माघ २० , विभेद बिरुद्ध अभियान - कास्की रूपाकोट–२ फालभन्ज्याङकी ३८ वर्षीया सीता परियार पहिलो दलित महिला एलडिओ हुन् । जिल्ला विकास समिति दोलखाको नेतृत्व सम्हालेकी सीताले आफ्नो जीवनगाथा नयाँ पत्रिकाकर्मी टेकराज थामीलाई सुनाइन् :
बुबा लुगा सिउने, म पढ्ने
निम्नमध्यम वर्गीय परिवार हो हाम्रो । खेतीबाट खान पुग्दैनथ्यो । दैनिक गुजाराका लागि लुगा सिउनु आम्दानीको एक मात्र स्रोत थियो । हाम्रो परिवारमा पढेका अरू कोही थिएनन्, तर मलाई पढाउनुभयो । गाउँकै विद्यालयबाट एसएलसी पास गरेँ । त्यसपछि पोखरा गएँ, थप अध्ययनका लागि । घरको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । पढाउनुभन्दा विवाह गर्नु सायद घरमा उचित ठानियो । मेरो विवाह भयो । त्यसपछि जीवनले अर्कै मोड लियो । छोरीबाट म बुहारी भएँ । घरमा मैले पढ्न मन छ भन्न सकिनँ । एसएलसी पास गरेको वर्ष मेरो अध्ययन त्यत्तिकै रोकियो । त्यही वर्ष बच्चा पनि जन्मियो । अनि लाग्यो– अब मेरो जीवन यत्तिकै सकिन्छ । तर, त्यतिवेला सोचेजस्तो भएन, श्रीमान् पढेलेखेको हुनुहुन्थ्यो । मैले अध्ययन अगाडि बढाउन पाएँ । त्यसपछि म पोखरा गएँ ।
काम गर्दै आइए
श्रीमान् गाउँकै स्कुलको शिक्षक भएकाले म एक्लै पोखरा पुगेँ । पिएन क्याम्पसमा बिहानी सिफ्टमा भर्ना भएँ । कोठा नजिकै थियो । श्रीमान्को कमाइले मात्रै अध्ययन खर्च नपुग्ने भयो । मैले अध्ययन खर्च जुटाउन काम गर्नुपर्ने भयो । कामको खोजीमा निस्किएँ । गार्मेन्टमा लुगा कटिङ गर्ने काम मिल्यो । बच्चा सानै थियो । बच्चालाई वेलावेला दूध खुवाइरहनुपर्ने । कोठामा हेर्ने कोही थिएन । त्यसैले काममा सँगै लिएर जान्थँे । राख्ने ठाउँ पनि थिएन । लुगा कटिङ गर्ने ठूलो टेबुल थियो । टेबुलमुनि खाली थियो । त्यही भागमा एउटा सानो झोलुंगे बनाए । बच्चालाई त्यही सुताउँदै काम गर्न थालेँ । मैले ‘इन्टरमिडियट’ सकेँ ।
विद्यार्थी राजनीतिबाट प्रभावित बनो
थप अध्ययनका लागि अब काठमाडौं जाने निधो भयो । श्रीमान्ले त्यसवेलासम्म शिक्षण पेसा छाडिसक्नुभएको थियो । श्रीमानसँगै म काठमाडौं आएँ । बानेश्वरमा कोठा लियौँ । दुवैको जागिर थिएन । बिहान–बेलुकाको छाक टार्न काम नगरी सुखै थिएन । कामको खोजीमा म निस्किएँ । बानेश्वरस्थित कपडा पसलमा लुगा सिउने काम मिल्यो । जानेकै काम भेट्टाउँदा खुसी लाग्यो । पिके क्याम्पस भर्ना पनि भएँ । राजनीतिक वातावरण थियो क्याम्पसमा । म पनि खुब प्रभावित बनेँ राजनीतिप्रति । तर, लाग्ने वातावरण कहिल्यै मिलेन । किनकि मसँग समय नै थिएन । बिहान कलेज जान्थेँ । छुट्टी हुनासाथ काममा जानुको पिरलो हुन्थ्यो ।
