दलमर्दन कामीलाई आर्थिक सहयोग गरिदिन अपिल

विभेद बिरुद्ध अभियान, असार १७। जातीय विभेद, धार्मिक विभेद लगायतका उत्पीडनलाई सहन नसकेर भूमिगत आन्दोलनको नेतृत्व देखि नयाँ शक्ति  (नयाँ पार्टी) निर्माण अभियानमा निरन्तर लागेका दलमर्दन कामीको स्वास्थ्य अवस्था गम्भीर भएकाले सहयोगको सार्वजनिक अपिल गरिएको छ ।‘दलमर्दन कामी बचाऔँ’ अभियान चलाउँदै पत्रकार र स्थानीय नागरिकहरुले उनको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् । विज्ञप्तिमा सीमान्तकृत उत्पीडितको अधिकारका लागि दशकौँदेखि लडिरहेका दलमर्दन कामी विगत केही समयदेखि गम्भीर रुपमा अस्वस्थ भएको उल्लेख गरिएको छ ।
‘चिकित्सकको भनाइ अनुसार कामीको मुटुमा प्वाल परेको छ र, तुरुन्तै उक्त प्वाललाई नटाल्ने हो भने अझै बढी गम्भीर समस्या देखिने छ । जीवन समेत जान सक्ने सम्भावना छ ।’ विज्ञप्तिमा भनिएको छ ।‘एक निश्पक्ष, इमान्दार, जुझारु व्यक्तित्वलाई हामीले गुमाउनु भनेको उत्पीडितहरुको आन्दोलनको एउटा नेतृत्वलाई गुमाउनु हो’ भन्दै विज्ञप्तिमा चिकित्सकको भनाइ उद्धृत गर्दै करिब ७ लाख रुपैयाँ मुटुको शल्यक्रियामा लाग्ने बताइएको छ ।
जीवनभर निरन्तर रुपमा आन्दोलनमा समर्पित भएर काम गरेको हुँदा कामीको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सबैलाई सहयोग गर्न भनिएको छ । अपिलमा सम्पूर्ण नागरिक समाज, अधिकारकर्मी, पत्रकार र सर्वसाधारणलाई आर्थिक सहयोगको उपलब्ध गराउने वातावरण तयार गरिदिन हुन अनुरोध गरिएको छ । सहयोगका लागि कमलादेवी हेमचुरी (९८०२६५६७८९)काठमाडौँ, देउप्रसाद लिम्बू ( ९८५१०५८३९५) ललितपुर र नवराज विष्ट (९८४२०८३५२६) ललितपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

No comments:

Post a Comment