खसआर्य समुदायले किरातभूमि आउँदा बोकेर ल्याएको कलंक हो,छुवाछुत - इन्द्र नारथुङे


फागुन, १० - विभेद बिरुद्ध अभियान -मेरो दाहिने घुँडाको केहीतल निक्कै ठूलो खत छ । केटाकेटीमा उपद्रव गर्नु र चोट लाग्नु सामान्य हो । त्यस्ता धेरै चोटहरुको खत मैले बोकी नै रहेको छु तर योे खतको कथा भने अलिक फरक छ ।

सायद फागुन महिनाको कुनै एक शनिबार हुनुपर्छ । बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । शनिबार भएको हुनाले घर मै थिएँ । पानी अलिक थामिएलाजस्तो भएकोबेला दौतरीहरु गणेश र टंक आईपुगे । हामी कोठामा बसेर चोर–पुलिस खेल्न थाल्यौं ।

२०४५ सालको भूकम्पले घर नराम्ररी धाँजा चिरिएपछि सरकारले तेके अनुसारको मापदण्ड पुरा गरेर बनाएका थियौं । सामान्यतः किरातवस्तीमा चौडापट्टी ढोका र लम्बाईपट्टी जस्केला राखेर घर बनाउने पुरानो चलन छ । छानोलाई दुईपाटा करालो बनाउनको लागि सबैभन्दा माथिल्लो तलामा चौडापट्टी त्रिभुजाकारमा गाह्रो लगाईन्छ, जसलाई चुलीगाह्रो भनिन्छ । एकापट्टीको चुलीगाह्रो ठिक मूलढोकाको माथि हुन्छ । त्यो चुलीगाह्रो २०४५ सालको भुकम्पमा प्रायः भत्किएको भेटियो र मर्ने तथा घाईते हुनेहरुलाई त्यसैले किचेको भन्ने रिपोर्ट आइसकेपछि सरकारले नयाँघर बनाउँदा लम्बाईपट्टी दुईवटा ढोका राख्न उर्दी जारीगरेको थियो । सोही उर्दीलाई शीरोधार्य गर्दै हामीले पनि त्यस्तै घर बनाएका थियौं । 

त्यसबेला म सात कक्षामा पढ्दै थिएँ । सायद पढ्न साजिलो होस् भनेर होला घर बनाउँदा बुवाले माथिल्लो तलामा मेरालागि बेग्लै कोठा निकालीदिनु भएको थियो । कोठा घरको भित्री भागमै पथ्र्यो । कोठासम्म पुग्नभने बाहिरबाट सिंढी लगाईएको थियो । सिंढीलाई छानोले छोप्ने हुँदा पानी परे पनि बाहिरै बस्न सकिन्थ्यो । सिंढीबाट भित्र पस्न काठको बार नाघ्नु पथ्र्यो । तीन जनामध्ये म र टंक भित्र थियौं तर गणेश बाहिरै सिंढीमा बसिरहेको थियो ।

सबेरै गाउँ घुम्न निस्किनुभएको बुवा रक्सीले मात्दै आईपुग्नु भो । बुवाको बानी थाहापाएरै हामी भाग्यौं । गणेश र टंक आफ्नै घरतर्फ दौडिए । म भने पँधेरोतर्फ कुदें । पँधेरापारि पुगेर हेर्दा, बुवा खेद्दै नजिकै आईसक्नु भएको थियो । त्यसपछि म ओह्रालै भाग्न थालें । माटोको डल्ला उठाएर बुवाले खेद्न थाल्नु भो । फुच्चे भए पनि दौडन र उफ्रनमा तेज थिएँ । छेउछाउ डल्लो बज्रिन थालेपछि भने होसहवासै उड्यो । एकैपटक दुईवटा अग्ला कान्ला नाघ्दै खोला झरें र उकालै बाँसघारीतिर भागें । बाँसघारी भित्र छेलिएपछि भने बुवा फर्किनु भएछ । बाँसको झ्याङमा लुकेको निक्कै बेरमा पो थाहा भयो, दाहिने घुँडाको केही तल चोट लागेछ । रगत बगिरहेको थियो । बनमाराको पात माडेर चोट लागेको ठाउँमा लगाएँ । केही बेरमा रगत बग्न थामियो । केही दिनपछि घाउ थाक्यो । तर पनि खाटा गएन । अझै बोकिनै रहेछु । त्यसदिनको घटनालाई लिएर बुवाप्रति कुनै दुराग्रह छैन । तर कारणले भने लखेटी रहेकै छ ।

माझकिरातको मूलथलो मै मेरो घरपर्छ तर छिमेकीहरु धेरै क्षेत्री छन् । र, दुईघर दमाई पनि । त्यसदिन मसँग चोर पुलिस खेल्ने दुई जना साथीहरुमा टंक, क्षेत्री थियो भने गणेश, दमाई । तीनै जना दामली थियौं र मिल्ने साथी पनि । गोठाला, घाँस–दाउरा प्रायः सँगै गथ्र्यौं । तर पढ्नुमा उनीहरु अलिकपछि परे । प्रा.वि. तह छिचोल्ने क्रममा थिए उनीहरु तर म भने टाढाको मा.वि. धाउने भैसकेको थिएँ । त्यसैले शनिबार मात्रै सँगै खेल्ने साईत जुथ्र्यो । त्यही साइत छोप्दै थियौं हामीहरु । मेरो बुवा अलिक कडै हुनुहुन्थ्यो । भनेको नमान्दा कुटाई खानु सामान्य नै थियो तर त्यति धेरै आवेगमा आएर खेद्नु भएको थिएन र पछि पनि खेद्नु भएन । त्यो दिन आक्रोशमा आउनुकोकारण रहेछ—गणेशलाई मेरो कोठा भित्र देख्नु । अर्थात दमाईलाई घर भित्र छिरायो भनेर रिशले आगो हुनुभएको रहेछ ।

