नेपाली मौलिक संस्कृतिको धरोहर पन्चे बाजा - युक्तलाल बिश्वकर्मा

 मंसिर ९, विभेद विरुद्ध अभियान ।  दलित समुदाय कला र सिर्जनाका धनि हुन् । नेपाली मौलिक संस्कृतिको धरोहर पन्चे बाजा दलित समुदायको मौलिक बाजा हो ।यसले धार्मिक एबम् साँस्कृतिक रुपमा उत्कृष्ट पहिचान बोकेको छ । नेपाली समाजमा प्रत्येक नेपालीको मन मुटुमा बस्न सफल भएको पन्चे बाजा नेपाली मौलिक संस्कृतिको अनुपम नमुना हो । शुभ साइतको शंखघोष गर्न,बिवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यहरुमा यसलाई ज्यादै महत्वका साथ लिईन्छ । नेपालमा प्रचलित लोकगीतहरुलाई मिठासपूर्ण रसमय धुनमा सिंगारी पन्चे बाजाद्वारा प्रस्तुत हुँदा जो कोहि पनि मन्त्रमुग्ध नहुने कुरै हुँदैन । मानिसको अन्तरमनलाई भित्रि गहिराई देखिनै छुन सफल पन्चे बाजा हाम्रो रीतिरिवाज धर्म र संस्कृतिको केन्द्रबिन्दु हो । पन्चे बाजाको धुन हावामा तरंगित हुँदा वातावरण मनोरम रमणीय र सुरम्य हुन्छ भने प्रत्येक व्यक्ति यसको मिठास धुनको प्रभावमा आनन्दित र प्रफुल्लित हुन्छन् ।                                                                     
संगीत र कला मानवको बाहिरी एबम भित्रि अंगका अवयवहरुलाई यथाशिघ्र मनोवैज्ञानिक रुपले अन्तर सम्बन्धित गराउदै जोडिने मनोरञ्जनको महत्वपूर्ण साधन हो । मानिसलाई मात्र होइन प्रकृतिका जीवजन्तु बनस्पति अर्थात् सम्पुर्ण जीवित प्राणीलाई प्रत्यक्ष असर पुरयाईरहेको हुन्छ । संगीतको धुनमा समुन्द्रका छालहरू तरंगित हुँदै झुमिरहेका, बोटबिरुवाहरु नुहिएर नृत्य भाव प्रस्तुत गरिरहेका, जीवजन्तु पन्छीहरु संगीतमा मोहित हुदै हर्षको खुसियाली साटासाट गरिरहेका, सैयामा सुतिरहेको बिरामी पनि संगीतको आकर्षणले उसका रोगहरुमा सुधार भइरहेको आख्यानहरु हामीले सुनिरहेका छौ । संगीतले जीवन र जगतलाई सौन्दर्यता प्रदान गर्ने र दुख, कष्ट र बेदना बाट मुक्त गराउने मनोरन्जन र आत्म सन्तुष्टिको महत्वपूर्ण माध्यम हो ।संगीतका धुनहरु आत्मप्रिय जीवन शृंगारिक मनोरञ्जनको आभूषण हो । त्यसर्थ मानव जीवनमा संगीतको महत्वपूर्ण भूमिका रहेको छ ।                                                   
नेपालका लोक बाजाहरु मध्य सबैको आ-आफ्नो स्थानमा उत्तिकै महत्व रहेको छ ।नेपालको जाति ,भाषा, धर्म र संस्कृतिको आधारमा भौगोलिक बिशेषता संग जोडिएको हिमाल, पहाड र तराईमा केन्द्रित साँस्कृतिक पहिचान संग एकाकार भएको जुनसुकै सांगेतिक पक्षहरु हाम्रो देशका अमुल्य निधि हुन् । विभिन्न कामले थकित भएको शरीरलाई बिबिध समय सन्दर्भमा आपसी खुसियाली आदान प्रदान गर्न र भरपूर मनोरञ्जन प्राप्त गर्नका लागि गीत, संगीत, बाजा, गाजा, भजन किर्तन, गाउने सुनाउने र सहभागिता जनाउने गरिन्छ ।