विभेद बिरुद्ध अभियान- फागुन ८ - सिर्जनशील अराजकका अभियन्ता हुन् राजन मुकारुङ । हेच्छाकुप्पा उपन्यासबाट नेपाली पुरातन सौन्दर्य चेतनामाथि धावा बोलेका मुकारुङको दमिनी भिर उपन्यास मदन पुरस्कारबाट पुरस्कृत भयो । उनका आख्यानको चर्चा परिचर्चाले साहित्यिक जगतमा गम्भिर विमर्श जन्माईरहेकै बेला उनले निबन्ध सङ्ग्रह ‘फेरिँदो सौन्दर्य’ पाठकहरुको माझ ल्याए । फेरिँदो सौन्दर्यलाई निबन्ध विधामा एक महत्वपूर्ण कृतिका रुपमा लिइयो । यसै निबन्धमार्फत उनले ‘पहिचान पुरस्कार’ प्राप्त गरे ।प्रस्तुत छः पहिचान पुरस्कारको सन्दर्भसहित पहिल्लो समयमा समाज र साहित्यमा आएका बदलावहरुको सेरोफेरोमा केन्द्रित रहेर राजु स्याङ्तानले राजन मुकारुङसँग गरेको संवाद ।
संबिधान बन्यो । एउटा पक्षले पहिचानको मुद्दा सकियो किनारा लाग्यो भन्दैछन् । अर्को पक्षले संबिधानमा पहिचानको मुद्दा सम्बोधन भएकै छैन भनिरहेको छ । तपाईको दृष्टिकोण चाँही के हो ?
खासमा दुईवटा धारणा पाउँछु म । दोश्रो संबिधानसभामा पहिचान पक्षधरहरुको प्राविधिक रुपमा पराजय भयो । यसमा पछाडि केही कारणहरु छन् । ती भनेको अघिल्लो निर्वाचनपछि जब एमाओवादी ठूलो पार्टी भयो । ऊ सत्तामा गयो । उसको हातबाट पहिचानको मुद्दा फुत्कियो । फुत्किएर जनजाति साम्प्रदायिकवादी बुद्धिजीवीवर्गको हातमा पुग्यो । त्यसपछि त्यो भ्रष्टीकरण शुरु भयो ।
यति भ्रष्टीकरण भयो कि त्यसलाई प्रष्ट पार्ने जमर्को कसैले पनि गर्न सकेन । त्यसैको परिणम दोस्रो निर्वाचनमा पराजय भयो । त्यसपछिका मनोविज्ञान चाहिँ चाँडै प्राप्ति होस्। बिकास होस भन्ने भयो । आम मानिसको चाहना पुरा नभएपछि मानिसहरु तितरबितर भए । त्यसको फाईदा पहिचान विरोधीको हातमा गयो । मानिसहरु निराश भए । त्यही सेरोफेरोमा मैले ‘फेरिँदो सौन्दर्य’ लेखेँ । यो लामो लडाई हो । पहिचानले लडाई तुरुन्तै सकिदैन । नेपाल जस्तो सदियौंदेखि एउटै विचार धारा एउटै चिन्तन र दर्शनमा जकेडिएको समाजलाई निफन्न धेरै समय लाग्छ । त्यसकारण निरास हुनु हुदैन भनेर फेरिँदो सौन्दर्य लेखेको हुँ ।
तपाईले ‘पहिचान पुरस्कार’ प्राप्त गर्नुभयो । कुन सन्दर्भमा ‘पहिचान पुरस्कार स्थापना भयो ?
जसजसले पहिचान पुरस्कारको स्थापना गरे, सुरुमा उनीहरु पनि निराश भइसकेका थिए । त्यहि निराशहरुकै समुहबाट यो बन्यो । पहिचानको लडाईलाई फाईदा पुग्छ, त्यसकारण यसलाई अघि बढाउनुस् भनेर मैले पनि सल्लाह दिएँ । त्यसपछि उहाँहरु अझ उत्साहित हुनुभयो ।
नेपालमा शासकीय कोणबाट पनि पहिचानको मुद्दाको ब्याख्या भएको पाईन्छ । त्यहि ब्याख्याको आधारमा कतिपय ठूला राजनीतिक पार्र्टीले पनि ब्याख्या गर्ने गर्छन् र भनिन्छ पहिचानको कुरा गर्नेहरु उग्रजातिवादीहरु हुन् । यस्तो किन भइरहेको छ ?
