माघ २३, विभेद बिरुद्ध अभियान - साहित्य कला र संगीत मार्फत सामाजिक बिकृति र विसंगतिका बिरुद्द नेपाली साहित्यकारहरुले कलम चलाएको पाइन्छ | साहित्य समाजको दर्पण हो | साहित्यले समाज परिबर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने थुप्रै उदाहरणहरु हामी बीच छ | त्यसैले कबि , कलाकार , गीतकार र साहित्यिक श्रस्टाहरुलाई समाज परिबर्तनका मार्गदर्शनका रुपमा लिईन्छ | साहित्यले समाज परिबर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्दछ भन्ने कुराका थुप्रै उदाहरणहरु छन | १०४ बर्षे राणाहरुको निरंकुशताको बिरुद्दमा पनि प्रत्यक्ष अप्रत्यक्ष र व्यंग्यात्मक शैलीबाट साहित्य , कला र सिर्जनाको माध्यमबाट बिरोध जनाएकै हो | साहित्य समाजको हितको लागि हुनुपर्दछ साथै समाज परिबर्तनका लागि हुनुपर्दछ | अत: समाजलाई ब्यबस्थित गर्न असल आचरणको प्रसार गर्न सदभाबनाको सम्प्रेषण गर्न र समान न्याय वितरणमा साहित्य कला र संगीतले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ | नेपालमा साहित्य श्रष्टाहरुले सदियौ देखि नेपाली समाजमा बिध्यमान जातीय छुवाछुत र विभेदका बिरुद्दमा पनि कलम चलाएका दृष्टान्तहरु अनगिन्ति छन | नाटककार बालकृष्ण समले साहित्य सिर्जना मार्फतनै मानिसको जात मानिसनै हो उसको अरु कुनै जात हुन्न उसले जहाँ टेक्यो त्यहि स्वदेश हो विदेश भन्ने ठाउँनै छैन भनि समानताको पक्षपोषण गर्नुभयो |
महाकबि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो प्रिय कृति मुनामदन मार्फत मानिस ठुलो हुने आधार मानवीय व्यवहार हो अर्थात असल गुण हो | अभिमान र घमण्ड होइन | अहमता र घमण्डले मानिसलाई तुच्छ बनाउछ | मन बिशाल छ र सबै प्रति करुणा र सदभाब जाहेर गर्दछ भने वास्तबमै असल मान्छे त्यहिनै हुन्छ | ल्हासाबाट सम्पति कमाएर फर्केका मदनलाई बिच बाटोमै साथीहरुले छोडेर आए | उनि असक्त थिए ,कमजोर थिए उनलाई सहयोगको जरुरी थियो | तर साथीहरुले मानवीय भावनाको समर्पण देखाएनन | उनीहरुको दील निर्दयी र कठोर देखियो |
यस्तो दुखद परिस्थितिमा हैजाले सिकिस्त भएका मदनलाई स्थानीय भोटेले आफ्नो घरमा लगेर उपचार गराई मनाबीयताको सच्चा रुप प्रदर्शन गर्यो | यसबाट के प्रस्ट हुन्छ भने मानिस मनले ठूलो हुन्छ जातले हुदैन | मदनले यो कुरालाई आत्मसाथ गरि भोटेको पाउमा छोई क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुदैन मानिस ठूलो दीलले हुन्छ जातले हुँदैन भनि जातीय सम्मान गरेको कुरा महाकबि देबकोटाले आफ्नो कृति मुनामदन मार्फत जातीय समानताको संदेश प्रवाह गर्नु भएको छ | नेपाली साहित्यको माध्यमबाट समानताका पक्षमा कलम चलाएका थुप्रै उदाहरणहरु छन यो सकारात्मक पक्ष हो | यसैलाई मध्यनजर राखी साहित्य सिर्जनाका अनगिन्ति उदाहरण मध्य राष्ट्रकबि माधब प्रसाद घिमिरेद्वारा वाल मनोबिज्ञानमा परिबर्तन ल्याउने उद्देश्यले आफ्नो सिर्जना एउटै मुटु एउटै मर्म गीतमा जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न समानताका धारणाहरुलाई पक्षपोषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ | माधब प्रसाद घिमिरे नेपाली साहित्य क्षेत्रका मुर्धन्य साहित्यकार हुन | उनी राष्ट्रका अत्यन्त सुपरिचित र सुविख्यात साहित्यकारका रुपमा चिर परिचित छन | उनलाई नेपाली साहित्यका शिखर पुरुषका रुपमा चिनिन्छ | बि.