दलित समुदाय रहेको कातिके टोलमा अक्षर चिन्ने र लेख्ने कक्षा सञ्चालन भए

भोजपुर, २७  असार, विभेद बिरुद्ध अभियान  – भोजपुरको बालंखा–८ कातिके टोलका ४० वर्षका बलबहादुर विकले अहिले अक्षर चिन्न थाल्नुभएको छ । दिनभरी घरको काम गरेर बेलुका बलबहादुर पढ्न जानुहुन्छ । बाल्यकालमा पढ्न नपाए पनि अहिले अक्षर चिन्ने भएकोमा उहाँ खुसी हुनुहुन्छ ।धेरै ठाउँमा हस्ताक्षर पनि गर्न नसकेर औँठा छाप लगाउनु पर्ने भएपछि आफूले नामसम्म लेख्न सक्ने बन्न मनलागेर पढ्न थालेको उहाँले बताउनुभयो । बलबहादुरजस्तै केटाकेटीमा पढन नपाएका चन्द्रबहादुर विश्वकर्मा पनि अहिले आएर नाम लेख्न सक्ने हुनुभएको छ ।
२७ वर्षका उहाँले अहिले सबै अक्षर चिन्नुहुन्छ । गरिबीका कारण पढन नपाएर निरक्षर बनेका बालंखा–८ कातिके टोलका दलित समुदाय व्यक्ति सामुदायिक संस्थामा आवद्ध भएर आफै प्रौढ शिक्षा सञ्चालन गरेका छन् । प्रौढ शिक्षामा २५ जना नियमित जान्छन् ।दिउँसो काम हुने भएकाले बेलुकी खाना खाएर ८ बजेदेखि १० बजेसम्म पढाउने गरेको सहजकर्ता जीवनकुमारी राई तामाङले बताउनुभयो । ‘पढन लेख्न नजान्दा समाजले हेप्ने, कुनै बैठक तालिम गोष्ठीमा गएपछि औँठा छाप लगाउनु पर्ने बाध्यताले समय निकालेर पढन थालेको अर्की सहभागी ३४ वर्षकी लक्ष्मी विकले बताउनुभयो । 
‘सानोमा अभिभावकले पढन विद्यालय पठाएनन्, त्यतिबेला पढनुपर्छ भन्ने कुनै ज्ञान पनि थिएन’ लक्ष्मीले भन्नुभयो ‘अहिले पढ्नुपर्छ भन्ने कुरा थाहा पाएपछि आफू अक्षर चिनिरहेकी छु ।’ दलित समुदाय रहेको कातिके टोलमा अक्षर चिन्ने र लेख्ने कक्षा सञ्चालन भएका छन् ।
कक्षामा २५ वर्ष भन्दा माथिका महिला पुरुषहरु रहेका छन् । कक्षामा अक्षर चिन्न मात्र नभई व्यवहारिक ज्ञानका बिषयमा समेत छलफल गर्ने गरेको सहजकर्ता जीवनकुमारीको भनाई छ । कक्षामा कखरा चिन्न र लेख्न मात्र नभई महिला अधिकार, घरेलु हिंसा, महिला स्वास्थ्य, यौनरोग, गर्भवती महिलामा देखिने समस्यादेखि स्वास्थ्यका विभिन्न समस्याको बारेमा छलफल र परामर्श हुने गरेको छ ।
आफूहरु अक्षर चिन्न मात्र नभई आफ्नो हक अधिकार, समाज परिवर्तनको सवाल, निर्णय तहमा दलित र महिलाहरुको सहभागिताको बारेमा समेत जानकारी लिईरहेको ३५ वर्षकी अनिषा विकले बताउनुभयो । सामूहिक अभियान भोजपुर अन्तर्गत सञ्चालन भएको गरिबी निवारण कार्यक्रमद्धारा गठित चन्द्रकला सामुदायिक संस्थामा आवद्ध भएपछि संस्था चलाउन समस्या भएपछि समूहमा आबद्ध सदस्यले पढन थालेका हुन् ।
अक्षर चिनेर लेख्न थालेपछि उनीहरु नियमित रुपमा बैठकको माइन्युट लेख्ने र संस्थाको हरहिसाब समेत आफै राख्न थालेका छन् । संस्थामा आवद्ध भएपछि सुरुको समयमा बैठकको माइन्युट लेख्न समेत अरुलाई गुहार्नुपर्नेमा उनीहरुले नाम समेत लेख्न नजानेर आँैठा छाप लगाउँदै आएका थिए । अघिल्लो वर्षको असार महिनादेखि कातिके टोलका बासिन्दाले आफै एकजना सहजकर्ता राखेर  पढन सुरु गरेका थिए ।
१५ घरपरिवारका ४५ जनालाई पढन र लेख्न जान्ने बनाउने लक्ष्यका साथ कक्षा सञ्चालन भइरहेको चन्द्रकला सामुदायिक संस्थाका अध्यक्ष बलबहादुर विकले बताउनुभयो । कक्षा संचालनका लागि पढाउन सिकाउनेलाई संस्थाबाट मासिक तीन हजार पारिश्रमिक दिँदै आएको अध्यक्ष विकले बताउनुभयो ।
सहजकर्तालाई सामुदायिक संस्थामा मासिक रुपमा संकलन गरिएको बचतबाट पारिश्रमिक दिँदै आइएको छ । अभियानलाई नियमित र व्यवस्थित बनाउन गरिबी निवारण कार्यक्रमले सहयोग गरिरहेको सामूहिक अभियान भोजपुरका कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले बताउनुभयो । 

No comments:

Post a Comment