यसले जीवनलाई स्वर्णिम, आनन्दित र प्रफुल्लित बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पन्चे बाजा भने एउटा छुट्टै र पृथक मनोरञ्जनीय पक्ष समेटिएको संगीतको रुप हो ।यसले सुख, दुख, आसु, हासो जुन सुकै भाव बिशेषलाई प्रतिनिधित्व गर्न सक्दछ ।  विवाहको शुभ मुहर्तमा बजाइने धुन होस् या जन्तीलाई स्वागत गर्दा बजाइने धुन होस् यसमा फरक फरक किसिमको मनोरञ्जन पाईन्छ ।विवाहमा बजाइने विभिन्न ताल र सुरमा जो सुकैका मन पनि प्रफुल्ल हुने र कहिल्यै ननाच्ने पाइलाहरु पनि छमछमाउन थाल्छन्। केटा, केटी, युवा, युवती, बूढा, बूढीहरु पनि पन्चे बाजाको धुनमा मोहित हुने र यस प्रति आकर्षित भई आनन्द लिने गर्दछन् ।  त्यसर्थ नेपाली समाजमा पन्चे बाजाको छुट्टै महत्व र विशेषता रहेको छ ।पन्चे बाजामा पाँच वटा बाजाहरुका साथै केही सहायक बाजाहरु समाबेश गरिएका हुन्छन् ।बाजाहरु बिचको समन्वय र एकताबध्द तारतम्यताले मधुर र कर्णप्रिय धुनको सिर्जना हुन्छ । सहनाई पन्चे बाजाको प्रमुख बाजा हो । यो केही घुमाउरो बाँसजस्तो नली आकारको लामो भागमा प्वालहरु रहेका हुन्छन् ।यसको फुक्ने भाग र हावा प्रसार हुने भाग रहेका हुन्छन् । सहनाईको पछिल्लो भाग फुकेको अर्थात सोली आकारको रहेको हुन्छ । यो एक प्रकारको सुर बाजा हो यसबाट संगीतका सात वटा सुरहरू तरंगित हुन्छन् । मुखको माध्यमबाट हावा प्रवाहित गरि हातका औँलाहरु द्वारा सुरको समायोजनले मिठासपूर्ण धुन बजाइन्छ । साथै विभिन्न लोक गीतका आकर्षक धुनहरु निकालिन्छ । दमाहा पन्चे बाजामा संलग्न ताल बाजा हो । गोलाकार भागमा बजाइने भाग छालाले ढाकिएको र पछिल्लो भाग केहि मात्रामा फुकेको देखिन्छ । दमाहा तामाको धातुमा छाला र छालाकै तनाबाट मोरिएको हुन्छ । यसलाई छोटो काठको लठीले प्रहार गरि आवाज निकालिन्छ जसले ताल गन्तिको काम गरिरहेको हुन्छ । आवाज पनि टाढा टाढा सम्म सुन्न सकिन्छ । सुर र ध्वनिले वातावरण अत्यन्त मनोरञ्जनपूर्ण हुन्छ ।                                                                                
पन्चे बाजा अन्तर्गत अर्को बाजा ढोलक हो । यो काठको खोक्रो लाम्चो भागको दुबै तिर छालाले नै ढाकिएको हुन्छ ।यो पनि ताल बाजा हो। दमाहाको सानो आकृति ट्याम्पो हो ।यसलाई गलामा भिरी दुईवटा काठका लठीले बजाइन्छ । यो पनि ताल बाजानै हो । यसले पन्चे बाजाको संगीतमा उत्साहित ताल प्रदान गरिरहेको हुन्छ ।बाजाहरुको सौन्दर्यतालाई अझ बढी शुन्दरता दिन र बाजाबाट प्रसार हुने धुनलाई रसमय र मिठासयुक्त बनाउन प्रयोग गरिने अर्को आकर्षित बाजा नरसिंहा हो । अलि घुमाउरो खालको छुट्टा छुट्टै खोक्रो, तामा द्वारा निर्मित भागलाई एक अर्का संग जोडी मुखले हावा दिई बजाइन्छ । यो बाजालाई सहनाई र अरु बाजा जस्तो एकनासले बजाइदैन ।