पानीट्याङ्की (मोरङ), १०, मङ्सिर -विभेद बिरुद्ध अभियान । झापा मेचीनगरपालिका– २ ताराबारी बस्तीका गोपाल घतानीलाई आजभोलि पहिलाको जस्तो आर्थिक पिरलो छैन । उनका दुई छोरा सन्तोष र कुमार केही वर्षदेखि भारतको बेङ्गलोर पुगेर रोजगारी गर्न थालेपछि बाबु गोपालको आर्थिक समस्या घटेको हो ।
छोराहरुको कमाइकै सहयोगले उनले पक्की घर बनाउन सकेका छन् । पहिले अरुकोमा सधँै सापट माग्न गइरहने गोपालसँग आजभोलि उल्टै मानिस सरसापट माग्न आउन थालेका छन् ।
गोपालको मात्र होइन आजभोलि ताराबारीकै पदम विश्वकर्माको आर्थिक अवस्था पनि सुध्रिएको छ । उनका पनि दुई छोरी ज्वाइँसँगै वैदेशिक रोजगारीमा बेङगलोरमा छन् । पदमका ज्वाइँ होटलमा कुक र वेटरको काम गर्छन् भने छोरीहरु ब्यूटिपार्लरमा काम गर्छन् ।
यस्तै झापा बाहुनडाँगीस्थित आमडाँगी गाउँका सनमान शङ्करको आर्थिक अवस्था पनि बेङ्गलोरकै कमाइले गर्दा फेरिएको छ । यहाँका विपन्न दलितको घरपरिवारमा आर्थिक परिवर्तन आउने मुख्य कारण नै बेङ्लोरको रोजगारी नै हो । वैदेशीक रोजगारमा जान पूँजी नभएका मेचीनगरको धुलाबारी, ताराबारी, दमकको ढुकुरपानी र बाहुनडाँगीको आमडाँगी र मोरङको इटहरालगायत गाउँका विपन्न दलित बेङ्गलोरमा रोजगारी गर्न थालेका छन् ।
उनीहरुले त्यहाँ होटल, ब्यूटिपार्लरमा काम गरेर आम्दानी गर्ने गरेका छन् । थोरै पैसामा पुगिने र कमाई राम्रै हुने अनि चाडपर्वमा घर आवतजावत गर्न पनि सहज भएकोले यहाँका दलित युवा बेङ्गलोरको रोजगारीमा आकर्षित भइरहेका छन् ।
करिब पन्ध्र वर्ष पहिलेदेखि आमडाँगीका युवाले बेङ्गलोर पुगेर मनग्य आम्दानी गर्न थालेपछि उनीहरुकै सहयोगमा अन्य नातेदार युवा पनि रोजगारीका लागि त्यहाँ जान थालेका हुन् । यो क्षेत्रमा बसोबास गर्ने विश्वकर्मा, परियार, मिजारलगायत थर भएका दलित समुदायका युवायुवतीले बेङ्गलोरलाई रोजगारीको केन्द्र बनाएका छन् ।
मेचीनगर र आमडाँगीबाट मात्रै दुई दर्जन घरपरिवारका सदस्य रोजगारीका लागि बेङ्गलोर गएका छन् । हरेक वर्षका चाडवाड र आवश्यक परेको बेलामा आफनो कमाई बोकेर घर फर्कने गरेका उनीहरुले मासिक रु १० हजारदेखि रु २० हजारसम्म कमाउने गरेको बेङ्गलोरबाट फर्केका मेचीनगर– २ ताराबारीका सन्तोष घतानीले बताउनुभयो ।
आर्थिक अभावले पढाईबीचैमा छाडेका, पैसाको अभावले तेस्रो मुलुक रोजगारीमा जान नपाएका र नेपालमा भनेजस्तो रोजगारी पाउन नसकेका विपन्न र बेरोजगार दलितका लागि बेङ्गलोरको रोजगार निकै फलिफाप भइरहेको छ ।
बेङ्गलोरकै कमाइले घर घडेरीसमेत जोड्न भ्याएका छन् भने कतिपयले सीप सदुपयोग गर्दै उद्यम पनि सुरु गरेका छन् । यो क्षेत्रबाट बेङ्गलोर पुगेका दलितको परिवार धेरैले अर्काको जमिन अँधियाखेती गरेर जेनतेन गुजारा गर्ने गर्दथे । वर्षभरि काम गर्दा पनि उनीहरुलाई अनिकाल लाग्ने गर्दथ्यो ।
नेपालमा भनेजस्तो काम र ज्याला पाउने स्थिति नभएकाले चाहेर पनि उनीहरु धेरै पैसा खर्च गर्न नसक्दा बेरोजगारी जीवन बिताउन बाध्य हुन्थे । आजभोलि गाउँका धेरैले बेङ्गोलोर गएर पैसा मात्रै कमाएका छैनन् । आफनो जीवनशैलीलाई पनि बदलेका छन् ।
उनीहरुको रहनसहन र सोच्नेशैलीमा पनि परिवर्तन आएको छ । यसैले पनि आमडाँगीका मात्र नभएर, काँकडभिट्टा, सतिघट्टा, धुलावरीतिर रहेका उनीहरुका आफन्त पनि बेङ्गलोरको रोजगारीतर्फ आर्कषित भइरहेका छन् । काम पनि सजिलै पाइने, चार्डवाड र अन्य बेलामा पनि सजिलै घर आउन सकिने, यात्राको भाडा पनि धेरै नलाग्ने भएकाले त्यताको रोजगारी आफूहरुका लागि फलिफाप नै भएको बेङ्गलोरबाट यो वर्ष चाड मान्न घर आएका मेची नगरपालीका–३ ताराबारीका युवा कुमार घतानीले बताउनुभयो ।
मोरङ इटहराका रामकुमार विश्वकर्मा ऋण काढेर तेस्रो मुलुक जानु भन्दा बेङ्गलोर गएर सीप सिकेर रोजगार गर्दा नेपाल फर्केर उद्यम गर्नसक्ने बताउनुहुन्छ ।
No comments:
Post a Comment