जिरीको पाटिटा स्थित दलित गाउँलाई नमूना वस्ती बनाइने

कृष्ण नयन श्रेष्ठ  ,दोलखा, ४ फागुन । दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीको पाटिटारलाई नमूना वस्ती बनाइने भएको छ । बिनासकारी भूकम्पले क्षति बनाएको जिरीको पाटिटार गाउँलाई पुर्ननिर्माणका क्रममा नमुना वस्तीको रुपमा विकास गर्न दातृ निकाय लागि परेका छन् ।जिल्लामा भूकम्प पश्चात प्रतिकार्य र पुनः लाभको कार्यक्रम सञ्चालन गर्दै आएको लुथरन वल्र्ड फेडेरेशन सँगको साझेदारीमा हुराडेक नेपाल दोलखाले नमूना गाउँ बनाउने भएको हो । 
पाटिटारलाई नमूना वस्ती बनाउने सम्बन्धमा आवश्यक छलफल गर्न मंगलवार दोलखा सदरमुकाम चरिकोटमा आयोजित सरोकारवाला अन्तरक्रिया कार्यक्रममा नमूना वस्तीका बारेमा छलफल गरिएको छ । पर्यटकीय हव बनाउने उदेश्यका साथ पाटिटारलाई नमूना वस्तीको रुपमा विकास गर्न लागिएको हुराडेक नेपाल दोलखाका जिल्ला कार्यक्रम अधिकृत सौगात थापाले बताए । “सरकारी नियम अनुसार पुर्ननिर्माण प्राधिकरण सँग आवश्यक समन्वय गरी काम सुरु गछौं” थापाले भने ।पाटिटार गाउँको ५० घरधुरीलाई समेटेर नमुना वस्ती निर्माण गरिन लागिएको हो । जिरी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने पाटिटार दलित वस्ती हो । 
भूकम्पले घर भत्काए पछि पाटिटार गाउँका अहिले ५० घरपरिवारका दुई सय २६ जना असुरक्षित अस्थायी आवासमा वस्दै आएका छन् ।नमुना वस्तीका लागि भूकम्प प्रतिरोधी पक्कि घर निर्माण गरिने छ भने शौंचालय, विद्यालय भवन, सामुदायिक स्वास्थ्य क्लिनीक गोरेटो बाटो निर्माण गरिने छ । साथै नमुना वस्ती बाल बर्गैचा, खेल मैदान, खुल्ला स्थान निर्माण गरिने छ भने जीवन स्तर सुधारका लागि जिविकोपार्जनका गतिविधि समेत सञ्चालन गरिने भएको छ । नमूना वस्तीसम्म मोटरबाटो, खानेपानी र अन्य विकास पुर्वाधारका कार्यक्रम सञ्चालनका हुने छन् ।
पाटिटार नमुना वस्ती हुने भए पछि जिरीवासी उत्साहित भएका छन् । जिरी उच्च माविका प्राचार्य केशव कार्की नमुना वस्ती निर्माणका लागि स्थानिय राजनीतिक दल र नागरिक समाजले आवश्यक सहयोग गर्ने बताए । नमुना वस्ती निर्माण पछि होम स्टे सञ्चालन गरी जिरी घुम्न आउने पर्यटकहरुको संख्या बढाउने कार्कीले बताए ।नेकपा एमाले जिरी नगर कमिटीका प्रतिनिधि टपेन्द्र खड्का पाटिटारलाई नमुना गाउँ बनाउने योजना स्वागत योग्य भएको बताए । योजनावद्ध तरीकाले काम भएका सहजताका साथ नमुना गाउँ बन्ने खड्काले बताए ।

No comments:

Post a Comment