । ‘उहाँलाई म चाहिने, मलाई उहाँ चाहिने,’ आलोकश्रीले सम्झिए, ‘हामीले संयुक्त लगानीमा मुम्बई गएर ‘आशा’ एल्बम निकाल्यौँ । ‘थोरै–थोरै रिस अनि धेरै–धेरै माया, रिसमै पनि देख्छु म त मायाको नै छाया’ बोलको गीत निकै हिट भयो । लाखौँ प्रति एल्बम बिक्री भए । यसैको प्रतिफलस्वरूप भन्नुपर्छ, रामकृष्ण ढकाल १९–२० वर्षको उमेरमै गोरखा दक्षिणबाहुबाट विभूषित भए । ‘आशा सार्वजनिक भएपछि ढकालजीले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन,’ ढकालको त्यो सफलताबारे आलोक भन्छन्, ‘त्यतिखेर उहाँले ‘वल्र्ड टुर’ मार्ने मौका पाउनुभयो ।’ उनले एकल लगानीमा ०५६ सालमा ‘छाया’ एल्बम निकाले । बिहान उठ्नेबित्तिकै, निष्ठुरीले छाडेर गइहाली लगायत गीत समावेश थिए । ढकालले नै स्वर दिएका यी गीतले उनलाई सक्षम संगीतकारका रूपमा स्थापित गरायो भन्दा गलत हुँदैन । यो कुरा उनी आलोकश्री स्वयं स्विकार्छन् । ‘संगीतकारको ‘हाइड’ भूमिका मैले ‘छाया’ एल्बमबाट तोडिदिएँ, उनले दाबी गरे, ‘नेपालको इतिहासमै विनाफोटो, केवल आफ्नो नाम मात्रै राखेर संगीतकारले निकालेको एल्बम सबैभन्दा धेरै बिक्यो ।’ सूर्यकुमार खाती अनि भए आलोकश्री
आलोकश्रीले ०५२–५३ मै सूर्यकुमार खातीको नामबाट बिहान उठ्नेबित्तिकै गीतको संगीत भरेका थिए । यसले नै उनलाई संगीतकार सूर्यकुमारको नामले परिचित नगराएको भने होइन । ‘तर, मलाई आफ्नै नाम निकै लामो लाग्यो । रेडियोमा सूर्यकुमार खातीले संगीत दिएको यो गीत सुन्नुहोस् भन्दा लामो भएजस्तो लाग्थ्यो ।’ सूर्यकुमारबाट आलोकश्री बन्दाको त्यो समय सम्झिँदै भने, ‘स्थापित भइसकेको नाम नै बदलेर छोटो राख्ने ‘रिस्क’ मोलेँ ।’ आशा एल्बमबाटै उनले आलोकश्री नाम राखेका थिए । ‘म, रामकृष्ण ढकालजी र आनन्द अधिकारी (हाल कर्णेल) ढकालजीको लैनचौरस्थित रुममा बसेर नामबारे छलफल गर्‍यौँ । आनन्द अधिकारीले ‘आलोकश्री बेस्ट छ’ भन्नुभयो ।’ नाम बदल्दाको त्यो क्षण सम्झिए, ‘उहाँले श्री भनेको धन र आलोक भनेको अलौकिक, ल अब योभन्दा के चाहियो भनेपछि त्यही नाम राख्ने निर्णय भयो ।’ आलोकश्रीको चर्चा चुलिँदै गएपछि अरूहरूले पनि नामको पछाडि श्री ‘क्यारी’ गर्न थाले । आलोकश्री नाम चर्चित भइसकेको थियो, तर धेरैलाई थाहा थिएन, उनै सूर्यकुमार, आलोकश्री हुन् भन्ने कुरा । किनभने, उनले फोटोविना नाम मात्रैको एल्बम निकालेका थिए । ‘त्यो आलोकश्री भन्ने नयाँ केटाको संगीत कस्तो राम्रो है, क्या चलेको छ गीत ।’ उनकै सामुन्ने अरूले गरेका ती कुरा सम्झिँदै आलोकले भने, ‘०५६ सालपछि बरु गायकका एल्बम बिक्न छाडे, मेरा एल्बम निकै बिक्री भए । १० लाखसम्म ‘पेमेन्ट’ गरेर एल्बममा संगीत भरिदिन अफर आए । त्यतिवेला लाग्यो, म त चर्चित संगीतकार भइसकेछु ।’ 
फेरि चम्किए छुटिसकेका राजेशपायल 
‘राजेशपायल राई नेपाली संगीतमा झन्डै छुटिसकेको मान्छे हो । मेरै ‘नौजाले मायाले’ गाएपछि एकाएक उत्कर्षमा आउनुभयो,’ आलोकश्रीले दाबी गरे । पहिला मनोज सेवालाई गाउन लगाउने सोच थियो रे उनको । तर, मनोजले अझै राम्रो गीत दिनुस् भनेपछि नौजाले मायामा राईलाई अवसर दिएको आलोकले बताए । ‘त्यतिखेर उहाँ गोडा मर्किएर घरमा बसिरहनुभएको थियो । गीत राम्रो छ, तपाईं आउनुपर्‍यो भनेँ । गोडामा काम्रो बाँधेर लठ्ठी टेकेर यहीँ (गुन्जन स्टुडियो) आउनुभयो ।’ त्यो दिन सम्झिए, ‘म बेन्चमा बसेर गाउँछु भनेको मान्छे पछि त दु:खाइ भुलेर उभिएरै गाउनुभयो ।’ साँच्चै नौजाले मायाले धुम पिटेकै हो । राजेशपायलले पनि यो गीत गाएपछि पछाडि फर्किएर हेर्नुपरेन । 