पन्चे बाजाको महत्वपुर्ण केन्द्र भागमा ज्यादै रमाइलो ढंगबाट यसलाई बजाइने गरिन्छ । जब नरसिंहा फुकिन्छ टाढा टाढा सम्म यसको धुन प्रसारित हुँदा वातावरण हुनसम्मै आकर्षक र मनोरञ्जनले भरिपूर्ण हुन्छ । यो बाजा बजाउन बिशेष किसिमको कला र कौशलको आवश्यकता पर्दछ।  झ्याम्टा पनि पन्चे बाजामा प्रयोग गरिने सहायक बाजा हो । यो पित्तल वा काँसबाट निर्मित हुन्छ । यसले ताल बाजाकै रुपमा भूमिका निर्वाह गरेको हुन्छ । ठुलो थाली अकारको दुईवटा भागको बिचमा हातले समाउन मिल्ने गरि डोरी बाधिएको हुन्छ र दुवै भागलाई समाई बजाइन्छ । यसको तालले बाजाको शुन्दरतालाई अझ निखार प्रदान गरेको हुन्छ ।
                                 
 पन्चे बाजाले नेपालको संस्कृतिलाई विश्वसामु चिनाउने काम गरेको छ। यस्तै स्वरुपका बादन सामग्रीको प्रयोग गरिएको सांगेतिक धुन निकाल्ने बाजा अन्य देशमा पाईदैन ।यो हामी नेपालीको मौलिक एबम सिर्जनात्मक बाजा हो । यसलाई धार्मिक मुल्य र मान्यता अनुसार शुध्द पवित्र र शुभ साइतको प्रतिकता को रुपमा पनि लिईन्छ भने जुनसुकै धार्मिक एबम सांस्कृतिक कार्य सफल पार्न यसलाई बिशेष रुपमा सहभागी गराईन्छ । पन्चे बाजाले भरपुर मनोरञ्जन प्रदान गर्नुको साथै नेपाली संस्कृतिलाई उच्च श्रेणीमा राख्न महत्वपूर्ण भूमिका खेलेको छ । बिवाह, ब्रतबन्धका अलवा विभिन्न महोत्सव अतिथि सत्कार, सभा समारोहहरुमा पनि यसको प्रयोग बढ्दै गईरहेको छ । विभिन्न लोक भाका र लोक दोहोरीहरुमा पनि पन्चे बाजाको धुन संगीत संयोजन गरि गीत र संगीतलाई सुन्दरता प्रदान गरेको पाईन्छ ।                      
  
नेपालको भौगोलिक, साँस्कृतिक र ऐतिहाँसिक महत्वको अध्ययनको लागि नेपालमा आउने पर्यटकहरुलाई नेपालीको साँस्कृतिक झलकको परिचय दिने र पन्चे बाजालाई चिनाउने उध्देश्यले अतिथि स्वागत एबम सत्कार कार्यक्रममा यसको प्रयोग गरेको पनि पाइन्छ । यसले पन्चे बाजालाई मनोरञ्जनको लागि मात्र प्रयोग भएको हो कि भन्ने भान हुन्छ । त्यसर्थ पन्चे बाजालाई मात्र मनोरन्जनको साधनको रुपमा मात्र केन्द्रित गरिनु हुँदैन । यसको शुन्दरता र सौन्दर्यताको पक्षलाई अनन्तकाल सम्म जिबन्त राख्न र भित्रिदै गएको पाश्चात्य र आयातित संस्कृतिलाई निरुत्साहित गर्न पन्चे बाजाको संरक्षण र सम्बर्ध्दन गरिनु पर्दछ । राज्यको तर्फबाट अपेक्षित रुपमा योजनाबध्द कामको थालनी भएको छैन ।                                                
