डोममाथि हुने विभेदका थप आयाम - भोला पासवान

फागुन १७ , विभेद बिरुद्ध अभियान - मधेसी दलित भित्र सूचिकृत डोम जाति दलितभित्र पनि सबभन्दा पीँधमा छन् । जातीय छुवाछूत सबै भन्दा बढी डोम जातिमाथि हुने गर्दछ । डोम जातलाई गैर दलितले मात्रै होइन डोम बाहेकका सबै दलितले समेत छुवाछूत विभेद गर्दछ । नेपालमा डोमको जनसँख्या १२ हजार २ सय ६८ छ ।

अहिले पनि मधेसका डोम जातलाई सार्वजनिक स्थलमा प्रवेश निषेध छ । सार्वजनिक धारा,इनारबाट आफै पानी झिक्न निषेध छ । होटलमा चिया नास्ता खान जादा आफनै प्लेट र गलास बोकर जानु पर्छ भन्दा पत्यार नलाग्न सक्छ तर वास्तविकता यही हो । र,यस्तै एउटा घटनाका पात्र हुन नैनपुरका दिपक मल्लिक(डोम) परिवार । 

सिरहाको धनगढी गाविस–३ नैनपुरका दिपक डोमले जातकै कारण इनारबाट झिक्न पाउँदैनन् । गैर दलितले इनारबाट पानी भरेर दिन्छ । पानी भरिदिएवापत डोम परिवारसंग नगद र बासका सामग्री लिन्छ ।  दिपकमाथि हुने विभेद एक प्रतिनिधि मूलक घटना हो । तराईका अधिकाश डोमले दिपकले जस्तै दैनिक रूपमा छुवाछूत विभेदको सामना गरिरहका छन् । 

डोमलाई पानी भरीदिएबापत के के लिन्छन् गैर दलित ?

सिंगो गाउँमा एक घर डोम परिवार छ, पुलकित मल्लिकको । करिब १५ धुर जग्गामा पुलकित मल्लिक ६ वटा छोरा,३ वटा छोरी सहित नाती नतिनी गरेर १३ परिवार बस्छ । गाउँमा ४ वटा इनार छन, जसमा एउटा सार्वजनिक हो भने अन्य व्यक्तिगतरुपमा खनिएका हुन् । ती इनारमा पानी भर्न डोम परिवारलाई बन्देज छ । इनारबाट अरूले झिकेर दिए मात्रै पानी खान पाउँछन् पुलकित डोम परिवार ।

नियमित पानी झिकिदिए वापत आफूहरूले बनाएको पंखा, ढाकी,चंगेरी,छिट्टा लगायतका सामग्री गैर दलितहरूलाई दिनुपर्ने पुलकितको श्रीमती प्रमिला डोमले बताईन । ‘२० रूपैया पर्ने पंखा(वास चोयाबाट निर्मित) दिदा एक दिन ,२सय पर्ने चंगेरा र ढकि दिदा ४÷५ दिन र यी समान नदिए नगद ५० रुपैया दिएपछि मात्रै इनारबाट पानी भरेर गैर दलितले दिन्छन् ।’ पिडीत प्रमिलाले भनिन्–‘ अझ पानी भरी दिनेको बाँसको नाङ्गलो,ढकी केही मर्मत गर्नु प¥यो भने वर्षभरी निःशुल्क गरिदिनु पर्छ ।’

अझ रोचक कुरा त के छ भने,एकिकृत नेकपा माओेवादीका गाउँ कमिटीका अध्यक्ष सूर्याप्रकाश महतोका श्रीमतीले मंगलबार डोम परिवारमाथि हुने विभेदबारे बुझन घटनास्थल पुगेका सिरहाका एसपी रामकृपाल साहलाई प्रमिला मल्लिकले पानी भरिदिएवापत ढकी (वासको समान) दिने वचन दिएपनि नदिएको गुनासो गर्न भ्याइन ।

‘पञ्चयत’मा निःशुल्क पानी भरिदिने प्रस्ताव अस्वीकार  

नैनपुर घटनाले मिडियामा राम्रो मार्केट लिएपछि र कार्यावाही गर्न प्रहरीलाई दवाव बढ्न थालेपछि सोमबार राति गाउँमा ‘पञ्चायत’ बस्यो । ‘पञ्चायत’मा गाउँका करिब १सय ५० भन्दा बढी व्यक्तिको उपस्थिती थियो ।र,डोम परिवारबाट सपरिवार उपस्थिती अनिवार्य । ‘पञ्चायत’मा सबैको एउटै तर्क थियो –‘ समाजिक सदभाव र परम्परा तोड्नु ठिक होइन,त्यसैले पत्रकार,हिरो र प्रहरीको पछाडी नलागि समाजको पछाडी लाग्ग । २÷४ दिनपछि गाउँलेहरुले ने काम दिन्छ । ‘पञ्चायत’का एक जना बाहेक  सबैको एकमत थियो ‘यो घटना प्रहरीमा लैजानु भएन’ । ‘पञ्चायत’  पञ्चहरुको भनाई उदृद्ध गर्दै पुलकितले भने–‘सधैँ झै गाउँलेहरुले पालँै पिच्छे पानी भरिदिन्छ,परम्परा तोडेर हाम्रो देव धर्म नष्ट गर्ने प्रयास नगर, यो सब ठिक हुदैँन । बरू अब आइन्दा पानी भरिदिएवापत गैर दलितहरुले लिने नगद पैसा र बाँसको चंगेरा,दाउरा,पंखा हामी लिदैँनौं ।’