जगजितले भन्नुभयो–‘तिमीजस्ता लाखौ फ्यान छन्’ ०६२–६३ तिर आलोकश्री गीतकार जेबी संयोगसहित मुम्बई पुगे, जगजित सिंहसँग गीत रेकर्ड गराउन । ‘उहाँलाई भेटेर कुन माया सदर भो, मेरो माया बदर भो, गीत गाइदिन अनुरोध गर्‍यौँ,’ आलोकश्री भन्छन्, ‘तर, उहाँले गाउन इन्कार गर्नुभयो, नेपाली भाषा पनि जानेको उदितनारायण झालाई गाउन लगाउन भन्नुभयो ।’ आलोकले आफू बच्चैदेखि जगजितको फ्यान भएको सुनाए । ‘मेरा फ्यान त यहाँ तँजस्ता लाखौँ छन्, सबैले आग्रह गरे भन्दैमा म गाउँदै हिँड्न सक्छु ? मलाई नसोधी कसरी आइस् ? मसँग एल्बम गर्ने तेरो आँट कसरी आयो ?’ जगजितले त्यतिखेर भनेको कुरा आलोकले गुन्जनको बसाइमा सुनाए । निकै कर गरेपछि दुईवटा गीत फ्रीमा गाइदिने वचन दिएछन् जगजितले । ‘दुईवटा गीत गाउने क्रममा उहाँसँग सामीप्यता बढ्यो, मेरो संगीत रुचाउनुभयो,’ उनले सफलता सुनाए, ‘अन्तत: १० वटै गीत गाइदिनुभयो ।’ दुई गीतका संगीत–ट्रयाक सुनेपछि जगजितले ‘लाइभ’ संगीत गर्न भनेछन् । ‘मैले लाइभ संगीत दिएँ, उहाँले गाउनुभयो,’ आलोक भन्छन् । उनी एल्बम गरेर नेपाल फर्किएपछि जगजितको ‘ओपन हार्ट सर्जरी’ भयो । संयोगवश, जगजितको अन्तिम नेपाली एल्बम ‘संयोग’ नै भयो । 
सैद्धान्तिक शिक्षा नहुँदा क्षमतामाथि नै प्रश्न उठे
०५५–५६ देखि ०६५–६६ सम्मको अवधिमा संगीतकार आलोकश्रीको राज एकछत्रजस्तै चल्यो । संगीतको कुनै औपचारिक कक्षा नलिएका, कसैबाट संगीत नसिकेका उनको यो क्षमताले सबैलाई सोचमग्न बनाएकै हो । संगीतको सैद्धान्तिक कक्षा नलिएको कुरा सुनाउँदा जगजित सिंहले नै पत्याएनछन् । ‘तेरे जो गिफ्ट मिला हे, उपरवाला से आया हे,’ जगजितले भनेको कुरा स्मरण गर्दै उनी भन्छन्, ‘मैले सबै आफँै सिकेँ भन्दा उहाँ दंग पर्नुभयो । उहाँले त कुनै चर्चित विश्वविद्यालयमा मैले संगीत सिकेको ठान्नुभएको रहेछ ।’ त्यसो त, कैयौँ चर्चित गीतमा आलोकश्रीले दिएको संगीतलाई उनको होइन भनेर नेपालमै आलोचना भए । ‘बिहान उठ्नेबित्तिकै, म सपनाको कुरा गर्छु, तिम्रो पछ्यौरीमा जस्ता गीत मैले गाएकै होइन भनियो । जगजितसिंहको कुन माया सदर भो गर्ने हैसियत आलोकश्रीसँग छ ? भनियो ।’ त्यो चुनौतीको क्षण सम्झिँदै आलोकश्रीले भने, ‘संगीतकार सुरेश अधिकारीले नै ‘म सपनाको कुरा गर्छु’ भन्ने गीतको संगीत तैँले गरेको होइन, भन्नुभयो । पेपरबाजी नै गर्नुभयो ।’ 
हो, अहिले संगीतबाट थोरै ओझेलमै छु
‘हो, म अहिले अलिक ओझेलमै छु,’ आलोकश्रीले भने, ‘अहिलेको जेनेरेसनसँग कति जुध्दै बस्ने ? संगीतको ट्रेन पनि बदलियो । एक ढंगले स्थापित भइसकेको मान्छे, नयाँ ट्रेनमा प्रस्तुत हुन धेरै ‘रिस्क’ छन् । तर, राम्रा गीत कहिल्यै मर्दैनन्, हामीले आफ्नो पालामा जे राम्रो गर्‍याँै, ती जीवित रहनेछन् ।’ आलोकश्री अहिले गोदावरीमा रहेको आफ्नै स्कुल र गोरखाको पालुङटारमा सुरु गरेको अर्गानिक तरकारी फार्मतिर पनि केही व्यस्त छन् । ‘अब नेपाली गीत–संगीतमा मैले गर्ने भनेको रिसर्च हो,’ गुन्जनको बसाइबाट उठ्तै गर्दा उनले भने ।


नयाँ पत्रीका बाट

No comments:

Post a Comment