‘दलित कोटामा सधैँ एलिट’ - गोपाल बराइली

१६ फाल्गुण २०७२,विभेद बिरुद अभियान - आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेस १२औं महाधिवेशनले आरक्षणको व्यवस्था गरेपछि दलितको प्रतिनिधित्व पनि बढेको छ तर दलितले पाउने आरक्षण कोठामा सधैँ ठूलाठालू र दलितभित्रका एलित वर्गले नै स्थान पाउँदै आएका छन् ।  कांग्रेसका पुराना नेता हुन् मानबहादुर विश्वकर्मा । उनी ११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जुन बेला कांग्रेसले आरक्षण व्यवस्था गरेको थिएन । कांग्रेसले आरक्षणको व्यवस्था गरेलगत्तै उनी अघिल्लो १२औं महाधिवेशनमा दलित कोटाबाट केन्द्रीय सदस्यमा भाग लिए । उनी त्यसबेला संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । अहिले उनी देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।  कांग्रेसभित्र अर्का प्रभावशाली नेता हुन् मीनबहादुर विश्वकर्मा । उनी १२औं महाधिवेशनबाट देउवा पक्षबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पनि हुन् । आन्तरिक संविधान–०६३ का मस्यौदाकारसमेत रहेका विश्वकर्मा पनि केन्द्रीय सदस्यमै उठ्ने तयारीमा छन् । तर, उनी भने पार्टीको निर्णयअनुसार उम्मेदवारी दिने बताउँछन् ।  १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सुजाता परियार, कविता सरदार, प्रतापराम लुहार र जीवन परियार र पूर्वमन्त्री खड्गबहादुर बस्याल पनि दलित कोटाबाटै केन्द्रीय सदस्यकै लडाइँ गरिरहेका छन् । त्यसो त पूर्वसभासद् लक्ष्मी परियार, शम्भूहजारा पासवान, विमला नेपालीसहित हरि गान्धारी, दोबाटे विक, भीमसेन दमार्इं, कृष्णसिंह परियार, प्रकाश स्नेहीलगायत पनि दलित कोटाबाट केन्द्रीय सदस्यका आकांक्षी हुन् । 
 १२औँ महाधिवेशनमा आरक्षणको सुविधा लिइसकेका र सांसद, मन्त्री भएर राष्ट्रियस्तर बनाइसकेका नेता अब आरक्षणमा होइन, खुलातर्फ लड्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेसभित्र हस्ती मानिने दलित नेता आरक्षण कोटामै झुम्मिएका छन् । नेपाली कांग्रेसमा केन्द्रीय तहमा पुगेका अधिकांश नेता फेरि दलितकै कोटाबाट उठ्न चाहिरहेका छन् । कारण उनीहरूलाई खुला कोटाबाट पराजित हुन्छु भन्ने डर छ । त्यसो त पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन पनि प्रभावशाली व्यक्तिलाई दलित कोटाबाट उठाउने गरेको पूर्वसभासद् लक्ष्मी परियार बताउँछिन् । उनले कांग्रेसभित्रका प्रभावशाली दलित नेताले नैतिकताका आधारमा खुला कोटाबाट उठ्न चुनौती पनि दिइन् ।  
आरक्षित कोटामा पटक—पटक एउटै व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गर्न दलित समुदायकै युवा नेताले माग गरिरहेका छन् । उनीहरूले १२औँ महाधिवेशनमा पहिले केन्द्रीय सदस्य भइसकेका दलित नेतालाई दलित कोटाबाट नउठाउन माग पनि गरेका छन् । रुकुमका महाधिवेशन प्रतिनिधि मानबहादुर नेपाली, ललितपुरबाट प्रतिनिधि विकासकुमार रोक्का, झापाका प्रतिनिधि राजकुमार बरालीलगायतले शुक्रबार पत्रकार सम्मेलन गरेरै त्यसको विरोध गरे ।  लमजुङकी नेत्री कोपिला विश्वकर्माले पनि एउटैले पटक—पटक आरक्षण उपभोग गर्दा दलित समुदायका अन्य नेतृत्वले केन्द्रीय तहमा पुग्ने अवसर नपाउने भएकाले त्यसतर्फ सोच्न आग्रह गरिन् । उनले भनिन्, ‘त्यतिका नेताले त एक पटक आरक्षण उपभोग गरेपछि अर्को पटक खुलातर्फ प्रतिस्पर्धा गर्नुप¥यो नि ?’  कांग्रेसले १२औं महाधिवेशनबाट पार्टीमा आरक्षण व्यवस्था गरेको थियो । ८५ जनाको केन्द्रीय समितिमा ६ जना दलित आउने व्यवस्था छ । जसमा ५ जना निर्वाचित हुन्छन् भने १ जनालाई सभापतिले नियुक्ति गर्ने व्यवस्था छ । ५ जनामा २ जना दलित महिला छन् । कांग्रेस स्थापनाका बेला धनमान सिंह परियार महामन्त्री बनेका थिए । उनी कांग्रेसमा सबैभन्दा उच्च पदमा पुग्ने व्यक्ति हुन् । हरिशंकर परियार र दलसिंह कामी पनि केन्द्रीय सदस्य भइसकेका छन् । पार्टी स्थापनाकै बेला देवप्रत परियार र आरबी गहतराज केन्द्रीय समितिमा थिए । त्यसपछिको केन्द्रीय समितिमा ००९, ०५९ र ०६७ मा भएको महाधिवेशनमा गरी हालसम्म ११ जना केन्द्रीय समितिमा पुगेका छन् । 

कमाण्डर पोस्ट बाट

No comments:

Post a Comment