उभिएको देख्छु,
एक शीरबिहिन आकृति
र देख्छु,
तरवारमा टल्किएको
तिम्रो अनुहार
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।
एउटा अनुहार तिमी
मानव बंशवृक्षकै
एउटा अनुहार म पानि
हेर त
उस्तै लाम्चो नाक
उस्तै उस्तै आँखा
आँखामा उस्तै सपना
अनि उस्तै उस्तै बनोट
आखिर किन
बेद पढ्न हुदैन शुद्रले ?
आखिर किन
बेद सुन्न हुदैन शुद्रले ?
आखिर किन
जीवन हुँदैन शुद्रको ?
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।
गुरु द्रोर्णचार्यको कमण्डलुको पिंधबाट
तप तप तप्किरहेको
एकलब्यको आलो रगतले
आखिर कहिलेसम्म
गाइरहन सक्छ
गुरुभक्तिको गीत
आखिर कहिले सम्म …..
औँला रेटिरहन्छन् एकलब्यहरु
र प्रथम घोसित भइरहन्छन् अर्जुनहरु
हो ! राम
म उही शुद्र शम्बुक
नियाली रहेछु
मेरा पुर्खाका मलिन अनुहारहरु ।
झुट नै सही
मानौं तिम्रा पुर्खाहरु
मुखबाटै जन्मिएछन् रे
मेरा पुर्खाहरु
पाउबाटै जन्मिएछन् रे
तर अफसोच
तिम्री आमा र मेरी आमाको
उस्तै अङ्गबाट जन्मिएका हामी
आखिर किन
तिमि जस्तै म अछुत
र म जस्तै तिमी छुत
हो ! राम
म उही शुद्र शम्बुक
तिम्रो रामराज्यको
एक अछुत ।
ब्याँसी –०६ बझाङ्
No comments:
Post a Comment