किराती समुदायभित्र पहिला छुवाछुत थिएन र अहिले पनि छैन । हाल किरात हौं भन्नेहरु राई, लिम्बु, सुनुवार र याक्खाबीचमा विवाहबारी मज्जाले चल्छ । दनुवार, धिमाल, मेचे, राजबंशी, ताजपुरिया, कोचे, जिरेल, सुरेल, हायू, थामी, भुजेल र थारुसँग पनि किरातीहरुको विवाह चल्छ । तामाङ, मगर, गुरुङ, शेर्पा, थकाली, कुमाल आदिसँग विवाहवारी नचल्ने भनिए पनि छुवाछुत छैन । खासमा छुवाछुत, खसआर्य समुदायले किरातभूमि आउँदा बोकेर ल्याएको कलंक हो ।


पूर्वको किरातभूमिमा सोह्रौ–सत्रौं शताब्दीतिर सेनहरुले शासन गर्न थालेपछि मात्र खस–आर्यहरुको प्रवेश हुन थालेको हो । गोर्खाली राजा पृथ्वीनारायण शाहले किरातभूमि आफ्नो कब्जामा पारी सकेपछि भने खस–आर्यहरुको आगमनले तिब्रता पायो । खस–आर्यको आगमनसँगै किरातीभूमिमा जातपात र छुवाछुतले प्रवेश पायो । खसआर्यहरुले ज–जसलाई अछुत भने तिनैलाई किरातीहरुले पनि अछुतकै रुपमा ब्यवहार गरे । खसआर्यहरुको लागि भने किरातीहरु पानी चल्ने तर भातभान्सा नचल्ने जातिमा दरिए । किरातीहरुले पनि खसआर्यहरुलाई अजात नै ठानेर आफ्नो मूलचूल्हा छुन र दाल–ढिडोमा चलाउनमा प्रतिबन्ध गरे । निक्कैपछिसम्म खसआर्यलाई आफ्नो मूलचुल्हा छुन र त्यो चुल्हामा पाकेको दाल र ढिंडो खान दिइन्दैनथ्यो । तर अचेल भने त्यस्तो छैन । यद्यपि गाउँघरमा दलितहरुमाथि अझै पनि छुवाछुत गर्ने परंपरा जीवितै छ । आजभन्दा करिब २४/२५ वर्ष अगाडि पुरानो मान्यतामा हुर्केको बुवालाई दलित घरभित्र पस्नु पक्कै पनि सहनेकुरो थिएन । परन्तु गणेश बाहिरै बसेर खेलिरहेका थिए । गर्दै नगरेको गल्तीमा सजाय पाउनुको कारण म बिद्रोही बने ।

घरको मूलढोकापट्टी दलानमा बेञ्च राखिएको थियो । घरमा निजी धारा थिएन । प्यूने पानी लिनको लागि नजिकैको कुवामा जानु पर्थ्यो । जेठोपाको हुनाले पानी ओसार्ने काम प्रायः मेरै थियो । त्यो घटनापछि भने पानी बोकेर आउने क्रममा बेञ्चमा गणेश वा उनको समुदायका मानिसहरु देखें भने आँखा छलेर घैला भएको डोको उनीहरुलाई छुवाउँदै भित्र छिर्थें । यसो गर्नुको पछाडि बुवाप्रतिको प्रतिशोध पनि थियो तर त्योभन्दा बढी आत्मसन्तुष्टी । गणेश मेरो साथी मात्र थिएनन् कपडा सिलाई दिने पर्शु दाइको छोरा पनि थिए । पर्शु दाइ तिनै हुन् जसले जस्तै हतारमा पनि मेरो कपडा सिलाई दिन नाईनास्ती गर्नु हुन्न थियो । गणेशको घरमा गएर खानेकुरा खाइदिंदा उनीहरु खुसी हुन्थे, त्यो खुसीमा म आफूलाई सन्तुष्ट पाउँथे । त्यसैले पानीको घैला भएको डोको उनीहरुलाई छुवाउनुमा आत्मसन्तुष्टी पनि जोडिएको थियो भन्दा अत्यूक्ति नहोला । र, अचेत दलितहरुले छुवाछुत बिरुद्घ उठाएको आवाजमा आफ्नो आवाज मिसाउन पाउँदा होस् वा समान अधिकार प्राप्तीको लागि सडकमा ओर्लिएको बेला टाढै बसेर समर्थन गर्दा होस्, त्यस्तै आत्मसन्तुष्टी प्राप्त हुने गर्छ ।

No comments:

Post a Comment