मङ्सिर ५ ,विभेद विरुद्ध अभियान । दुइ जड्याहाको भेट भए सल्ला छिटो मिल्छ भट्टी तिर जान । मडवा च्याप्ने खैनिवालाको भेट भए ताली चुट्त्तै खैनी मल्न थाल्दछन् । त्यस्तै दुइ विद्धवानको भेट भयो भने, बिचार विमर्श हुन्छ, तै छाड मै छाड अनि झगडा हुन थाल्छ । अझ विद्धवानहरु फेरी जातजातीको बिषय लिएर सिगौरी खेल्न थाल्दछन । यसले मलाई चट्ट छुन्छ । तिखो बाण गरीब अनि निमुखा तिर फेरी फर्केको मलाई आभाष हुन्छ । समाज, यस्को सुरुवात, यस भित्र रुमलिएका स्वार्थहरु, परिवर्तनका झलक, राजनीतिको झम्टाई अनि विद्धवानहरुका परिभाषाहरुका लागि मेरो एक सानु गाउँले कलम यहाँ बोल्न चाहान्छ । यो कथा सार्वजानिक एवं सबैतिर लागू नहुन सक्छ । तर दन्किदो समस्याको उधारण भने अवस्य हुन सक्ला ।
जातीय अनि छुवाछुतको परम्परा वा पक्क्षपात भनौ हाम्रा गाउँमा पनि प्रचलित थियो । तर गरीवीका चपेटामा रुमलिएकाले हुन सक्छ गाउँमा यस बिषयमा बिरलै आवाज उठ्थ्यो । सबैलाई अती दुख थियो, त्यसमा पनि तल्लो जातका मान्छेलाई भने जिवन धान्न अती चर्को थियो । पढाईमा पछि, आर्थिक अवस्था कम्जोरी, अनि त्यसमा पनि समाजको किनारमा मात्र स्थान अनि अपहेलित भएको मारले हुन सक्छ प्रगती गर्न गाह्रो हुने त भइ गयो । तर विस्वाद दै विस्वाद अनि तितै तितो मात्र भने हाम्रा गाउँमा थिएन । केहि विचित्रका उदारणहरु पनि हाम्रा गाउँमा छन – तुले दमाइको रवाफ, रेतीलाल गज्मेरको परिवार अनि लामगादेका घरको परिवर्तन । आज म यस्ता धेरै उदारणहरु मध्धे एकको छोटो बयान गदर्छु ।
गोशी खोलाको किनार अनि गोशी स्कुलको नजिक लामगादेको घर थियो । लामगादे बुडा धेरै अघि मेरेको हुनु पर्छ । लामगादेनिबुढीका आँखा कम्जोरी थिए र केहि वर्ष सम्म अन्धा भएर बसिन । उनका तीन भाई छोरा अनि एक छोरी थिइन् । लामगादेकी छोरी अथवा मिस्त्री कामी कि श्रीमती हाम्री छिमेकी थिइन् । लामगादे र मिस्त्री कामीका परिवारको अवात जवात गर्ने बाटो हाम्रो घरबाट भएको हुनाले दुवै परिवारसंग हाम्रो राम्रो चिनजान थियो । त्यसै पनि सानो गाउँमा एक आपसमा राम्रो हिमखिम ता हुनथियो नै ।
लामगादेको परिवार अति गरीब थियो । घर जेठा छोराले धान्दथे । माइला छोराको भने मानसिक विकासको कमि अनि शारीरिक अवस्था पनि कम्जोर थियो । कान्छा छोरा टिकाराम बिस्वा स्कूल पढ्दथे र हामी भन्दा लगभग ७ वर्ष अग्रज थिए । सम्भवत तल्लो जातबाट गोशी स्कुलको पढाइ सक्दै राम्रो अंक ल्याएर हाईस्कुल जाने ती पहिला व्यक्ति होलान हाम्रा गाउँबाट । स्कुलको छुट्टि हुँदा टिकाराम गाउँ आउंथे । गाउँलेहरु तीनलाई देख्दा लामगादेको कान्छो, कामी भए पनि पढाइमा कडा छ, कांग्लुंग कलेजमा पढ़छ भन्थे ।
तर जातको मार्का भने तिनलाई अति चर्को थियो । गाउँलेले ठाडै कामी भनेर अपहेलना गर्दथे । तर टिकाराम दृडताका साथ अघि बडी रहे । गाउँमा चलि आएको पापी जात अनि छुवा छुतका परम्पराको बिरोध तिनले गरेनन्, अथवा हामीलाई महसुस भएन । आवाज उठाउथे पनि कसरी जब समाज नै एक ढिक्को अनि अचल पाहड भएर रुढीबादीमा रोमलिने थियो । फेरी समाजले तिनको परिवार डस्ला भन्ने बिशाल ठुलो डर थियो टिकारामलाई । तिनको मनमा समाजको तितो नीति ज्वालामुखी भएर रुमलिए पनि बिरोध तिनले गरेनन् ।
टिकारामले परिवर्तनका लागी लामु समय पर्खिनु परेन । टिकाराम गाउँ कै गोशी स्कुलमा शिक्षक भएर आए । त्यतिखेर हामी कक्षा आठमा पढ़दथिउ र टिकारामले हामीलाई रसायन अथवा केमेस्ट्री पढाउन थाल्नु भो । टिकाराम गाउँमा शिक्षक भएर आएकोमा विरोधै ता भएन तर हामीले सामान्य काम बिराउदा पनि गाउँमा कामीको विद्यार्थी भनेर हामीलाई सम्म घोच्ने गरिन्थियो । तर टिकारामको मलिम पन, लगाव, लगनशीलता अनि गाउँ र समाजको मायाले धेरै समय न बित्तै तिनले कामीको परिभाषा परिवर्तन गरिदिए । उनलाई टिकाराम विस्वा नभनेर टिकाराम सरको नाममा आज पनि चर्चित हुनुहुन्छ । लामगादे कामीको घरले एक विद्वान जन्माए पछि लामगादेको परिवार राता-रात परिवर्तन भयो नै, गाउँ मा समेत बत्ती बल्यो । अनि लामगादे कामीको घर नभएर टिकाराम सरको घर भयो अनि गाउँलेहरुलाई ऋण दिने साउको घर भयो ।
शिक्षाले मानिसको जात फेर्दछ । शिक्षाले रुडीवादी, जातपात, छुवाछूत अनि पक्क्षपात विरुद्धको खडा अटल पर्खाल भत्काउछ, सफल अनि शान्तिको युद्ध लढदछ । शिक्षाले नया बाटो देखाउछ अनि अन्धा समाजलाई तेश्रो आँखा दिन्छ ।
जात-जातिको भेदभाव दिर्घायु रुपमा निर्मुल पार्न र यसको समाधानका लागि न कुनै कानुन, न कुनै राजनीति, न कुनै प्रकारको बल नै हुन सक्छ । जात-जातिको भेद समाधानका लागि एक मात्र धारिलो हतियार भने शिक्षा नै हो । अन्धो समाजलाई आँखा देखाउन शिक्षा द्वारा न्यायको खोजि मात्र एक विकल्प हो ।
No comments:
Post a Comment