डडेल्धुराको सदरमुकाममा दलित विद्यार्थीलाई कोठा भाडामा पाउनै मुश्किल

गणेश ठगुन्ना, डडेल्धुरा, साउन ६, विभेद विरुद्ध अभियान  । डडेल्धुराको सदरमुकाममा दलित विद्यार्थीलाई कोठा भाडामा पाउनै मुश्किल पर्ने गरेको छ । सदरमुकाम खलंगाको बागबजार, तुफान डाँडा, तल्लो खलंगा, मल्लो खलंगा क्षेत्रमा कोठा खोज्न जाने दलित समुदायका विद्यार्थीहरुले कोठा नपाउने गरेका हुन् ।

पढाइका लागि गाउँबाट आएका तथा अन्य जिल्लाबाट आएका विद्यार्थीले कोठा खोजेर बस्नु पर्ने बाध्यता रहेको अवस्थामा कोठा खोज्न आउनेलाई घरधनीले जात सोध्ने गरेका छन् ।
छिमेकी जिल्ला डोटीबाट पढ्नको लागि डडेल्धुरा सदमुकाम पुगेका एक दलित समुदायका विद्यार्थीले केही दिनदेखि भाडामा कोठा खोजिरहेका छन् । तर उनले अहिलेसम्म पनि कोठा पाउन सकेका छैनन् ।
डोटीको सिलगढीबाट डडेल्धुरामा प्राविधक शिक्षा अध्ययनका लागि पुगेका नागेन्द्र विकले कोठा खोज्दै गरेको धेरै दिन बितेको छ । तर अहिलेसम्म पनि नागेन्द्रले कोठा पाएका छैनन् ।
नागेन्द्रले धेरै ठाउँमा भाडामा बस्नको लागि कोठा खोजेको भएपनि घरधनीले आफूलाई जात सोधेर कोठा नदिने गरेको बताए । दलित भन्ने थाहा पाउने बित्तिकै कोठा छैन भन्ने गरेको नागेन्द्रको भनाई छ । 
सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा सबैभन्दा विकसित जिल्लाको रुपमा रहेको डडेल्धुरा सदरमुकामका बासिन्दा अझैँ सचेत नभएको भन्दै उहाँले गुनासो गर्नुभयो ।
दलित अधिकारको क्षेत्रमा जिल्लामा काम गर्ने थुप्रै संघसंस्था भएपनि सदरमुकाम जस्तो क्षेत्र अझैँ परिवर्तन नहुनु दुःखद रहेको उहाँको भनाई छ ।

No comments:

Post a Comment