अन्तरजातीय बिवाहा गरेका गुरुङ दम्पती १३ वर्षदेखि जंगलमा

फाल्गुन ४, २०७२,विभेद बिरुद्ध अभियान - माथिल्लो क्षेत्रमा सालका रूख छन् । तल्लो भागमा पहरा र पहरामुनि खोरिया । त्यही खोरियामा १३ वर्षदेखि ५१ वर्षीय सिंगरास गुरुङ दम्पती बस्छन् ।
गिलुङ ६ कुलेस्वारामा खोरिया खनेर स्याउला र चित्राले बारेर दुई सन्तानका साथ बस्दै आएका छन् । गुरुङ पत्नी ३० वर्षीया अस्मिता विश्वकर्मा बिट च्यातिएको सिल्भरको गाग्रीमा १ घण्टाको समय लगाएर पानी ल्याउँछिन् । नजिक मुहान छैन । २१ वर्ष फरक उमेरको अन्तरजातीय जोडी हाँसीखुसी छ ।
समाजबाट भने बहिष्कृत छन् । गाउँकै विद्यालयमा नौ वर्षे छोरा सुलबहादुर ३ र आठ वर्षका सानो छोरा मेखलाल १ मा पढ्छन् । अस्मिताको माइती पुग्न १० मिनेट लाग्छ । सिंगरासको घर पुग्न भने एक घण्टा ।
‘यिनलाई बिहे गरेपछि मलाई गाउँमा आउन दिएनन्,’ पत्नीबाट पानीको गाग्री लिँदै उनले भने, ‘पछि गाउँ पस्न त दिए, बस्न भने दिएनन् ।’ अहिले गाउँ जाँदा सबैले काँमै छाइँ आखो (कामी यता नआऊ) भन्ने गरेको उनले बताए । घरभित्र पस्नु परको कुरा । अस्मिताका अनुसार माइतीमा भने खासै रोकतोक छैन ।
‘गाउँ बस्न नदिएपछि माइतीको नजिकै आएँ । सँगै बस्न भने सकिएन,’ उनले भनिन् ।
१४ वर्षको उमेरमा अस्मितालाई बा–आमाले चरागाउँमा विवाह गराइदिए । एक छोरी पनि जन्मिइन् । तिनै छोरीबाट उनी ३० वर्षको उमेरमै हजुरआमा बनेकी छन् । सिंगरासका अनुसार गाउँबाट जंगलमा घाँसदाउरा गर्दा अस्मितासँग भेट भएको हो ।
उनीसँग घरजम गरेपछि गिलुङकै सिकला गुरुङको खेर गइरहेको जग्गामा बसेको उनले बताए । उनीहरू अहिले पोखरा छन् । उनका बाबु बजिरले आठ वटी बिहे गरेका थिए ।

कान्तिपुर दैनिक बाट




No comments:

Post a Comment