गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि

विभेद बिरुद्ध अभियान , असार २२ । जनकपुर उपमहानगरपालिका १८ भोइल गाउँमा गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग गरेको भन्दै एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ ।
गैरदलित धानुक बहुसंख्यक र दलित खत्बे अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको गाउँका रामअवतार मण्डलकी नातिनी कक्षा ७ मा पढ्ने छोटी मण्डल सोही गाउँका खत्बे जातिका केटोसँग विद्यालयबाटै सोमबार भागेपछि साथीमाथि निर्घात कुटपिट भएको हो ।
प्रेम सम्बन्धमा रहेको र परिवारले विवाहका लागि मञ्जुरी नदिने डरले उनीहरु भागेको स्थानीयले बताए । तर, साथी भगाउन सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत भनु मण्डल खत्बेकी छोरी १४ बर्षीया काजलले सहयोग गरेको भन्दै कुटपिट गरिएको हो ।
काजललाई साथी भगाएको भन्दै घरबाट निकालेर सार्वजनिक दलानमा लगेर निर्घाट कुटपिट गरिएको छ । गाउँकै धानुक समुदायका जितेन मण्डल, नितेश मण्डल र रामह्दय पण्डित र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि लात्ति र मुक्काले निर्घात कुटपिट गरेको काजलकी आमा भगवती मण्डलले बताइन् । समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
भगवतीले श्रीमान घर नभएकाले गाउँका युवाले आफ्नी छोरीमाथि कुटपिट गरेको गुनासो गरिन् । भगवतीका श्रीमान् वैदेशिक रोजगारका लागि कतार पुगेका छन् ।
गाउँका युवाले मध्यरातमा समेत आमा छोरीलाई मार्ने धम्की दिएपछि छिमेकीको घरमा लुकेर ज्यान बचाएको भगवतीले बताइन् ।
सोमबार राती छिमेकमा लुकेर बसेर मंगलबार विहान घर पुग्दा पुन युवाले कुटपिट गरेका छन् । युवाले काजलका दुवै हात उल्टो पारेर रस्सीले बाँधेर भागेकी साथीको जानकारी नदिए मार्ने धम्की दिएको भगवतीले बताइन् ।
बाँधेर भागेका केटाकेटीको विषयमा जानकारी नदिए बाँच्न नदिने धम्की दिएको  पीडित किशोरीका कान्छो भाइ सन्तोष मण्डलले बताए ।
दिदीमाथि भएको दुव्र्यवहारको फोटो मोबाइलमा खिचेर कपिलेश्वर प्रहरी चौकीमा देखाउँदै मद्दत माग्दा प्रहरीले कुनै सुनुवाई नगरेको गुनासो सन्तोषले गरे । प्रहरीलाई उद्धृत गर्दै सन्तोषले भने, ‘कुटपिट भइरहेका फोटोहरु राम्ररी खिचेर ल्याऊ अनि मात्र दिदीलाई बचाउन जान्छौँ’ भनेर प्रहरीले फर्काए ।
घटनाको विषयमा महिला अधिकारकर्मी मुन्नी दासलाई सोही गाउँका दलित युवाले फोन सम्पर्क गरी जानकारी गराएपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषामा मौखिक उजुरी दिएको र त्यसपछि प्रहरीको टोलीले घटनास्थलमा पुगेर काजलको उद्दार गरेको छ ।
प्रहरी टोली गाउँ पुग्ने बित्तिकै कुटपिट गर्ने युवा फरार भएको अधिकारकर्मी दासले बताइन् । कुटपिटबाट अचेत भएकी काजलको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ— समाचारमा भनिएको छ ।

No comments:

Post a Comment