 तर ‘पञ्चायत’मा उपस्थित झरिया(खत्वे)मण्डलले–‘यो सेवा तपाईहरुले कति दिनसम्म दिनुहुन्छ,४÷५दिन,त्यसपछि डोम समुदायको अवस्था फेरी पनि उस्तै हुन्छ,त्यसैले यो समस्याको समाधान होइन मात्र के भनेका थिए, सबै गाउँले ऊ माथि झम्टिएका थिए । पुलकितले भने ‘त्यसपछि उहाँ पनि चुप लाग्नु भयो ।’ पञ्चहरूले मुसहर बस्तीमा पानी सुखेका  खाली इनारमा २÷४ ड्रम पानी भर्न लगाएर प्रहरी र पत्रकार आएको बेला सोही इनारबाट पानी भरेको देखाएर(नाटक गरेर) र समस्या समाधान भइसकेको भन्न आदेश दियो । तर मल्लिक परिवारले राती मुन्टो हलाएर  घर फर्किए पनि त्यो गरेन ।

पंञ्चायतीको भोली पल्ट विहान गाविसका निवर्तमान अध्यक्ष भोगीलाल साहले पुलकितको घरमै आएर गैर दलितले भरिदिएको पानी लिएर चित्त बुझाउन निर्देशन दिएर गयो ।  पुलकित भन्छन्–‘अध्यक्ष जीको भनाई पनि ‘चलिआएको परमपरा’ अनुसार चल्नु पर्ने भएकोले विगतमा झै गैर दलितले पानी भरेर दिन्छ,त्यही लिएर सन्तोष गर’ भन्ने नै थियो । ‘ हाम्रो पक्षमा लाग्ने त गाउँ कुनै पनि दलका नेता भएन ।

मल्लिक परिवारलाई घर चलाउन समस्या ः घटनाले मिडियामा व्यापकता पाएपछि सिरहा जिल्लाका प्रहरी प्रमुख,प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी निकाय व्यक्तिहरू घटनास्थलसम्म गयो । प्रहरीले साउन १९ गते नै डोम परिवारलाई लगेर इनारबाट पानी झिक्न लगयो । डिएसपी उमाप्रसाद चर्तुवेदीले स्वयम उपस्थित भएर पुलकित डोमलाई इनारमा पानी भर्न लगाएपछि गाउँलेहरू स्थानीय दलित नेतृत्व र डोमसंग झन बढी चिढिएको छ । डोमले इनार छोएदेखि गैर दलितहरूले इनारको पानी पिउन छोडेका छन् । 

 डोम तथा मेस्तर उत्थान केन्द्र,सिरहाका अध्यक्ष रामचन्द्र मल्लिकका अनुसार गैर दलितहरू डोमका साथै डोमलाई साथ दिने दलितलाई समेत समाजिक वहिष्कार गरेको छ । डोम समुदायले गाउँमा लाग्ने हाट बजार सरसफाई गरिदिएवापत व्यापारीसंग तरकारी तथा खादान्य संकलन गर्न गैर दलितहरुले रोक लगाएको मल्लिकले बताए । उनले भने–‘ अरू गैर दलित सरह डोमले पनि इनारबाट पानी झिक्न पाउनु पर्ने वातावरण भइदिए हुन्थ्यो चाहन्छौं,त्यसैले कानूनी प्रक्रियामा गएनौं । तर यहाँ गैर दलितहरू कुनै पनि हालतमा डोमलाई इनारमा आँफै पानी भर्न नदिने पक्षमा अडिग छन् । जसरी पनि डोम र यहाँ दलितहरूलाई तह लगाएर छोडने खुल्लेआम धम्की दिदैंछन् । जसले गर्दा समस्या समाधान हुनुका सट्टा झन बल्झिदै गएको छ । ’

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिश्वकर्माले डोम परिवारको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताए । ‘ घटना लगत्तै देखि ५ जना प्रहरी मल्लिक परिवारको सुरक्र्षाथ खटाइएको छ । कसैले उनीहरूलाई धाक धम्की वा पानी भर्न नदिएको खण्डमा उजुरीका आधारमा मुद्दा दायर गरि कार्यवाही प्रक्रिया अघि बढ्छ ।’ प्रजिअ बिश्वकर्माले भने–‘तराईमा दलित उत्थानका लागि सरकारी तथा गैर सरकारी संघ–संस्थाहरूले गरेको लगानीको प्रतिफल देखिएन ।’  