सं.१९७६ साल अशोज ७ गते नेपालको पश्चिमी भाग लमजुंग जिल्लामा जन्मनु भएका माधब प्रसाद घिमिरेलाई मुलत कविको रुपमा चिनिन्छ | तर पनि उनले नाटक विधामा पनि कलम चलाएका छन | बि.सं. २०६०/०६१ तिर उनलाई साहित्यक क्षेत्रमा अतुलनीय योगदान पुरयाए बापत राष्ट्रले सम्मान स्वरूप राष्ट्रकविको उपाधि प्रदान गर्यो | उनका राष्ट्र निर्माण (खण्डकाव्य) ,राजेश्वरी (खण्डकाव्य) पापिनी आमा (खण्डकाव्य) लगायत थुप्रै कृतिहरु प्रकाशित भएका छन | बि.सं. २०१६ सालमा उनकी पत्नीको मृत्युपश्चात उनले गौरी शोक काब्य प्रकाशित गरेका थिए | उनले मालती मंगले नामक गीति नाटक लेखे यो नाटक अत्यन्त लोकप्रिय र जनप्रिय भयो | उनले लेखेको गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली बोलको राष्ट्रिय गीत नेपाली भावनाको प्रतिबिम्ब र राष्ट्रप्रेमको अनुपम नमुना हो | उनले वालवालिकाका लागि पनि थुप्रै कविताहरु लेखेका छन | घामपानी वाल कविता संग्रह उनको महत्वपूर्ण वाल साहित्यक कृति हो | यसमा वालवालिकाको वाल सुलभ मनोबिज्ञानलाई आकर्षित पार्ने र उमेरगत रुची अनुसार बिषय सन्दर्भलाई प्रस्तुत गरिएको छ | राष्ट्रकबि उमेरले पाको भई सकेपनि उनका साहित्यक सिर्जनाहरु आज पनि तन्नेरिनै छन | जीवनका ९६ औ बसन्त पार गरिसकेका राष्ट्रकबि नेपाली साहित्य क्षेत्रका कहिल्यै नरितिने बिशाल भण्डारनै हुन | बिद्यालय स्तरको बिषयगत पाठ्यपुस्तक अन्तर्गत कक्षा ७ को नेपाली पाठ्यपुस्तकको पाठ ६ मा एउटै मुटु एउटै मर्म शिर्षकको गीत राष्ट्रकविको मौलिक सिर्जना हो | गीत यथार्थपरक सामाजिक बिषय बस्तुसंग गाँसिएको छ | सामाजिक घटनाक्रमलाई रोचक र बस्तुनिष्ठ ढंगबाट गीतको माध्यमबाट प्रस्तुत गरिनु कविको मौलिक बिशेषता हो | गीतले नेपाली समाजमा बिद्यमान जातीय विभेदको अन्त्यको बारेमा स-साना वालवालिकालाई सुसुचित गराउन र यो अमानवीय क्रियाकलापलाई समाजबाट हटाउन जिम्मेबार बनाउन मनो बैज्ञानिक ढंगले गीतको माध्यमबाट बुझाउन खोजिएको छ | गाइने दाई जो सारंगी रेट्दै सुख , दुख , पीडा , रोदन र विरहका गीत गाउछन | लेक , बेसी , उकाली , ओराली , देउराली , भन्ज्याङ र चौतारी जहितही सारंगीको मिठास धुनले सबैलाई मन्त्रमुग्ध पार्दै संगीतको मिठासभावमा सबैलाई मनोरन्जन प्रदान गर्छन |
उनको गीतमा के बूढा के तन्नेरी के वालवालिका सबैजना मोहित हुन्छन | पीडा र रोदनका गीतमा सबैका आँखा रसाउँछन | सबैजना भावविह्वल हुन्छन | देश बिदेशका घटनाहरुलाई सुचनाको प्रसारक बनि सम्प्रेषण गर्ने काममा पनि गाइनेदाईको महत्वपूर्ण योगदान रहेको छ | त्यसर्थ गाइनेदाई मनोरन्जनका खानी हुन सूचना र संचारका सम्बाहक हुन | यसरी सबैजनालाई सूचना संदेश र मनोरन्जन प्रदान गर्ने देशको मौलिक लोक संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने मौलिक लोक बाजा सरंगीलाई विश्वसामु परिचित गराउने कला र संस्कृतिका धनि गाइनेदाईमाथि अपमान छ ,घृणा छ र