यस्तो विद्यालय छ जहाँ दलितका छोराछोरी मात्रै पढ्छन्

बैतडी,२७  असार, विभेद बिरुद्ध अभियान –बैतडीमा एउटा यस्तो विद्यालय छ जहाँ दलितका छोराछोरी मात्रै पढ्छन् । न्वाली गाविस– ३ मा रहेको खोदमनाथ प्राविका सबै विद्यार्थी दलित समुदायका छन्। विद्यार्थीमात्रै होइन, शिक्षकपनि दलित समुदायकै छन्। ३ कक्षासम्म पढाई हुने  सो विद्यालयमा ९७ जना विद्यार्थी अध्ययनरत छन्। स्थानीय दलित समुदायले विद्यालय स्थापना गरेकोले गाँउमा अन्य जातिका मानिसको बसोबास भएपनि उनीहरुका बालबालिका सोे बिद्यालयमा अध्ययन गर्दैनन्। सतबाँज–दार्चुला सडकखण्ड महाकाली लोकमार्गमै पर्ने  सो विद्यालय २०६५ मा स्थापना भएको हो। सार्की समुदायका अधिकांश बालबालिका मुक्तहलिया परिवारका हुन्। आर्थिक अवस्था कमजोर भएका गाँउ नजिक विद्यालय नहुदाँ शैक्षिकरुपमा पछाडि रहेको समुदायले गाँउमै विद्यालय स्थापना गरेका हुन्।गाविसका वडा नम्बर ३ र ४ कादलित समुदायकामात्रै बालबालिका यो बिद्यालयमा पढ्छन्। करिव एक सयभन्दा बढी दलित परिवारको बस्ती रहेको गाँउका दलित बालबालिका  सोही विद्यालयमा अध्ययन गर्ने गरेका छन्।दलितहरुले नै बिद्यालयको सुरुवात गरेकाले गैरदलितका बालबालिका पढन नआएको विद्यालयले जनाएको छ।

विद्यालयको अवस्था समेत नाजुक छ। तीनजना शिक्षक मध्ये प्रअ करवीर राम सार्कीमात्रै राहत शिक्षक हुन्। दुई शिक्षिका कमला भुल र भागा भुल निजी स्रोतका शिक्षक हुन्। ६ महिनादेखि कार्यरत निजी स्रोतका दुवै शिक्षिकाले तलवको नाममा एक पैसा पाएका छैनन्।विद्यालयमा विद्यार्थीहरुलाई उभिन ठाँउसम्म नहुदाँ विहानको प्रार्थना नगरिकनै कक्षा शुरु हुने गरेको छ। विद्यालयमा चौर नहुँदा प्रार्थना नगरी कक्षा संचालन गर्नु पर्ने बाध्यता रहेको प्रजिअ सार्कीले बताए।
भिरालो जमिनमा विद्यालय भवन भएकाले कक्षा कोठाबाट बाहिर निस्कँदा धेरै विद्यार्थी चिप्लेर लड्ने गरेको शिक्षकहरुले बताएका छन्। दलित समुदायको बाहुल्य रहेको गाँउकै स्थानीयले पौने १ रोपनी जमिन दिएपछि जिल्ला शिक्षा कार्यालयले दुई कोठे भवन निर्माण गरेको हो। भवन निर्माणका लागि साढे ६ लाख रकम शिक्षाले पाएपछि कोठाको साईज घटाएर तीन कोठा निर्माण गरी विद्यालय संचालन गरिएको प्रअ सार्कीले जानकारी दिए । विद्यालयमा अफिस कोठासमेत छैन।  कक्षा कोठामै अफिस संचालन गरिएको प्रअ सार्कीले बताए।

विद्यालयमा प्रयाप्त दरबन्दी नहुदाँ पढाईको स्तरसमेत कमजोर छ ।प्रअ सार्कीले भने,‘निजी स्रोतका शिक्षक तलव नपाएर कतिबेला छोडने हुन, विद्यालय व्यवस्थापन समिति चिन्तित छ।’ शिक्षा कार्यालयबाट पिससिएफ फण्डको केही रकम दिए निजी स्रोतका शिक्षकलाई सजिलो हुने उनले बताए । ‘पहुचँ पुगेका विद्यालयमा दरबन्दी पनि छ, अन्य सुविधा पनि छ तर हाम्रो पहुचँ नपुग्दा विद्यालयको अवस्था दयनीय छ’, प्रअ सार्कीले दुखेसो गरे । विद्यालयमा पानीको सुविधा नहुदाँ दिसा पिसावकालागि विद्यार्थी सडक छेउ, झाँडीमा जाने गरेका छन्। बोकेर पानी ल्याउनपर्ने बाध्यताले शौचालय प्रयोगमा नआएको विद्यालयले जनाएको छ । 

No comments:

Post a Comment