बच्चा बोकेर परीक्षा दिन गएँ
मैले गणितलाई मुख्य विषय बनाएँ । स्कुलमा गणितमा तेज थिएँ । त्यही भएर कलेज अध्ययनमा पनि गणित नै रोजेँ । बानेश्वरमै मेरो दोस्रो बच्चा पनि जन्मियो । त्यतिवेला परीक्षा पनि चलिरहेको थियो । सुरुमा त परीक्षा नदिऊँ झँै लागेको थियो । तर, मनले मानेन । परीक्षा दिने नै निधो गरेँ । बच्चा हेर्ने मान्छे पनि कोठामा थिएनन् । त्यसैले बच्चा लिएरै परीक्षामा सहभागी हुने निर्णय गरेँ । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा परीक्षा केन्द्र थियो । १८ दिनको बच्चा च्यापेर म परीक्षा दिन पुगँे । बच्चा सुताउन छुट्टै कोठाको व्यवस्था रहेछ । त्यही कोठामा बच्चा सुताएँ । म परीक्षा हलमा प्रवेश गरेँ । सबैले ‘सुत्केरी आई’ भने । मन अलि खिन्न भयो । बच्चा रोइरहन्थ्यो । पेपर बेन्चमै छाडेर दूध चुसाउन जान्थे । यसरी दिएको परीक्षा पास भएको रिजल्ट आयो । त्यतिवेला साह्रो खुसी भएँ ।
एनजिओले सरकारी अधिकृत बनायो
दु:ख–सुख गरेर बिए पास गरेँ । अब जागिर खाने मनसाय बन्यो । जागिर खोज्न थालेँ । दलित उत्थानमा काम गर्ने गैरसरकारी संस्था रहेछ । त्यहीँ अधिकृतस्तरको जागिर मिल्यो । त्यसका लागि नेपालगन्ज जानुपर्ने भयो । म गएँ । पाँचवर्षे एनजिओको जागिरले मलाई परिपक्व बनायो । सरकारी कर्मचारीसँग हामीले सहकार्य गर्नुपथ्र्यो । उनीहरूका रवाफ र लगनशीलता देखेर म लोभिएँ । मलाई पनि अधिकृत बन्ने चाहना जाग्यो । श्रीमान्सँग सल्लाह मागेँ । उहाँले पनि हौसला दिनुभयो । अधिकृत परीक्षाको तयारीमा जुटेँ । तीन महिनाका लागि विशेष कक्षा लिएँ । महिला र दलित दुवै कोटामा परीक्षा दिएँ । दुवैतर्फ नाम निस्कियो । अन्तर्वार्तामा भने दलित कोटाको अधिकृत बनेँ ।
तीन वर्षमै उपसचिव
एनजिओको अधिकृतबाट म अब सरकारी अधिकृतमा बदलिएकी थिएँ । जिम्मेवारी पनि त्यहीअनुसारको आयो । मैले सोहीबमोजिम गर्दै गएँ । इमानदारिता र लगनशीलता सबैभन्दा ठूलो विषय रहेछ । मैले काममा सफलता पाउँदै गएँ । ममा आत्मविश्वास बढ्दै गयो । अधिकृत भएको तीन वर्षपछि उपसचिवको आवेदन खुल्यो । खुलातर्फबाट मैले पनि आवेदन भरेँ । नाम निस्कियो । पछि अन्तर्वार्ता भयो । त्यसमा पनि म अब्बल ठहरिएँ । जागिर सुरु गरेको तीन वर्षभित्रै म उपसचिव बनेँ । अहिले म दोलखाको एलडिओका रूपमा छु । ममा चुनौती तथा जिम्मेवारी दुवै बढेका छन् भन्ने लाग्छ ।
नया पत्रिका बाट
No comments:
Post a Comment