यसरी भयो घटना सार्वजनिक

अहिलेका आइजीपी उपेन्द्रकान्त अर्याल सिरहाको रामनगरमिर्चैया नगरपालिका–८ जीवाका हुन् । आइजीपी अर्यालले समेतको सहयोगमा अर्यालको घर नजिकै मुसहर बस्तीमा खनिएको इनारमा मुसहरहरुले पानी खान पाउँदैनन् भन्ने समाचार यो पंक्तिकारले गत चैत्र महिना रेर्कड नेपाल डटकममार्फत उजागार गरेको थियो । उक्त घटना सार्वजनिक भएपछि राष्ट्रिय दलित आयोग  र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोली उक्त घटनाबारे स्थलगत अध्ययन गर्न आइजीपी अर्यालको गाउँ पुगको थियो । र,दलित आयोगले केही समय अघि लहानमा गरेको एक अन्तक्रियामा डोम मेस्तर उत्थान केन्द्रका अध्यक्ष रामचन्द्र मल्लिकले नैनपुरका डोममाथि भएको विभेदबारे कुरा उठाएको थियो । उक्त टोलीले आइजीपी अर्यालको गाउँमा मुसहरलाई पानी खान नदिएको घटनासंगै  आएको बेला नैनपुरको घटनापनि अध्ययन गर्ने निधो ग¥यो । र,दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीको नेतृत्वमा राष्ट्रिय मानव अधिकार,प्रधानमन्त्रीको सचिवालय सहितको टोली बैशाख ४ गते नैनपुर गाउँ पुगेको थियो ।

डोम परिवारलाई इनारमा पानी झिक्ने वातावरण बनाउन काठमाडौंबाट दलबलसहित गएको टोलीले मुसहर बस्ती स्थित इनारमा डोम परिवारलाई लगेर पानी भर्न लगाएको थियो । मुसहरबस्तीको इनारमा पानी भरिसक्केपछि मुसहर समुदायका महिलाहरूले अध्ययन टोलीलाई टोलमै गैर दलितको घरको इनारमा पनि पानी भर्न लगाउनु पर्ने माँग गरेका थिए । टोलीले डोम परिवारलाई लिएर गैरदलित (अहिलेको विवादित इनार) गएका थिए । तर त्यस इनारमा डोम परिवारलाई कुनै पनि हालतमा पानी भर्न नदिने तयारीकासाथ गाउँले महिलाहरूले संगठित रुपमा अवरोध गरेको थियो । गैर दलितहरूले पानी खाने इनारमा पानी झिक्न नदिएपछि आक्रोशित मुसहर महिलाहरूले ‘मुसहरहरुले पानी खाने इनार’ मात्रै किन ‘अशुद्ध’ गरेको भन्दै आयोगका पदाधिकारीसंग बाँझाबाँझ गर्नुका साथै पुलकित मल्लिकका श्रीमती प्रमिला मल्लिकलाई कुटपिट गरेको थियो । प्रहरीले बल प्रयोग गर्न खोज्दा गाउँभरीका मुसहर समुदायका महिलाहरु ‘हामी सबैलाई लिएर हिड’ भन्दै प्रहरीको भ्यानमा बस्न खोजेपछि ठूलै लफडा हुने देखर आयोगको प्रतिनिधिमण्डल र प्रहरी टोली भाग्न बाध्य भएको थियो । ज्यान जोगाएर धनगढी स्थित इप्रकामा शरण लिएका टोलीमध्येका एक दलित आयोगका अधिकृृत राम बिश्वकर्माले इप्रकाबाटै उक्त घटना विस्तृत विवरण टेलिफोनमार्फत यो पक्तिकारलाई सुनाउँदै केही संचारकर्मीको नम्बर मागेको थियो । 

आयोगका अध्यक्षले आफूहरुसित यो प्रकरण जिल्लाका सीडीओलाई भनेर समाधान गरिदिने प्रतिवद्धता गरेपनि पछि कुनै सम्पर्क नै नगरेको पिडीत प्रमिला मल्लिकले सुनाइन । उनी भन्छिन्–‘सो घटनापछि दलित र गैर दलित सबैले हामीलाई प्रहरी र काठमाडौंबाट हाकिम ल्याएर पानी भर्ने र इनार ‘अशुद्ध’ गर्ने भन्दै आफूलाई तारो बनाइरहेको बेला राजेश हमाल गाउँ आएपछि त्यो रिस फेरेको हो ।’ 

रेकर्ड नेपाल बाट 

No comments:

Post a Comment