दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रूपन्देहीको भ्रमणमा अनियमितता

विनोद परियार, २७  असार, विभेद बिरुद्ध अभियान - दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रूपन्देहीले अध्ययन अवलोकन भ्रमणमा अनियमितता गरेको खुलासा भएको छ । असार १७, १८ र १९ गते तीन जिल्लामा जिविसको वार्षिक बजेट असारमै सकाउने योजनाअनुसार औपचारिकताका लागि मात्रै भ्रमण गरेको खुलेको हो ।
जिल्ला विकास समितिले अध्ययन अवलोकन भ्रमणका लागि भनेर यस आर्थिक वर्षका लागि ३ लाख बजेट छुट्ट्याएको थियो । सोही शीर्षकको बजेटमा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रूपन्देहीका उपाध्यक्ष रवि विश्वकर्माको नेतृत्वमा तीन जिल्लाको अध्ययन अवलोकन भ्रमण भएको हो । दलित समुदायको क्षमता अभिवृद्धिका लागि भनेर छुट्ट्याइएको बजेट भ्रमणका नाममा मदिरा खाएर बजेट सकाएको भ्रमणमा सहभागी एकजनाले बताए ।
जिविस रूपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा श्रेष्ठका अनुसार तीनदिने भ्रमणको १ लाख ९२ हजार रुपैयाँ करसहित खर्च भएको छ । पाल्पा, स्याङजा र कास्की जिल्लामा निस्केको टोलीमा अधिकांश उपाध्यक्ष विश्वकर्माको नजिकका नातेदार रहेको स्रोतले जनाएको छ ।
जिविसमा बुझाइएको प्रतिवेदनमा ३५ जना सहभागी भएको भनिएको छ । खाना, नास्ता र भत्ता दिइएको प्रतिवेदन पनि छ । तर, त्यहाँ उल्लेख गरिएअनुसार खर्च नभएको स्वयं भ्रमणटोलीमा रहेकाले बताएका छन् ।
‘कास्की जिविसले खाना खुवाएको हो, बीचमा नास्ताको पनि पैसा सहभागीले नै तिरेका हुन्,’ एकजना सहभागीले नाम नबताउने सर्तमा भने, ‘भ्रमणटोली जब केराबारी पुगेको थियो, त्यसपछि गाडी मदिरामय बन्यो, त्यो दृश्य हेर्नलायक थिएन ।’ जिल्ला विकास समितिमा पेस गरिएको रिपोर्टमा भने ३५ जना सहभागी देखिए पनि २८ जना मात्रै भ्रमणमा गएका थिए । सरकारी बजेट अध्ययन अवलोकन भ्रमणका लागि भनेर खर्च गरिए पनि केही दलितलाई मदिरा खुवाएर सकाउने काम गरेको भन्दै तीव्र आलोचना भएको छ ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रूपन्देहीका उपाध्यक्ष रवि विश्वकर्माले पनि मदिरा खाएको स्वीकार गरेका छन् । ‘दलितहरूले रक्सी खान्छन्, खाए’ विश्वकर्माले भने, ‘भ्रमण भनेको रमाइलाकै लागि हुन्छ ।’ गाउँस्तरका दलितलाई सहभागी गराएर भ्रमण गराइएको उनको दाबी छ । गत वर्ष पनि सोही स्थानमा भ्रमण भएको थियो । खर्चका बारेमा सामाजिक शाखा र उपाध्यक्षबीच पनि फरक देखिएको छ ।
सामाजिक शाखा अधिकृत दुर्गा श्रेष्ठले १ लाख ९२ हजार रुपैयाँ खर्च भएको बताए पनि उपाध्यक्ष विश्वकर्माले भने १ लाख ८० हजार खर्च भएको बताए । स्थानीय विकास अधिकारी युवराज सुवेदीले दलित नेतृत्वलाई सिकाई गराउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण गराइएको बताउँदै अनियमितता भएकोबारे बुझेर छानबिन गर्ने बताए ।
जिल्ला समन्वय समितिका पूर्वउपाध्यक्ष राजकुमार विश्वकर्माले दलितको अभिवृद्धिका लागि भन्दा भ्रमणमा गएर मोजमस्तीमा बजेट सकाउने काम राम्रो नभएको बताए । उनले आफ्नो कार्यकालमा प्रकोप पीडित दलितलाई सहयोग गर्ने काम गरेको तर भ्रमणको नाममा लाखौं रुपैयाँ सिध्याउने कामले दलितको हित नगर्ने बताए ।
अर्का उपाध्यक्ष पदमबहादुर विश्वकर्माले अध्ययन अवलोकन भ्रमण आवश्यक रहेको बताउँदै दलित आन्दोलनका अगुवा भगत सर्वजितको जन्मस्थान बाग्लुङ, दलितहको नमूना बस्ती रहेका क्षेत्र सुर्खेत, दाङ जस्ता ठाउँमा जानुपर्नेमा गत वर्ष गएकै ठाउँमा फेरि पनि भ्रमण गर्नुले व्यक्तिगत स्वार्थ देखिएको बताए । १७ र १८ गते खाना, नास्ता, खाना र बास तथा १९ गते नास्ता, बिहानको खाना र दिउँसोको नास्तापछि भ्रमण सकिएको हो । भ्रमणपछि सहभागीले ४ सय रुपैयाँ भत्ता बुझेका हुन् । तर, प्रतिवेदनमा सोहीअनुसार खर्च भने देखिएको छैन ।

No comments:

Post a Comment