सिन्धुलीका दलित महिलाहरु सामुहिक बंगुरपालन ब्यवसायमा

 बुद्धकुमार आछामी- सिन्धुली(दुधौली),२७  असार, विभेद बिरुद्ध अभियान - दुधौली नगरपालिका–३ की मिना कुमारी विक गाउँका दुई दर्जन बढी महिलाहरु एकजुट भएर सुरु गरिएको बंगुरपालन व्यवसायको नेतृत्व गर्न पाउँदै निक्कै खुसी छिन । उनी नागरीक सचेतना केन्द्र दुधौली वडा नं. ३ की संयोजक हुन । बिकको नेतृत्वमा नागरिक सचेतना केन्द्रमा आबद्ध २५ जना दलित महिलाहरुले आफ्नै गाउँमा सामुहिक रुपमा सुंगुरपालन ब्यवसाय सुरु गरेका छन । 
स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्र्तगत नागरीक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागी सञ्चालित साना पुर्वाधार विकास कार्यक्रम अन्र्तगत ३ लाख १५ हजार अनुदान पाएपछि केन्द्रमा आबद्ध दलित महिलाहरुले सामुहिक रुपमा व्यवसाय सुरु गरेका हुन । उनीहरुले आधुनिक खोर निर्माण गरी पहिलो चरणमा ३० वटा सुगुर पाल्न सुरु गरेका छन । विस्तारै सुगुरको संख्यामा बृद्धि गर्दै लैजाने उनीहरुले बताएका छन ।दलित परीवारका महिलाहरु अहिले सुगुर फार्ममा पालैपालो काम गर्छन र आम्दानी गरेको रकम समुहमा जम्मा गरी सदस्यहरुको व्यवसायीक कार्यमा लगानी गर्छन । सामुहिक रुपमा ब्यवसायमा लाग्दा आम्दानी सँगै महिलाहरुमा एकता समेत पैदा गरेको अनुभव सुनाउछिन समुहकी सदस्य कुमारी रम्तेल । आफुहरुको सामुहिक व्यवसायमा घरका श्रीमानहरुले समेत सहयोग गरेको उनले बताईन । 
समुहकी संयोजक मिना कुमारी विक भन्छीन, ‘सामुहिक रुपमा व्यवसाय सुरु गर्दा आम्दानी मात्र भएको छैन, गाउँभरिका महिलाहरु वीच भावनात्मक एकता समेत बनाईदिएको छ ।’ आजकाल छरछिमेकमा जस्लाई समस्या परेपनि उनीहरु सबै सहयोग गर्न तम्सीएर लाग्छन । ब्यवसायले आम्दानीसँगै एकता ल्याएकोमा समुहका सवै सदस्यहरु खुसी र उत्साहित छन । 
उनीहरुको ब्यवसाय प्रबद्र्धनको लागी सामाजिक विकासका लागी महिला जागरण सिन्धुलीले प्राविधिक सहयोग प्रदान गरेको छ । सचेतना केन्द्रमा आबद्ध भएपछि उनीहरु आयआर्जन मात्र होइन आफ्ना गाउँमा आउने विकासका योजनाहरुमा समेत चासो राख्न थालेका छन । नगरपालिका कार्यालयले गर्ने गतिविधीहरुमा समेत उनीहरुले सक्रियतापुर्वक सभागीता जनाउने गरेका छन । संयोजक विकले भनिन, ‘हामी हरेक छलफलमा सहभागी हुन्छौ, हाम्रा कुराहरु निर्धक्क भएर राख्छौ ।’ 
दुधौलीको यो नागरीक सचेतना केन्द्र जस्तै जिल्ला भरिका नागरीक नागरीक सचेतना केन्द्रलाई व्यवसायीक बनाउँदै गरिबि न्यूनिकरणमा टेवा पुयाउन स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रमले जिल्लाका २३ गाविस, कमलामाई नगरपालिकाका १८ वटा वडा र दुधौली नगरपालिकाको ३ वटा वडामा साना पुर्वाधार आयोजना सञ्चालन गरेको छ । 
आयोजनाले प्रत्येक नागरीक सचेतना केन्द्रलाई अघिल्लो वर्ष घुम्ती कोषको रुपमा १ लाख दिएको थियो भने यसपटक पुर्वाधार विकासका लागी ३ लाख १५ हजार प्रदान गरेको छ त्यसबाट धेरै जसो नागरीक सचेतना केन्द्रले तरकारी खेती, कुखुरा, बाख्रा तथा सुगुरपालन जस्ता व्यवसाय गरेका छन भने नागरीक सचेतना केन्द्र महादेवडाडाँले अलैची खेती समेत गरेको जनाइएको छ ।
आयोजनाबाट जिल्लाका २३ गाविसका ६५० घरधुरी लाभाल्वीत भएको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ भने कमलामाई नगरपालिकाका १८ वडामा सञ्चालित आयोजनाबाट ४१४ घरपरिवार साथै दुधौली नगरपालिकाका ३ वटा वडामा सञ्चालित आयोजनाबाट ९० परीवार लाभान्वित भएको स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम सिन्धुलीले जनाएको छ । 
जिल्ला भरिका नागरीक सचेतना केन्द्रले सुरु गरेको सामुहिक व्यवसायलाई अझ व्यवस्थित बनाउन र निरन्तरता दिन सम्बन्धीत गैर सरकारी संस्था, जिविस र गाविसले निरन्तर अनुगमन र सचेतना केन्द्रलाई उत्साहित बनाईरहनु पर्ने आवश्यक्ता रहेको सरोकारवालाहरु बताउछन । 

No comments:

Post a Comment