कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको पीडितको आरोप

मीना बुढाथोकी-विभेद बिरुद्ध अभियान, साउन ६ -  कुपिण्डे गाविस-५ अँधेरीकी २० वर्षीया सेती परियारलाई शारदा नपा-८ घरभई कुपिण्डे गाविस-४ मा बस्दै आएका ६५ वर्षीय क्रिश्चियन धर्मका गुरू पावल भनिने डल्लु सुनारले कथित बोक्सी भगाउने भन्दै सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाएको घटना पीडितका घरपरिवारले साउन ५ गते सार्वजनिक गरेका छन् ।

'चर्चमा गएपछि पेट दुखेको सञ्चो हुन्छभनी जेठ २३ गते चर्चमा पुगेकी सेतीलाई डल्लु सुनारले बोक्सी र भुत लागेको आरोपमा बोक्सी र भुत भगाउन सिस्नोले हान्नुपर्छ भन्दै यातना दिएको र अभक्ष खुवाएको स्थानीय विष्णु नेपालीले आरोप लगाए । आफूसँग उक्त घटनाको मोवाइलमा रेकर्डसमेत गरेको नेपालीले दावी गरे ।घटना जेठ २३ गते भएको र पीडितको अवस्था नाजुक बन्दै गएपछि साउन ५ गते पीडितका परिवारले अधिकारकर्मी र सञ्चारकर्मीलाई फोनमार्फत जानकारी गराइएको बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिन जाने पीडित परिवारले बताए ।

शारीरिक यातना र अभक्ष खुवाएपछि पीडितको मानसिक सन्तुलन बिग्रिएको पीडित बावु शितल परियारले जानकारी दिए । उनले भने-'छोरी पेट दुख्यो भनेर चर्चमा गइछ । पावलले तँलाई भुत लागेको छ भनेर सिस्नापानी लगाएर दिशा खुवाएछ । त्यसपछि छोरी अर्धबेहोस भएकी छ । मानसिक सन्तुलन पनि बिग्रिएको छ ।'

चर्चमा रहेका सहभागीहरूले सेतीलाई यातना नदिन आग्रह गरेपनि पावलले घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पीडितका ससुरा बिजुली परियारले बताए । 'क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन । तर बुहारीको अवस्था दिनदिनै बिग्रँदै गएपछि नबोली सुखै पाएनौं ।'-पीडितकी सासू गङ्गा परियारले बताइन् ।

जिब्रो बाहिर निकाल्न लगाएर सिस्नु पानीले हिर्काउँदा जिब्रो निलो भएको र शरीरका अन्य भागमा पनि निलडाम हुने गरी कुटपिट गरेको पीडित परिवारले बताएका छन् ।पीडितको प्राथमिक उपचार श्रीनगरस्थित कान्तिपुर मेडिकलमा गरिएको र थप उपचार नेपालगञ्जमा गरिएको पीडितका परिवारले जानकारी दिए ।

No comments:

Post a Comment