आमा कुबेत हिँडेको एक हप्ता नबित्दै बाबुको पनि अकस्मात् निधन

असार १७-लखनपुर,  १५–१६ महिनाको दुधे बालक, ५ वर्ष र ८ वर्षकी दुई छोरी छोडेर आमा रोजगारीका लागि दलाल मार्फत कुवेत जान भनेर हिँडिन् । आमा घर छोडेर हिँडेको एक हप्ता नबित्दै बाबुको पनि अकस्मात् निधन भयो । करिब ७० वर्षकी हजुरआमाको साथमा एउटा झुप्रोमा बास छ । आङ ढाक्ने लुगा छैन उनीहरुसँग । अस्ति भर्खरसम्म सँगै स्कुल जाने उस्तै उमेरका साथीसंगीसँग सधैं स्कुल जाने इच्छा मार्दै यतिबेला उनीहरु घरमै दिन काट्छन् । कुनै एउटा नाटक वा फिल्मको दृश्य जस्तो लाग्ने यो वास्तविक घटनाका पात्रहरु हुन लखनपुर–८ को मुसहर बस्तीकी ८ वर्षीया सलिना ऋषिदेव, ५ वर्षीया रेसिका ऋषीदेव र उनीहरुका भाइ अन्जान ।     गएको असार ७ गते स्थानीय मनिलाल ऋषिदेवको साहुको खेत जोत्दाजोत्दै खेतमै अचानक मृत्यु भएको थियो ।
एक हप्ताअघि मात्रै आमा सनिता नाबालक छोराछोरीको भविष्यका लागि पैसा कमाउन भनेर दलाल मार्फत कुबेत गएकी थिइन् । आमा गन्तव्यमा पुगेको खबर नपाई यता बाबुको मृत्यु भएपछि तीन नाबालक सन्तान यतिबेला हजुरआमाको काखमा अल्मलिइरहेका छन् ।      उता परदेसिएकी आमाले बच्चालाई स्तनपान गराउन नपाउँदा आफैं बिरामी परेको र पतिको निधनको खबरले फोनमै डाँको छोडेर रोएको छिमेकीहरु बताउँछन् । उनका नाबालक सन्तानका लागि अहिले स्कुल जाने, राम्रो लगाउने र मिठो खाने कुरा कल्पना बाहिरको कुरा जस्तै भएको छ । बुबा मनिलालले दैनिक बनिबुतो गरेर ल्याएको पैसाले बिहान बेलुकाको छाक टार्ने यो परिवार यतिबेला दया गरेर दिएको खानेकुराको भरमा छ ।  
आधा सरो फाटेका लुगा र बेस्याहार जीवनशैली छ उनीहरुको । सलिना र रेसिका स्थानीय सरस्वती माविमा कक्षा २ र १ मा पढ्थे । पोहोर साल असोजमा स्कुलमा सरकारले छात्रवृत्ति स्वरुप दिएको एक जोर स्कुले कपडा फाटिसकेका छन् । त्यसयता कसैले दयामाया लागेर दिएका थोत्रा पुराना कपडाले आधा आङ मात्रै ढाकेको छ ।  आमाले छोडेर परदेसिएको केही दिनमै बुबाले पनि सधैंका लागि छाडेर गएपछि बिचल्लीमा परेका उनीहरु हिजोआज स्कुल जाँदैनन् । सलिना भन्छिन्, ‘आमाले पैसा कमाएर आउँछु भन्दै जानु भयो बुबाको पनि त्यस्तो भयो हामी धेरै रोयौं ।’ यिनीहरुको भविष्य अन्योलमा परेको बताउँछन्–स्थानीय फुच्चु ऋषिदेव ।     
ऋषिदेवको परिवार पुस्तौं बितेको लखनपुरमै हो । अहिलेको बस्ती भन्दा पर्तिर अर्काको जग्गामा बसेर ज्यालादारी गर्दै गुजारा चलेको थियो उनीहरुको । त्यस्तै आठ वर्षजति भयो त्यहाँका जग्गाधनीले ७ धुर जग्गा दिए । त्यही जग्गामा बनेको सानो झप्रोमा ऋषिदेव परिवारको गुजारा चलिरहेको बेला एकैचोटी यी नाबालकहरुमाथि परेको बज्रपातले यिनीहरुको भविष्य अब के हुने भन्ने चिन्ता बढेको स्थानीयबासी बताउँछन् । ऋषिदेव परिवारको यो दुःखमा साथ दिने कोही देखिएका छैनन् भने पनि हुन्छ ।   
अवस्था नाजुक देखिएपछि नेपाली कांग्रेस लखनपुरका नेता कार्यकर्ताको एउटा टोली पुगेर ती बालबालिकालाई तत्काल खानेकुरा, २५ केजी चामल र नगद २ हजार ५ सय रुपैयाँ त पुर्याएको छ तर नाबालक ऋषिदेवका सन्तानको जीविकोपार्जन र उनीहरुको शिक्षादीक्षाका लागि आधारभूत व्यवस्था हुनसकेको छैन । कांग्रेस लखनपुरका सचिव देवी लिम्बु सीमान्तकृत  समुदायका यी बालबालिकालाई नभई नहुने आधारभूत आवश्यकताको व्यवस्था गर्नु राज्यको दायित्व हुने बताउँछन् । उनले सीमान्तकृत बालबालिकाकाको शिक्षा, स्वास्थ्य र मानवअधिकारका लागि काम गर्ने भन्ने राज्यका निकाय र दातृ संस्थाहरुको ध्यान यी यस्ता बालबालिकातर्फ जानु आवश्यक भएको उनको भनाइ छ ।   

No comments:

Post a Comment