बिभिन्न जिल्लाहरुमा उधोग, ब्यापार ब्यबसाय प्रबर्ध्दन गर्ने उध्देश्यले आयोजना गरिने साँस्कृतिक महोत्सवमा पन्चे बाजाको उपस्थित गराई प्रतियोगिता समेत संचालन गरेको उदाहरणहरु आंशिक रुपमा देखिन थालेको छ । यसले पन्चे बाजाको स्तर उन्नति प्रबर्ध्दन र बिकास को लागि केहि मध्दत पुग्ने देखिन्छ ।  यो कार्य स्वागत योग्य हो र यसलाई निरन्तरता दिनु आबश्यक छ । विभिन्न राजनैतिक दलको सभा समारोहहरुमा पन्चे बाजालाई प्रयोग गरेको पाईन्छ तर राजनैतिक दलहरुले यसको बिकास र प्रबर्ध्दन गर्ने तर्फ ध्यान दिएको पाईदैन ।त्यसर्थ यसतर्फ ध्यान जानु नितान्त आबश्यक छ ।  पन्चे बाजाको निर्माता सिर्जनाकर्ता र कलाका साधक दलित समुदाय भित्रका परियार (दमाई) हुन् । दमाईहरु सिलाई पेशाका अलवा मनोरञ्जन गराउने उध्देश्यले यो कार्यमा सहभागी भएको देखिन्छ । यसलाई व्यवसायीकरण गर्ने र स्तरउन्नति गर्ने तर्फ विभिन्न कारण समस्या उत्पन्न भएकोले समग्रतामा पन्चे बाजाको बिकास हुन सकेको छैन । पछिल्लो समयमा केहि जागरुक युवाहरुले स्थानीय तहमा समिति गठन गरि यसको संरक्षण र सम्बर्ध्दनमा भूमिका खेलेको भएतापनि सोचे अनुरुप बिकास हुन सकेको छैन । पन्चे बाजाको सर्बोपरी विकास र यसको मौलिक पक्षलाई जीवन्त राख्नु  आबश्यक छ । अत: नया पुस्तामा यसको हस्तान्तरणको लागि प्रशिक्षण केन्द्रहरु खोल्ने र यसको लागि राज्यको गम्भीर रुपले ध्यानाकर्षण गराउनु पर्दछ । पन्चे बाजाको ऐतिहाँसिक तथा साँस्कृतिक पक्षको खोज तथा अनुसन्धान गर्न राष्ट्रिय स्तरको प्रतिष्ठान गरिनु पर्दछ। यसको बिकासको लागि सूचना तथा संचारको क्षेत्रहरु श्रब्य ,दृश्य तथा प्रकाशन सामाग्रीहरुमा ब्यापक प्रचार प्रसार गरिनु पर्दछ ।पन्चे बाजा प्रति आकर्षित भई अन्य समुदायका व्यक्तिहरु पनि ब्यबसायिक रुपमा लागेको देखिन्छ । व्यावसायिकरण गर्न नसक्नुमा  हामी बिच भने केही आन्तरिक समस्या रहेको जस्तो भान हुन्छ । त्यसैले यसतर्फ गम्भीर हुनु आवश्यक छ । सर्बप्रथम हामीले कार्ययोजना र निर्दिष्ट बिधि बिधान अनुरुप ब्यबस्थित र बैधानिक समिति बनाउनु पर्दछ ।                          
कुनै पनि कार्यलाई सफल पार्न सांगठानिक अनुशासनको अतिनै आबश्यकता पर्दछ । अनुशासनमा रहने र अनुशासनमा रहन प्रेरित गर्ने काममा क्रियाशिल हुनु पर्दछ ।पन्चे बाजा राष्ट्रको धरोहर हो यसको बृहत्तर हितको लागि राज्यलाई दवाब सिर्जना गर्ने र यसको ब्यबसायीकरण गरि आर्थिक सम्मृध्दीतर्फ उन्मुख हुने काममा हाम्रो ध्यान जानु पर्दछ ।यसतर्फ ध्यान दिएको खण्डमा हाम्रो सामाजिक हैसियतमा सुधार आउने र सम्मान ईज्जत प्रतिष्ठा पनि प्राप्त हुन्छ । राष्ट्रिय रुपले पन्चे बाजाको साँस्कृतिक पक्षको जगेर्णा गर्न र अन्तर्राष्ट्रिय रुपमा पनि व्यापक प्रचारप्रसार गर्न राज्यले कुनै कसर बाकी राख्नु हुदैन ।  यसलाई प्रमुख दायित्वको रुपमा लिनुपर्दछ । किनकि पन्चे बाजा नेपाली मौलिक संस्कृतिको धरोहर हो ।                                                         
लेखक बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको   केन्द्रीय सदस्य हुनुहुन्छ ।       

No comments:

Post a Comment