अन्तरजातिय बिबाह गर्ने दम्पतीलाई स्थानीय बासिन्दाले गाउँनिकाला गरे

फाल्गुन ३, विभेद विरुद्ध अभियान - दलितले ठकुरीकी छोरी बिहे गरेपछि स्थानीय बासिन्दाले दम्पतीलाई गाउँनिकाला गरेका छन् । गर्खाकोट ३ का गणेश चँदारा र ज्योति शाह चार महिनाअघि गाउँनिकाला भएका हुन् । गाउँमा बस्न नपाउने मात्र होइन, उक्त जोडीले आगामी वैशाखमा हुने कक्षा १२ को वार्षिक परीक्षासमेत दिन नपाउने भएका छन् । घरबास रहेको गाउँ प्रवेश नगर्न माइती पक्षले चेतावनी दिएपछि उनीहरू चिन्तित छन् ।
अन्तरजातीय बिहेका कारण घरमा बस्न नपाएका उनीहरू गत कात्तिकदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । गत कात्तिक ९ मा उनीहरूले भागेर विवाह गरेका थिए । शाहका माइती पक्षबाट आक्रमण प्रयास भएपछि ज्यान जोगाउन भागेर खलंगा आएको उनले बताए । ज्यानकै जोखिम भएपछि सुरक्षाका लागि सदरमुकाम आएको उनको भनाइ छ ।

बिहेका कारण गणेश र ज्योति मात्र होइन, उनका बाबु कमारो, बहिनी यमुना, दाइ राजेश, भाउजू कल्पना र भतिज निश्चलसमेत सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेका उनीहरूले २०६७ मा भागेर कैलालीको धनगढीमा दुई महिना लुकेर बसेका थिए । 
घर फर्केलगत्तै ठकुरीकी छोरीले दलितका छोरासँग बिहे गरेको भन्दै बुबा उत्तमकुमार शाहले ज्योतिलाई फिर्ता गरे । ज्यान मार्ने धम्की दिँदै उनलाई कुटपिटसमेत गरिएको थियो । त्यसपछि उत्तमले छोरीको जबरजस्ती अर्को युवासँग विवाह गरिदिए । तर, ज्योतिले उक्त विवाहलाई अस्वीकार गरिन् । ‘चार वर्षसम्म माइतीमै बस्दै आएकी थिइन् । हाम्रो प्रेम टुटेको थिएन,’ गणेशले भने, कात्तिक ९ गते पुन: दोस्रोपटक भागेर बिहे गरेका हौं ।
गणेशसँग बिहे गर्दा पहिलोपटक शारीरिक यातना पाएकी ज्योति माइतीको सम्पर्कबाट टाढा छिन् । ‘मलाई जातभातको कुनै मतलब छैन । सानैदेखिको प्रेम हो । त्यसैले म कुनै पनि हालतमा गणेशसँग छुट्टिएर बस्न सक्दिनँ,’ ज्योतिले भनिन् ।
विवाहपछि माइती पक्षले गाउँबाट लखेटेका कारण आफ्नो कक्षा १२ को पढाइ बीचमै छुटेको उनले बताइन् । परीक्षा दिनसमेत नपाउने अवस्था आउन लागेकामा उनी चिन्तित छिन् । 
त्यस्तै गणेशका दाइ राजेशले विद्यालयमा हाजिर हुनसमेत नपाएको गुनासो गरे । शाहका माइती पक्षको ज्यान मार्ने धम्कीका कारण उनले विद्यालय जान नपाएका हुन् । राजेश गाउँकै मस्टा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । 

ज्योति र गणेशले अन्तरजातीय विवाह गरेपछि गाउँका सबै ठकुरी र उनीहरूका नातेदारले चँदारा परिवारलाई गाउँनिकाला गर्ने र गाउँ प्रवेश गरे भौतिक आक्रमण गर्ने धम्की दिएको स्थानीय हिक्मत विकले बताए । स्थानीय प्रशासन, राजनीतिक दल, मानव अधिकारवादी र सञ्चारकर्मीसँग जीवनरक्षाको आग्रह गरे पनि समस्या समाधान नभएको पीडित हिक्मतले बताए ।

कान्तिपुर दैनिक बाट




1 comment:

  1. hamro Nepal ma kahile panisamanta awaj hune bhayena jatiya bivedko pida bhogi rahnu pareko chha

    ReplyDelete