यो स्वभाविक हो । नेपालमा दुईटा दृष्टिकोणबाट पहिचानको ब्याख्या भएको पाईन्छ । नेपालमा जातीय रुपमा सामुदायिक रुपमा सांस्कृतिक रुपमा बिभेद भएकै छ । साथै वर्गीय रुपमा पनि भएको छ । सम्पूर्ण विभेदलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । यसलाई फरक ढंगले हेर्नु पर्दछ । तर यसलाई संयोजन गर्न सकिएको छैन। जनयुद्धको समयमा माओवादीले जातीय मुक्ति मोर्चाको निर्माण गरे ।
किनारामा पारिएका समुदायले माओवादीबाट ठूलो आशा ग¥यो । त्यसैको परिणाम अघिल्लो निर्वाचनमा माओवादी विजयी पनि भयो । त्यहीँँनिर समस्या के भयो भने जातीय समस्याको मुद्दा उठाउनेहरुले नेपालमा वर्गीय समस्या पनि हो भनेर बोध गर्न सकेनन् । अनि नेपालमा माक्र्सवादका कुरा गर्ने वर्गीय मुद्दालाई उठाउनेहरुले पनि नेपालमा जातीय उत्पीडन पनि छ है भनेर बुझ्न सकेनन् । यो दुईवटै विषयलाई फरक फरक ठाउँमा राखेर हेर्नुपर्दछ । अनि मात्रै नेपाली समाज परिवर्तन गर्न हामी सक्षम हुन्छौ ।
सिर्जनशील अराजकले वर्गीय मुद्दालाई भन्दा जातीय मुद्दालाई बढि जोड दियो भन्न्ने सुनिन्छ नी?
हामीलाई वर्गीय रुपमा भन्दा जातीय रुपमा बढि उत्पीडनमा प¥यौं भन्ने बढि महशुस भयो । त्यहि अनुरुप हामीले संघर्ष थाल्यौ तर हामीले सँगसँगै के पनि भनेको छौ भने नेपाली समाज जातीय, वर्गीय, क्षेत्रीय रुपमा उत्पीडनमा परेको छ । नेपालको संरचना अनुसार राजनीतिमा गएन भन्ने हाम्रो बुझाई हो । नेपालमा भएका विभिन्न सभ्यताहरुलाई सम्बोधन गरिनु पर्छ भन्ने दृष्टिकोणबाट राजनीति कहिल्यै गएन । जहिले एउटा जाति एउटा भाषा एउटा मात्रै सभ्यताको गुनगान भईहाल्यो अरु चाहिँ छायाँमा परिरहने भयो ।
अहिले पनि हाम्रा पाठ्यक्रमहरु स्कुलदेखि विश्वविद्यालय तहसम्म त्यहि एउटा जाति एउटा संस्कृति र एउटा सभ्यता मात्र पठाइन्छ । तर हाम्रो समाजिक संरचना त्यस्तो होइन । विविधता छ । छ भनेर स्वीकार्ने तर त्यसलाई प्रयोगमा चाहिँ लागू नगर्ने समस्या छ । माओवादीलाई सफलता जातीय मोर्चा निर्माण गरेपछि नैै भएको हो । स्वयम् मैलेप नि जातीय मोर्चामा बसेर लामो समय काम गरँे । अहिले जातीय मोर्चा कमजोर बनाइयो । त्यसको परिणाम दोस्रो संबिधानको निर्वाचनमा हार्नुप¥यो । यो त सत्य हो नी । पहिले जस्तो लहर आउन सकेन । सबै समुदायका मानिसहरुले तर्सिए । यो पनि आखिर उस्तै रहेछ । बरु पुरानैलाई दिऊँ कम्तिमा जागिर त खान पाईन्छ । भन्नेतिर मानिससम्म गए । त्यसपछि विचारधारा हराउँदै गयो । पहिचान पक्षधरहरुको मुद्दा कमजोर जस्तो देखियो ।
पहिचान पक्षधरसँग पनि राजनीतिक इमान्दारिता छैन । राजनैतिक परिपक्वता छैन । त्यहि अपरिपक्वताको कारण नै जनताले बिश्वास गरिहालेका छैनन् । विचार राम्रो भएपनि नेताको अपरिपक्वताका कारण समस्या भएको हो । त्यसकारण हामीलाई सबैभन्दा बढि जातीय रुपमा उत्पीडन भएको हो भन्ने बोध भयो र हामीले यो विषयलाई उठायौं । जसलाई वर्गीय रुपमा उत्पीडन भएको छ भन्ने बोध हुन्छ; उसले त्यो मुद्दा उठाउनुपर्छ । क्षेत्रीय रुपमा पनि त्यहि हो ।
सिमान्तकृत समुदायको आवाज उठाउने पहिचानवादी साहित्यकारहरु चाहिँ मुलधारमा आउने, मुलधारमा आएपछि उसैले अर्को सिमान्तकृत साहित्य जन्माउने खतरा छ भनिन्छ नि ? किराती सौन्दर्यले अर्को सिमान्त सौन्दर्य जन्माउने खतरा देख्नु हुन्छ की हुन्न ?
