माघ १९ - विभेद बिरुद्ध अभियान ।
“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्ने महाकवी देवकोटाको उक्तिलाई आजको एक्काइसौँ शताब्दी अर्थात कम्पयुटर युगका मानवहरुले पनि बुझ्न नसकेको तथ्य खासगरी नेपाल र भारतमा पटक पटक दोहोरिने जातीय घटनाको प्रमाणित गरिदिएको छ ।
जातीय छुवाछुतलाई कायमै राख्न चाहने र जरैदेखी उखेलेर फयाँक्न चाहने समुदायबीच सर्घष चर्किरहेको आजको स्थितिमा एकोहोरो “दलित” रटाइले मात्र जातीय विभेदको अन्त्य हुन नसक्ने मेरो ठहर छ ।
समतामूलक समाजको निर्माणका लागी एक आपसमा हातेमालो हुनु जरुरी छ । सर्पलाई हामी हाम्रो शत्रुको रुपमा बुझ्छौ र हेर्छौ पनि । तर, सर्पमा पनि कोहि त अति बिषालु (जसको टोकाईले हामी ठहरै मछौँ ) र कोही पानी सर्प (जस्को टोकाईले हामिलाई खासै असर पर्दैन) हुन्छन् । त्यस्तै गैर दलितहरुमा पनि कोही जातीय विभेदलाई अन्त्य गर्ने सवालमा सहयोगी छन् भने कोहि हामी दलित भित्र पनि ब्राम्हणवादी चिन्तनमा जेलिएका यो परम्परा कायम राख्न सक्रिय छन् । उनीहरु आफूलाई सधैँ दलित नेता बनाउन चाहन्छन् र दलितहरुलाई आफनो हैकममा राख्न चाहन्छन् जो अहिलेको कम्प्युटर युगमा त्यो उनीहरुको दिवा सपना मात्र हो ।
दलित संघ संस्थाहरु जातीय छुवाछुत हटाउन सक्रिय छन् । तर पनि दलितहरुमाथिको पासविक एवं घृणित व्यवहार हट्न नसकेको घटना हामिले देख्दै, सुन्दै र भोग्दै आएका छौँ । कुटपिटको साथै दिसा खुवाउने चलन पनि हट्न सकेको छैन ।
हामिमा रहेको हीनताबोध पनि हामीमाथि अन्याय पुर्याउने एक तत्व हो । शिक्षित दलित युवाहरुमा पनि आफनो जात ढाँट्ने क्रम कायमै छ । जातीय छुवाछुतको अन्त्यका लागी शिक्षाको साथै चेतना अभिबृद्धि हुनु पनि जरुरी छ । यसको मतलव डिग्री वा पि.एच.डी. गर्ने दलितहरुमा मात्र चेतनशील हुन्छन् र उनीहरुमा मात्र आत्मबल हुन्छ भन्नेतर्फ म सहमत छैन ।
हाम्रो देशका विभिन्न जिल्लाका मा.वि. का शिक्षकदेखी क्याम्पस प्रमुख एवं उच्च ओहोदाका हामी दलित शिक्षितहरुमा पनि चेतनाको स्तर न्युन रहेको कुरा उनीहरुबाट आफनो गाउँघरमा गरिने संकोचपूर्ण व्यवहार र हाउभाउबाट स्पष्ट हुन्छ । शैक्षिक स्तर न्युन रहेको एक दलितले पनि आफूमा हीनताबोध महशुस नगरी समाजमा प्रतिष्ठित एवं सम्मानित जीवन विताईरहेको दृष्टान्त हामीले नभेटेका होईनौँ ।
मानिसहरुलाई प्रतिष्ठित र सम्मानित बनाउने मानिसको व्यवहार नै हो, जात होईन । अनपढ दलित मित्रहरुको त कुनै पर छाडौँ, शिक्षित वर्गमा गनिने दलित समुदायका साथीहरुले हाम्रा घरपरिवार र आफना व्यक्तिगत आचरण र व्यवहारमा कत्तिको सुधार ल्याउन सकेका छौँ वा छैनौँ एकपटक त्यसतर्फ पनि सोच्नुपर्ने होईन र ?
