दलित समुदायमाथि सोचे अनुरुप विभेदको अन्त्य भएको छैन

धनगढी, मंसिर  ३ । चारपाँच वर्ष अघिसम्म बाहिर हिंडडुल गर्न समेत परिवारको अनुमति चाहिने कैलालीको लम्कीचुहा नगरपालीकाका सिता बिःक अचेल आफै बाहिर निस्कन थालेकी छन् ।
विभिन्न संघसंस्थाले दलित महिलाको लागि दिने नेतृत्व सम्बन्धी तालिम पाएपछि उनलाई हिजो आज बाहिर हिंडडुल गर्न समेत परिवारको अनुमति लिनुपर्दैन । सुरुमा बाहिर एक्लै जाँदा होस् वा कुनै सभा समारोहमा सहभागी हुँदा कुरा काट्ने समाज अहिले भने साथ दिन थालेको बिकले बताइन । ‘चारपाँच वर्ष अघिसम्म सभा समारोहमा सहभागी हुँदा समाजको डर लाग्थ्यो’ बिकले भनिन् ।
दलित महिला संघ कैलालीबाट नेतृत्व सम्बन्धि तालिम पाएपछि आफूलाई दलित महिलाको क्षेत्रमा काम गर्न प्रेरणा मिलेको बताउने सिता एमाले पार्टीमा आवद्ध छन् ।
दलहरूले पनि दलित समुदायको लागि आरक्षणको व्यवस्था गरेका कारण राजनीतिक क्षेत्रमा समेत माथिल्लो निकायमा काम गर्न सजिलो भएको बताइन । अचेल आफू राजनीतिकसँगै वन, विद्यालय व्यवस्थान र  स्वास्थ्य समितिमा आबद्ध भएर काम गरिरहेको उनले बताइन ।
यस्तै हरेक समस्याको समाधान राजतीतिक तहबाट हुने भएकाले आफू राजतीतिक क्षेत्रमा लागेको अनुभव गोदावरी गाविस ६ मा बस्ने अमृता बिकले सुनाइन । जातीय बिभेदको अन्त्य गर्नका लागि राजनीतिक चेतना आवश्यक रहेको उनको बुझाई छ ।
विभिन्न संघसंस्थाले दिएको नेतृत्व सम्बन्धी तालिम पाएपछि ग्रामिण क्षेत्रमा अन्य दलित समुदायका महिला पनि राजनीतिक दल देखि सरकारी निकायका विभिन्न समितिमा रहेर क्रियाशिल हुन थालेका छन् ।
पहिले राजनीतिक शब्द सुन्ने बितिकै घृणा लाग्ने लम्कीचुहा नगरपालीकाकी अनिता बिक पनि अहिले राजनीतिक क्षेत्रमा नै क्रियाशिल  छन् । उनी कैलालीबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधी पनि हुन् । त्यस्तै धनगढी उपमहानगरपालीका १९ बस्ने कमला तिरुवा पनि हिजोआज नेपाली काँग्रेसका हरेक कार्यक्रम सहभागी हुन्छन् ।
राजनीतिक क्षेत्रमा लागेपछि दलित महिलाका लागि राज्यबाट प्रदान हुने अधिकारसम्बन्धी जानकारी हुने भएकाले आफू राजनीतिक क्षेत्रमा लागेको बताईन । राजनीतिक क्षेत्रमा लाग्न परिवारबाट समेत सहयोग मिलेको उनको भनाइछ ।
लम्कीचुहा नगरपालीका  बस्ने रमा बादीले राष्ट्रिय दलित आयोग जस्तो सम्मानित संस्थामा सदस्यको काम गर्न पाएको बताइन । दलित महिला संघ कैलालीका जिल्ला सदस्य समेत रहेकी रमा बादीले संघ मार्फत् राजनीतिक चेतना पाएको खुसी व्यक्त सास रहुन्जेल पार्टीबाट अलग हुन नस्कने बताइन । बादी सुमदायबाट एनेकपा माओवादीले आफूलाई जिल्ला कमिटी सदस्यमा नियुक्ती गरेकोमा गौरव लागेको बताइन ।
लम्कीचुहा नगरपालीका बस्ने कोकीला देवलको दिनचर्या हिजोआज सामाजिक कार्यमा बित्न थालेको छ । दलित समुदायको महिला भएका कारण आफू र आफ्नो समुदायले थुप्रै अवसरबाट बञ्चित हुन परेको उनले बताइन । तर,पछिल्लो समयमा दलित समुदायमा आएको चेतनाले अवसरबाट बञ्चित हुने परम्पराको केही हदसम्म अन्त्य भएको उनले बताइन ।
संघसंस्थाले दलित महिला हक अधिकारको बारेमा चेतनामूलक कार्यक्रम गरेपछि आफ्नो स्थान खोज्न थालेको उनले बताइन । अहिले आफू नेकपा ड्यास माओवादीको जिल्ला कमिटी सदस्य रहेका बताइन । उनले नेकपा माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्ने समेत सोच बनाएको बताइन । सरकारबाट दलित महिलाका क्षेत्रमा आउने बजेटको बारेमा हिजोआज सोधखोज गर्न थालेको उनले सुनाइन ।
राजनीतिक क्षेत्रमा लागेका महिलाले अरुको मुख ताक्नुभन्दा पनि अब आफै आफ्नो हक अधिकारका बारेमा आवाज उठाउँनु पर्ने बताए । उनीहरू भन्छन् ‘समाजमा अझै पनि दलित समुदायमाथि सोचे अनुरुप विभेदको अन्त्य भएको छैन ।  त्यसका बिरुद्ध शसक्त आवाज उठाउनु पर्छ ।’

No comments:

Post a Comment