बझाङका बादीको पीडा : ओढ्ने ओच्छ्याउने कपडा त सपनाकै कुरा

डिवि विष्ट,बझाङ, विभेद बिरुद्ध अभियान- साउन  – बझाङमा रहेका बादी परिवार मध्ये धेरैसँग ओढ्ने ओच्छ्याउने लुगा समेत छैन । ओढ्ने ओच्छ्याउन कपडा नभएका कारण बिस्कुट र चाउचाउका कार्टुन च्यातेर बिस्तारा बनाउने गरेको खोली थलारा की पारु बादीले बताउनुभयो । ससाना ७ वटा टहरामा रहेका १४ वटा कोठामा एक सय ६० जना बस्नु परेकोे र पानी पर्दा चुहिएर समस्या हुने गरेको उहाँले बताउनभुयो ।
‘बिहान बेलुकाको छाक जोह गर्नै समस्या छ, ओढ्ने ओच्छ्याउने कपडा त सपनाकै कुरा भयो ।’ अमृता बादीले आँखा भरी आँसु पार्दै भन्नुभयो । उहाँको श्रीमानको निधन भएको एक वर्ष भयो । ‘तीन केटाकेटी छन्, कसरी पाल्ने, आफ्नो घर छैन ? माइती घरमा बस्नु परेको छ । खानका लागि विकल्प केही छैन, मागेरै खानु पर्ने ।’ उहाँले भन्नुभयो ‘साथमा तीन महिनाको बच्चा छ, माग्न जाँदा यो बच्चालाई कसको साथमा राख्ने ? मरुँ भने मर्न सक्दिन, केटाकेटीलाई सम्झन्छु ।’ यहाँ रहेका बादीका घरमा ढोका पनि छैन । शरीरमा लगाएको कपडा निकालेर ढोका बनाउनु पर्ने बाध्यता रहेको ६५ वर्षकी सेतु बादीले बताउनुभयो ।
वर्षाले बादीको विचल्ली

पानी नपरेको दिन त जसोतसो रात कट्छ । जब आकाशमा बादल मडारिन्छ, यहाँका बादीको मनमा पनि हुन्डरी चल्छ । ‘कति टाल्नु, यता टाल्यो उताबाट चुहिन्छ उता पनि टाल्यो अर्काे ठाँउमा चुहिन्छ’ कोटभैरव गाविसकी पुनी बादीले भन्नुभयो ‘केटाकेटी भिजेर रातभरी रुन्छन् । उनीहरु रोएको देख्दा आकाशे झरी भन्दा ठूलो झरी पर्छ मेरै आँखाबाट ।’ कसैका घर सद्दे छैनन् । छाना टुटेफुटेका सिलेट र ससाना पलाष्टिकका टुक्रालाई ढुङ्गाले च्यापेर बनाइएका छन् । भिरको डिलमा बनाइएका उनीहरुका टहरा भत्किन लागेका खण्डहर जस्ता देखिन्छन् । छानोबाट चुहिएको पानीले भित्ताहरु ढाडिएका छन् ।
जीवन बादीले भत्किन लागेको आफ्नो घरको छानो देखाउँदै भन्नुभयो ‘दुई वटा खाँबो भाच्चि सकेको छ । टेको दिएर अड्याएका छौं । कतिबेला भत्किएर सबै एकै चिहान हुनेहो थाहा छैन ।’ माटोका भाँडा बनाएर र नाचगान गरेर गुजारा गरिरहेका बादीहरुको पेशा आधुनिकताका कारण लोप भैसकेका छन । खेतीपाती गर्नका लागी आफ्नो जग्गा जमिन नभएका यो समुदायका मानिसहरु मागेरै गुजरा गरिरहेका छन् ।
`उज्यालो 

No comments:

Post a Comment