सामुहिक कर्मकाण्ड संगै धरानबाट सुरु भयो धार्मिक अन्तरघुलनको थालनी

दिनेश गजमेर,धरान, फागुन,१२- विभेद  विरुद्ध अभियान । करिब ७० वर्षअघि धरानका शिक्षाप्रेमी पण्डित छविलाल पोख्रेलले दलित समुदायका घरघरमा पुगी कर्मकाण्ड गरिदिन्थे । तत्कालीन अवस्थामा अन्य पण्डितहरुले उनलाई बहिष्कार पनि गरेका थिए । तथापि परम्परागत रुपमा संस्कार गर्दै आएका दलित समुदायको घरमा आफै गई पूजाआजा तथा संस्कारहरु गरिदिन्थे ।
त्यस पछिका दिनमा लामो समयसम्म दलित समुदायका घरमा पुगि पण्डितहरुले कर्मकाण्ड गरेनन् । सामुहिक कर्मकाण्डमा पनि सहभागि गराइएनन् । तर अहिले आएर उनको सपना पूरा हुँदै गएको छ । ब्राह्मण सेवा समाज धरानले आयोजना गरेको सामुहिक व्रतबन्धमा दलित समुदायका युवाहरुलाई पनि समावेश गरेपछि पण्डित पोख्रेलको सपना साकार हुने भएको छ ।
पछिल्लो दुई वर्ष अघिदेखि व्राह्मण सेवा समाज धरान उपमहानगर समितीले सञ्चालन गरेको अन्तरघुलन अभियानले केही परिवर्तन ल्याएको छ । समाजले आयोजना गरेको यस वर्षको सामुहिक व्रतबन्धमा धरानका दलित समुदायको पनि सहभागिता रहने भएको छ । नेपालमै पहिलो पटक दलित समुदायका युवाहरुले गैह्रदलित समुदाय सरह सामुहिक रुपमा ब्रतबन्धमा भाग लिने भएका हुन् ।
धरानका ४ जना दलित समुदायका युवाहरुलाई पनि सामुहिकरुपमा व्रतबन्ध गर्ने भएका छन् । फागुन १३ गते पीण्डेश्वर मन्दिरमा हुने निशुल्क व्रतबन्धमा धरानका प्रियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग परियार र सौगात विश्वकर्मा सहभागी हुने भएका छन् ।
समाजले आयोजना गरेको ब्रतबन्धमा धरानलगायत अन्य जिल्लाका ४५ जना वटुकहरुले सामुहिक ब्रतबन्ध गर्नेछन् ।
जसमा ४ जना दलित समुदायका वटुक रहेका छन् । समाजले परम्परागत रुपमा संस्कार गर्दै आएका कुनै पनि जातजातिहरुलाई सामुहिक व्रतबन्धमा सहभागी गराइने निर्णय गरेको छ । यसै अनुरुप दलित समुदायले पनि सहभागिताका लागि निवेदन दिएका थिए । परम्परा देखिनै संस्कार गर्दै आएका सबै जातजातिहरुलाई सामुहिक ब्रतबन्धमा सहभागि गराइएको समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारीले बताए ।
समाजको यस कार्य प्रति दलित समुदायले स्वागत गरेका छन् । उनीहरुले सञ्चालन गरेको अन्तरघुलन कार्यक्रमले व्राह्मण समुदायमाथि लाग्दै आएको आरोप पनि हट्ने बताए । सामुहिक ब्रतबन्धमा अन्य बटुक सरह एकै स्थानमा व्रतबन्ध गरिने र बटुकसँग आएका उनका आफन्तहरुले पनि सामुहिक भोजमा सहभागी हुने भएका छन् ।
दलित उत्थान समन्वय समिति धरानको पहलमा दलित समुदायका बटुकहरुले सामुहिक ब्रतबन्धमा सहभागी जनाएका हुन् । यसका लागि सम्पूर्ण खर्च समितिले नै गर्ने भएको छ । समाजले गरेको ब्रतबन्ध सकारात्मक रुपमा रहेको समितिका अध्यक्ष दिलबहादुर रामदामले बताए । दलित समुदाय माथि हुने गरेका धार्मिक अपहेलना विरुद्धको सकारात्मक पहल रहेको उनको भनाइ छ ।
‘दलित माथि हुने गरेका विभेद विरुद्धको आंशिक उपलब्धी हो ।’ उनले भने, ‘धरानबाट शुरु भएको छ, यो राष्ट्रव्यापी हुनुपर्छ ।’ नयाँ संविधानले दिएको दलित अधिकारको कार्यान्वयनको पहिलो चरण धरानबाट व्राह्मण समाजले शुरु गरेको उनले बताए । शहरबाट शुरु भएको धार्मिक अन्तरघुलन गाउँसम्म पुग्नु पर्ने उनको भनाइ छ ।
-नयाँ पेज बाट

No comments:

Post a Comment