२४ असार- विभेद बिरुद्ध अभियान - ००३ सालमा बिपीले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा पनि समावेशितालाई ध्यान पुर्याउनुभएको थियो । राष्ट्रिय कांग्रेसमा देवव्रत परियार संस्थापक सदस्य हुनुहुन्थ्यो । त्यस्तै, सुवर्ण शमशेरले नेतृत्व गरेको नेपाल प्रजातन्त्र कांग्रेस (२००५)मा पनि आरबी गहतराज विश्वकर्मा संस्थापक सदस्य हुनुहुन्थ्यो । यी दुवै पार्टी मिलेर ००६ सालमा नेपाली कांग्रेस निर्माण भयो । पार्टी स्थापनादेखि नै बिपी र सुवर्णले कांग्रेसलाई समावेशी बनाउनुपर्छ, सबै जातजातिको पार्टी बनाउनुपर्छ, सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व गराउनुपर्छ भन्नुभयो । ००७ सालको परिवर्तन कांग्रेसकै बलमा सम्भव भयो । ००९ सालमा जनकपुरमा आयोजित कांग्रेसको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट बिपी कोइराला सभापतिमा निर्वाचित भएपछि धनमानसिंह परियार कांग्रेस महामन्त्री बन्नुभयो । त्यतिखेर उपसभापति थिएनन्, सभापतिपछिका सिनियर महामन्त्री नै थिए । कांग्रेसले स्थापनादेखि नै समावेशितालाई ध्यान दियो । दलितलाई पार्टीमा आकर्षित गर्ने र दलितका मुद्दामा संवेदनशील हुँदै जातीय भेदभाव अन्त्य गर्ने नीति कांग्रेसले लियो । ०४६ को परिवर्तनपछि कांग्रेसले राजनीतिक मुद्दासँगै आर्थिक र सामाजिक मुद्दालाई उठाएको छ । दलितका विषयमा कांग्रेसले मात्र इतिहास बनाउन सफल भएको छ । पञ्चायतकालमा राजाले केही दलित नेतालाई पनि मन्त्री बनाए, तर त्यो देखावटी मात्र थियो । ०४८ को आमनिर्वाचनमा दुई सय पाँच क्षेत्रमध्ये पहिलो जननिर्वाचित दलित सांसदका रूपमा कृष्णसिंह परियारलाई बाँके— ३ बाट कांग्रेसले प्रतिनिधिसभा पुर्याएको थियो । ०४९ को स्थानीय निकाय निर्वाचनमा ७५ जिल्लामध्ये उदयपुरमा हरिशंकर परियारलाई जिविस सभापति बनाइएको थियो । यो कुनै पनि पार्टीको इतिहासमा अहिलेसम्म पाइँदैन । ०४६ र ०६२/६३ सालमा राजनीतिक परिवर्तन त भयो, तर समाजका कुरीति हटाउन जुन खालका सुधार र परिवर्तन हुनुपर्ने हो, त्यो भएको छैन । परम्परादेखि चलिआएका संस्कार रातारात परिवर्तन गर्न सम्भव छैन । राज्यबाटै जातपात र छुवाछुत गर्दै आएको पाइन्छ । १९१० को मुलुकी ऐन राणाकालमा सुरु भयो । अझै यसलाई देशको लिखित कानुनका रूपमा लिइन्छ । मुलुकी ऐनमै एक जातिले अर्को जातिमाथि छुवाछुत गर्ने छुट दिइयो । नेपालको राजनीतिक इतिहासमा जयस्थिति मल्लको पालादेखि नै जातपात र वर्णाश्रमजन्य व्यवस्था सुरु भएको देखिन्छ । भनिन्छ, वेदमा कुनै पनि छुवाछुतको व्यवस्था छैन । तर, धर्ममा भने केही न केही जोडिएका छन् । मन्दिर बनाउँछ, विश्वकर्माले । मन्दिरलाई