अहिलेको समय मिडियाको समय हो । आफ्नो कुरा बाहिर ल्याउन हामी कति मिडियामैत्री छौँ भन्ने कुरा हो । मिडियालाई गाली मात्रै गरेर हुँदैन । सिमान्तकृतहरु आफै मरिच भएर बस्ने समस्या छ । आफ्नो कुरा भन्न स्पेस खोज्नुपर्यो । कसैले सुनिदिएन भन्दा पनि आफू सक्रिय हुनुपर्यो । आफ्ना कुरालाई बहस र विमर्शमा त ल्याउनु पर्यो नी त । सम्वादहिन अवस्थालाई अन्त्य गर्नुपर्यो । अर्को कुरा चाहिँ हामी एक्लैले लड्न सक्दैनौ । हामीले मार्चाबन्दी गर्नैुपर्छ दलितको पक्षमा जनजातिले बोल्नै पर्छ ।
जनजातिको पक्षमा दलितहरु, मधेसीको पक्षमा अरुले र अरुका पक्षमा मधेसीले बोल्नै पर्छ । तर अहिले हामी विभिन्न भङ्गालोमा बाँडिएका छौं । यही नै सबै भन्दा ठूलो समस्या हो । जनजातिको सभ्यताको कोणबाट हेर्दा कुनै पनि समुदायलाई विभेद गर्न मिल्दैन । तर राज्यसत्ताको लामो शिक्षाको कारण जनजातिहरुलेपनि दलितलाई दलित नै बनाएर राख्यो । जनजातिले दलितसँग क्षतिपूर्ति त दिन नसक्ला तर क्षमा त माग्न सकिन्छ नी । त्यो अभ्यासमा पनि हामी गइसकेका छैनौं ।
त्यसकारण हामीले संवादलाई अघि बढाउदै गर्यो भने कोही पनि सिमान्तकृत हुदैनौं । संवादबिना हामी अघि बढ्न सक्दैनौ । वैचारिक विमति छन् भने माझ्नुपर्यो । मैले हिडेको बाटो मात्रै ठीक भन्ने कसैले भन्नु भएन ।
अन्तमा, हेच्छाकुप्पा, दमिनी भिर हँुदै फेरिँदो सौन्दर्यसम्म आईपुग्दा राजन मुकारुङको परिचय झनै स्थापित हँुदै गएको छ । एक जना स्थापित साहित्यकार हुनुको नाताले अहिलेको समयमा हाम्रो लेखकीय दायित्व के हो ?
हामीले सबैभन्दा पहिला त समाजलाई नै चिन्ने हो । समाजमा गएर समाजका जडताहरु चिनेर त्यसलाई चिर्ने हो । हामीलाई नै अल्झाउने हाम्रा उल्झनहरुलाई सबै भन्दा पहिला हामीले खुट्टाउनु प¥यो । तिनलाई निफन्नुप¥यो । समाजका मसिना मसिनाहरु कुराहरु छन् । जसले हामीलाई ठूलो घाटा गरिरहेको छ । त्यस्ता कुराहरुलाई थाहा पाउनुपर्छ । अहिलेको सबैभन्दा ठूलो समस्या हामी व्यक्ति केन्द्रित भएका छौं । नेपाल वेरोजगार देश भएकाले त्यसले हामीलाई अर्कै सपनातिर डो¥याइरहेको छ ।
सिर्जनात्मक सपनाहरु देख्न छाडिसकेका छौं । आउँदै गरेका नयाँ पुस्ता झन् पुरै ड्यामेज छ । गाउँमा समस्या अर्कै छ, सहरमा बोर्डिङ पढ्नेहरुको सपना नै अर्कै छ । कोही यूरोप अमेरिकाको सपनामा, कोही गाँजा भाङमा । कोही पनि सिर्जनात्मक छैनन् ।
यो कुराहरुको बारेमा हामीले लेख्नुपर्छ । २१ औँ शताब्दी भनेर फूँई हाँकी रहेका छौं तर हाम्रो जीवन खतरामा छ । परिवार ‘टोटल्ली ड्यामेज’ भइरहेको छ । सामाजिक जीवन, सम्बन्धको जीवन टुक्रिरहेको छ । तहन नहस भइरहेको छ । विग्रहतिर गइरहेको छ देश । यी कुराहरु छन् जसलाई हामीले ल्याउनै पर्छ ।
खबर डबली बाट
No comments:
Post a Comment