छुवाछुत,विभेद र हिंसाविरुद्ध महिलाले सुरु गरे मेची महाकाली पदयात्रा

लक्ष्मी गौतम- पाँचथर, २० असार ,विभेद बिरुद्ध अभियान। सुदूरपुर्वको ताप्लेजुङ जिल्लावाट चारजना महिलाले नेपाल शान्ति पदयात्रा शुरु गरेका छन् । महिला हिंसा, जातिय छुवाछुत तथा सामाजिक विभेदविरुद्ध सचेतना जगाउन यात्रा सुरु गरिएको अभियन्ताहरूले बताएका छन् । हिमाल पहाड र तराइमा हालै देखिएको असहज स्थितिलाई सहजिकरण गर्न र सामाजिक सद्भावको सन्देश दिन यो अभियान शुरु गरिएकोे आयोजक जनजागरण प्रतिष्ठान नेपालकी अध्यक्ष तथा पदयात्री रेनुका खतिवडाले जानकारी दिनुभयो ।
असार ११ गते ताप्लेजुङवाट शुरु भएको अभियानका अभियन्ता  १८ गते पाँचथरको फिदिम हुँदै इलामतर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई पाँचथर सदरमुकाम फिदिममा सहायक प्रमूख जिल्ला अधिकारी केशवप्रसाद रिजालसहित  विभिन्न संस्थाले स्वागत र विदाई गरेका थिए ।पदयात्रीहरूको बिदाई गर्दै सहायक प्रमूख जिला अधिकारी रिजालले यात्रा सफलताको कामना सहित धन्यवाद  दिनुभएको महिला खबरमा खवर छ ।पदयात्रामा रेनुका खतिवडा, रेविका कार्की, सीमा गुरुङ र गीताकुमारी चौधरी सहभागी छन ।
पदयात्राका क्रममा विभिन्न जिल्लाका सदरमुकाममा  सरोकारवालासँग महिलाले विश्वमा  गरेका सफल कामको उदाहरण दिँदै नेपालका महिलाले पनि अवसर पाए गर्न सक्छन भन्ने सन्देश दिने खतिवडाले वताउनुभयो ।नेपालमा धेरै महिला घर गृहस्थमा व्यस्त रहनुका साथै हिंसा र पीडा लुकाउन वाध्य भएकाले यस्ता महिलालाई बाहिर निस्कन सन्देश दिने पनि उनको भनाई छ । अभियान तीनवर्ष भित्र पुरा गर्ने लक्ष्य रहेको उनीहरूले वताएका छन् ।

No comments:

Post a Comment