चितवन, माघ २५ – सूचना र प्रविधिको विस्तार भएपनि चितवनको ग्रामीण क्षेत्रमा सूचना दिने माध्यमका रुपमा कटुवाल प्रथा कायम छ । चितवन जुटपानी, पिठुवा, पदमपुर, शक्तीखोर गाविसका बासिन्दा नयाँ सूचना प्रविधिभन्दा कटवालमा धेरै विश्वास लाग्ने बताउँछन् । कुनैबेला सूचनाको माध्यम बनेको कटुवाल प्रथा पछिल्लो समय लोप हुन थालेपछि यसैबाट जीविकोपार्जन गर्दै आएकाहरु चिन्तामा छन् । बिहानदेखि बेलुकासम्म गाउँको बाटो सरसफाई, निर्माण कार्य, वन सुरक्षा, भत्ता वितरण, सभा सम्मेलनका सूचना सुनाउँदै डुल्ने कटुवाललाई राज्यको निकायले ध्यान नदिएको भन्दै उनीहरुले दुःखेसो गरेका छन् ।आफू नाबालक छँदै वुबाको मृत्यु भएपछि १८ वर्ष अरुकै घरमा पालिएका बावुराम दमैले कटुवाल पेसा गर्दै आएको ३६ वर्ष भयो । २०३५ सालमा स्थानीय प्रधानपञ्च कुमार सिं केशीले चितवनको जुटपानी क्षेत्रमा लगाइदिएको कटुवाल काम उहाँले अहिलेसम्म गरिरहनुभएको छ ।
आफूले कटुवाल पेसा गरेदखि अहिलेसम्म धेरै व्यवस्था परिवर्तन भएपनि आफ्नो पेसाको बारेमा राज्यले चासो नराखेकोमा उहाँलाई दुःख लागेको छ ।
सँगै अक्षर चिनेका धेरै साथीहरु पेन्सन खाएर बसेका छन् । कोही विद्यालयका प्रधानाध्यापक भएका छन् । गाउँमा कटुवाल कराएको ३६ वर्ष पुग्दा आफूसँग केही नभएको उहाँ बताउनुहुन्छ ।
वर्षभरी गरेको काम वापत वर्षमा एक पटक प्रत्येक घरमा पुगेर पाथि माग्नुपर्ने बाध्यता रहेको बताउँदै बावुरामले परिवार पाल्नै समस्या रहेको बताउनुभयो । ५ छोरा, २ जना छोरीसहित १५ जनाको परिवार उहाँकै पेसामा निर्भर छ।
जुटपानी, पिठुवा, पदमपुर, शक्तीखोर चार गाविसमा बावुराम एक्लैले कटुवालको काम गरिरहनुभएको छ । गाउँमा हुने विभिन्न सामाजिक कामका बारेमा स्थानीय बासिन्दालाई जानकारी दिने काम उहाँ गर्नुहुन्छ ।
सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर जिविका चलाउँदै आउनुभएका बावुराम एफएम रेडियो, स्थानीय पत्रपत्रिका र मोबाइल फोनको उपलब्धता र बढ्दो प्रयोगसँगै आफ्नो पेसा लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । विकास निर्माणका काम गर्दा, वनको घाँस दाउरा फडानी गर्दा, अन्य सामाजिक काम गर्दा सबैले सुन्ने स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिनु कटुवालको पुख्र्यौली पेसा हो ।
पत्रपत्रिका र टेलिभिजनको पहुँच पुगेपनि गाउँमा रेडियोमा सुुनेका सूचनाभन्दा कटुवालले हाँको हालेका कुरामा बढी विश्वास लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । पत्रपत्रिका रेडियोको सूचनाभन्दा घरै अगाडी आएर कटुवाल कराएको बढी प्रभावकारी लाग्ने जुटपानी गाविस वडा नं. १ का चुडामणी न्यौपानेले बताउनुभयो ।
स्थानीय सघसंस्थाले पनि बैठकबाटै निर्णय गरेर ‘हाँको’ हाल्न लगाउने गरेका छन् । जुटपानीमा रहेको उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामाले पुरानो चलन भएका कारण कटुवाल प्रथालाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो । कटुवालले सूचना प्रवाह गर्ने कामलाई स्थानीय बासिन्दाले ‘हाँको हाल्ने’ भनेर बुझ्ने गरेका छन् । गाउँघरमा हुने सामाजिक कार्य र सार्वजनिक महत्वका विषयमा सूचना दिन कटुवाल प्रयोग गर्दै आएको अध्यक्ष लामाले बताउनुभयो ।
३६ वर्षसम्म मानो पाथी उठाएर काम गर्दै आएकोमा यस आर्थिक वर्षबाट गाविसले महिनाको सात हजार रुपैयाँ दिन सुरु गरेको उहाँले बताउनुभयो । गाविसले समाचारदाताको रुपमा वर्षको एक थान कपडा, हाते माइक पनि उपलव्ध गराएको छ । चलनचल्तीमा रहेको कटुवाल पेसाको संरक्षण गर्दै यसलाई प्रभावकारी बनाउन सरोकार राख्ने निकायले समन्वय गरेर कटुवालको पारिश्रमिक निर्धारण गरिएको गाविसले जानकारी दिएको छ ।
उज्यालो बाट
No comments:
Post a Comment