सिँगार्ने काम परियारबाट हुन्छ । सरसफाइ अर्को दलितले गर्छ । तर, बनिसकेपछि समाजका यिनै श्रमिकलाई मन्दिर प्रवेश गर्नबाट वञ्चित गरिन्छ । गाउँमा विश्वकर्माले घर बनाउँछ, तर उसैले बनाएको घरमा उसलाई प्रवेश दिइँदैन । सामाजिक परम्पराका विवाह, व्रतबन्ध, भोजभतेर हुँदा दलितले अन्य जातजातिसँगै बसेर खान पाउँदैन । त्यसकारण सामाजिक कुरीति र कुसंस्कारविरुद्ध कांग्रेसले विकृति हटाउन अभियान सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ । राज्यका निकायमा संख्याले दलितको प्रतिनिधित्व छ । तर, संख्याले मात्र पुगेन । व्यवहारमा पनि परिवर्तनको खाँचो छ ।
यस्तो मानवीय विकृति हटाउन राज्यले नै जिम्मेवारी लिनुपर्छ । राज्य सञ्चालकले यसको जिम्मेवारी लिनुपर्छ । त्यसपछि राजनीतिक पार्टीहरू, समाजका प्रबुद्ध व्यक्ति, बुद्धिजीवीहरू सबै यस्ता विकृतिविरुद्ध लाग्नुपर्छ । यो दलितको मात्रै समस्या हो भनेर हेर्ने गरिन्छ । राज्यको समस्या हो भनेर हेरिँदैन । त्यसैले समस्या त्यहीँ छ । यसलाई राज्यकै कुरीति र कुसंस्कारका रूपमा किन नलिने ? यो नितान्त दलितको मात्र समस्या होइन । यो सम्पूर्ण नेपाली जनताको समस्या हो । सबैले हातेमालो गरेर यसको समाधानमा लाग्नुपर्छ । संख्यात्मक रूपले हामी पार्टीभित्र विभिन्न जिम्मेवारीमा बसेर मात्र दलितमुक्ति सम्भव छैन । तर, पार्टीभित्रै पनि कसरी अभियानका रूपमा सञ्चालन गर्ने भनेर दबाब दिनै पनि संख्याको आवश्यकता पर्छ । केन्द्रीय कार्यसमिति, जिल्ला, क्षेत्रमा हाम्रो उपस्थिति हुँदैनथ्यो भने हामी यी कुरा उठाउन पाउँदैनथ्यौँ ।
अहिले कम्तीमा यी कुरा उठाउन संख्याकै कारण सहज भएको छ । त्यस्तै, कांग्रेसको भातृसंगठन दलित संघ छ, दलित विभाग छ, यसमा पनि आवाज उठाइरहेका छौँ । हामीले संसद्मै पनि आवाज उठाइरहेका छौँ । जातीय भेदभाव, छुवाछुत, कसुर र सजाय ऐन २०६८ पारित भइसकेको छ । अन्य आवश्यक कानुन पनि बनाउनुपर्छ भनेर हामी लगिरहेका छौँ । संख्या मात्र ठूलो होइन, सुधार ठूलो र प्राथमिक विषय हो । १२औँ महाधिवेशनमा हाम्रो पार्टीले नीति–कार्यक्रममा केही विषयमा अभियान सुरु गरेको थियो । विगतमा गरेको नीति–कार्यक्रमको अभ्यास जुन ढंगले हुनुपथ्र्यो, त्यो हुन सकेन ।
यसबारे समीक्षा गर्दै हामीले अघि सारेका सकारात्मक अभियानलाई १३औँ महाधिवेशनबाट पनि निरन्तरता दिनुपर्छ । सामाजिक परिवर्तन, विभेदको अन्त्य, दलित समुदायलाई अन्य समुदायको हाराहारी पुर्याउनका लागि कस्तो खालको कार्यक्रम ल्याउन जरुरी छ भन्नेबारे हामी छलफलकै क्रममा छौँ ।
(परियार कांग्रेस केन्द्रीय सदस्य हुन्)नया पत्रिका बाट
No comments:
Post a Comment