तिरस्कार छ अझ भन्नु पर्दा जातीय विभेद र छुवाछुत छ | यस्तो खालको बिकृतिपूर्ण व्यवहार हुनु भनेको ज्यादै लज्जाको बिषय हो | राष्ट्रकबि माधब प्रसाद घिमिरेले ज्यादै सरल र शिष्ट भाषामा मनोरन्जनपूर्ण शैलीबाट उक्त गीत प्रस्तुत गरेका छन | गाइनेदाई ढोकाको अघिलतिर धुलामा बसि गीत गाइरहेका हुन्छन | उनलाई बस्नका लागि चकटी , गुन्द्री , पिर्का केहि पनि दिईदैन हेला र अपमान गरिन्छ | उनी धुलोमा बस्न अपमानित हुन होइन सम्मानजनक व्यवहार र मायाको अपेक्षा गर्छन | उनी मन्दिरको भगवानलाई भित्रै गएर भेट्न चाहन्छन ,पूजा आराधना गर्न चाहन्छन तर के गर्नु उनलाई मन्दिर भित्र पस्न दिइदैन | यस अबस्थामा उनि अत्यन्त दुखी बनि भगवान संग प्रश्न गर्छन ढोकाको अघि धुलामा बसि म कति गाउँला हे प्रभु तिम्रो मन्दिर भित्र कहिले आउला ? उनले गरेको प्रश्नको उत्तर आज सम्मपनि पाउन सकेका छैनन | यसरी राष्ट्रकबिले गाइने दाईको भावनालाई ज्यादै मार्मिक ढंगबाट गीतको माध्यमबाट प्रस्तुत गरेका छन | मानिस सबै जना उस्तै छन | उनीहरुको शरीरको संरचना हाड मासु रंग रोगन एउटै छ | प्रत्येक मानिसको नसामा रातो रगतनै बहन्छ त्यसर्थ मानव जातीमा कुनै किसिमको भिन्नता छैन मानवीय संरचना उस्तै छ | तँ सानो म ठूलो भन्नु अभिमान र घमण्ड मात्र हो | यसरी मानिसले अभिमान र घमण्डी बनि जातपात र छुवाछुत गर्छ भने त्यो सबै भन्दा नीर्घिनी काम हो भन्ने कुरा पनि गीत मार्फत स-साना वालवालिकालाई संदेश दिन खोजेका छन | प्रत्येक मानिसको आत्मामा ईश्वरको बास हुन्छ त्यसैले कसैलाई पनि अपमान र घृणा गर्नु भनेको ईश्वरलाई अपमान र घृणा गर्नु हो | समाजमा सबैजना मिलेर बसेको खण्डमा ईश्वर अत्यन्त खुसी हुन्छन | सबै जना मिलेर बस्नुनै भगवान र जगतलाई खुसी पार्नु हो | गाइने दाईत एक प्रतिनिधि पात्र मात्र हुन जसलाई कविले बिम्बको रुपमा मात्र प्रस्तुत गरेका छन | यसरी जातीय भेदभाब र छुवाछुतको मारमा परेका दलित समुदायहरु अत्यन्त क्रुर अमानवीय व्यवहार भोग्न बिबस छन | त्यसर्थ कविले विद्यार्थीहरुमा समानताको भावना जागृत गर्ने उद्देश्यले यो गीतको सिर्जना गरेका हुन साथै सबैलाई यो कुराको आत्मबोध गराई जातीय विभेदलाई परित्याग गर्न पनि गीत मार्फत आग्रह गरिएको छ | सदियौ देखि समाजमा चलिआएको जातीय विभेद र छुवाछुतले समाजलाई विकृत र प्रदुषित बनाएको छ | यो बैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने पनि गलत तथ्यहीन छ | हामी कसैले पनि यस किसिमको व्यवहार गर्न र गर्न उत्साहित गराउनु हुदैन | वालवालिकालाई गीतको माध्यमद्वारा मनोरन्जनपूर्ण तरिकाले जातीय विभेद र छुवाछुत गर्नु हुदैन भन्ने कुराको आत्मबोध गराउनु र सामाजिक रुपमा परिबर्तनको सम्बाहक बन्नका लागि अभिप्रेरित गराउन राष्ट्रकविको गीतले दिशानिर्देश गरेको छ | यो गीत समानताको सन्देश प्रवाह गर्ने साहित्य सिर्जनाको अनुपम नमुना हो | सबै मानिसको मुटु एउटै छ र मर्म पनि एउटै छ त्यसर्थ विभेद र छुवाछुत गर्नु हुदैन भन्ने कुरा गीतको मुलभाव हो |
युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य हुनु हुन्छ
No comments:
Post a Comment