जाँड रक्सी खाएर सुंगुरसरह लड्ने एक ब्राम्हणलाई र नैतिकतामा रही आफुलाई समाजमा उभ्याउने एक दलितलाई ब्राम्हण समाजले नै हेर्ने दृष्टिकोण कस्तो हुन्छ होला त ? पक्कै पनि त्यो दलितलाई हेर्ने दृष्टिकोण सकारात्मक र ब्राम्हणलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको हुनुपर्छ र हुन्छ पनि ।
समाजमा शिक्षित दलित युवाहरुले आफनो थर राख्ने अधिकार बताउँदै नामको पछाडी थर राख्ने गरेको हामी पाउँछौ । जुनसुकै सोंचले नामको पछाडी आफनो थर लेखेपनि त्यसले समाजमा खासै सकारात्मक सन्देश दिन नसकेको तथ्य भाडाको कोठामा डेरा गरी बस्ने दलित साथीहरुले घरबेटीले जात थाहा पाएको लगतै कोठा छाड्नुपर्ने स्थिति आई कोठा छाडेका र सम्मान दिइरहेका आफना साथिभाईहरु तथा अन्य व्यक्तिहरुबाट समेत सम्मान गुमाउनुपरेका कतिपय घटनाहरु हाम्रा आँखा अगाडी छन् । त्यत्तिमात्र होइन थर लेख्ने, लेखाउने प्रक्रियाले दलित तथ्यांकमा दलितहरुको संख्या पनि घटेको पाइएको छ, जुन कहाँसम्म उचित हो ?
महाककवि देवकोटाले भनाईलाई मनन् गरेर आफना परिवारलाई शिक्षित बनाउँदै हामीमा रहेको सीप र कलालाई आधुनिकतामा ढाल्दै आत्मबलका साथ अगाडी बढ्न सक्यौँ भने जातीय छुवाछुत हटाउने हाम्रो उच्चतम अभियानमा गैर दलित समुदायका मित्रहरुबाट पनि सक्दो सहयोग पुग्ने कुरामा म विश्वस्थ छु ।
हामी दलित होइनौ मानिस हौँ । मानिसमा ठूलो सानो कोही हुँदैन । भन्ने विश्वास हामीमा हुनुपर्छ । इमान्दारी एवं दुढतापूर्वक आफूमा रहेको प्रतिभालाई गाउाशहर र देशविदेश पुर्याउन लागीपयौँ भने हामी कुनैपनि हालतमा पछि पर्ने छैनौँ । हाम्रो कर्तव्य र व्यवहार देखेर गैर दलितहरुमा पनि दलितहरुमाथि उनीहरुबाट भए गरेको अमानवीय व्यवहारप्रति आत्मगलानी हुनेछ र हाम्रो जातीय मुक्तीको आन्दोलनमा सहभागी हुनुपर्ने छ । यसमा कुनै शंका छैन ।
अन्त्यमा अव बन्ने संविधानमा दलितहरुको माग अथवा आरक्षण समावेशी समानुपातिक सहभागीताको सुनिश्चित हुनुपर्छ र जुन देशमा सबै वर्ग, जात र समुदायमा समान अधिकार प्राप्त भएको ती वर्गहरुले अनुभव गर्न पाउनु पर्छ । अनि मात्र त्यो देशमा विकास सुरु हुन्छ र समस्याहरु समाधान हुन्छन ।
(लेखक नेपाल दलित संघका केन्द्रीय सदस्य एबं कृषि तथा सहकारी बिभागका प्रमुख हुनुहुन्छ ।)
लम्जुङ्ग आबाज बाट
No comments:
Post a Comment