सात महिनाकी बिन्दु सुनार बा आमासँगै जेल जीवन जिउन बाध्य

जाजरकोट, फागुन ३ , विभेद बिरुद्ध अभियान ।– जाजरकोट भेरीमालिका नगरपालिक-११ कुदुकी सात महिनाकी बिन्दु सुनार बा आमासँगै जेल जीवन जिउन बाध्य छिन् । वहुविवाहको मुद्दामा उनका वुबा टेकेन्द्र सुनार र आमा लक्ष्मी सुनारले कैद सजाय पाएपछि बिन्दु पनि जेलमै बस्नुपरेको हो । 
सदरमुकाम खलंगा नजिकैको  कुदु गाउँका टेकेन्द्र र लक्ष्मीले वहुविवाह गरेको अभियोगमा जेल सजाय भोगिरहेका छन् । घरमा श्रीमती हुँदाहुँदै कान्छी विहे गरेपछि टेकेन्द्रकी जेठी श्रीमती काली सुनारले वहुविवाहको मुद्दा हालेपछि दुवैले अदालतको फैसलाबाट कैद सजाय पाएका हुन् । 
टेकेन्द्रलाइ जिल्ला कारागार जाजरकोटमा राखिएको छ भने लक्ष्मीलाइ प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ । केहिदिनमै लक्ष्मीलाइ सुर्खेत या नेपालगञ्जको कारागारमा लगिने बताइएको छ ।  अदालतले टेकेन्द्रलाइ १४ महिनाको र लक्ष्मीलाई ११ महिनाको कैद सजाय सुनाए पनि विषेश छुट भन्दै टेकेन्द्रले ११ महिना र लक्ष्मीले नौं महिनाको जेल जीवन बिताउनु पर्ने भएको छ । 
टेकेन्द्रले विवाह गरेको कुरा थाहा नपाएर आफूले विहे गरेको लक्ष्मीले बताएकी छिन् । उनले वहुविवाह गरे जेल गइन्छ भन्ने नसोचेको बताइन्  । घरमा स्याहार गरिदिने कोहीपनि नभएपछि आमाको दुध खाइरहेकी विन्दुलाई आफुसंगै राख्नु परेको उनले बताइन् ।   
वहुविवाहका घटनाहरु धेरै भएपनि त्यति उजुरी नपर्ने जाजरकोटमा अधिकांश घटनाहरु लापरवाहि र जनचेतनाको अभावमा लुक्ने गरेको महिला तथा बालबालिका कार्यालय जाजरकोटकी प्रमुख प्रज्ञादेवी निरौलाले बताउनुभयो ।

-राजेन्द्र कार्की/उज्यालो

No comments:

Post a Comment