हाकिम साप मलाई पीउनको जागिर दिनु हुन्छ ? -युक्तलाल बिश्वकर्मा

२१ फागुन , विभेद बिरुद्ध अभियान  । मैले जिन्दगीका धेरै आरोह अबरोह पार गरिसकें | अनगिन्ति दुखहरु लाइ झेलिसकें | सयौ हण्डर गोतालाई पचाइसकें | मेरा पीडा रोदनहरुमा दुखका पहाडहरु अटल भएर तेर्सिएका छन | कुहिनोको पहाडसंग केहि लाग्दैन भने जस्तै मेरा बलबुताले यी सबै कुरालाई छिचोल्न र पार गर्न सकेको छैन | म जीबनमा अझै पनि भौतारिदै छु | मैले ढुंगा खानीमा गएर ढुंगा फुटाउने र गिट्टी कुट्ने काम पनि गरें | पहाडका असजिला बाटाहरुमा भारी बोक्दै   भरियाको भएर पनि काम  गरें | ज्यामी भई दैनिक ज्यालादारी पनि गरें  | असजिलो काम गर्ने त बानिनै परिसक्यो | सधै असजिलो काम गरिरहेकोले होला  केहि सजिलो काम गरौ भन्ने चाहना पनि मनमा जागृत हुँदोरहेछ | कति गिट्टी कुट्नु,कति भारि बोक्नु,दिक्दार भए । केहि फरक काम गरौ जस्तो लाग्यो | सजिलो कामको खोजीमा शहरतिर लागें | शहरमा गएर रिक्सा चलाउन थाले | यो क्रम लामो समय चल्न सकेन |                                            
मलाई अर्को काम गर्न मन लाग्यो | मैले रिक्सा चलाएर केहि पैसा जम्मा गरेको थिए | यसबाट मैले सानो घुम्ती चिया खोल्ने निश्चय गरें | शहरदेखि अलि टाढा एउटा गाउँमा मैले चिया पसल राखें | शुरुमा मेरो चिया पसल राम्रै संग चलेको थियो | शुरुमा मेरो नाम मात्र जोडिएको थियो कुनै प्रश्न प्रतिप्रश्न उब्जिएनन तर पछि नाम संग जात र थर जोडियो त्यसपछि मेरो व्यवसायमा प्रश्न चिन्ह खडा भयो | मेरो चिया पसलमा कोहि पनि चिया पिउन आएनन | नआउनुको एक मात्र कारण थियो त्यो के हो भने मेरो जात र थर | चिया पसल नचले पनि  मैेले मेरो  परिवारलाई जसरि भएपनि पालन पोषण गर्नुनै थियो त्यसैले चाहना नहुँदा नहुँदै मैले अर्को ब्यबसाय गर्नुपर्यो | म सानैदेखि खाना पकाउने कुरामा रुचिपूर्बक ध्यान दिन्थे | मलाई खाना कुरा बनाउने काममा बिशेष दख्खल थियो | यसले म मा भएको सिपको पनि उपयोग हुने र ब्यबसाय पनि चलाउन सकिने भएको हुँदा सरकारी कार्यालयमा  क्यान्टिन संचालन गर्ने निधोमा पुगी कार्यालय प्रमुख कहाँ गएँ | मैले निकै अनुनय बिनय गरे पछि प्रक्रिया पुरयाई क्यान्टिन संचालनको अनुमति त दिनु भयो तर क्यान्टिन लामो समय चल्न सकेन | यसमा पनि प्रमुख कारण जात र थर नै थियो |                                                                              
यसरी क्यान्टिन संचालन नभएपछि त्यसै कार्यालयमा पिउन (कार्यालय सहयोगी ) जागिर खानुपर्यो यसका लागि हाकिम  साब संग कुरा गर्नु पर्यो भन्ने सोच राखें | पिउन भईयो भने कर्तब्यनिष्ठ र ईमान्दारी पूर्बक काम गर्नेछु र सबैको मन जित्नेछु साथ साथै मेरो छोरा छोरीको भबिष्य पनि उज्ज्वल हुनेछ भन्ने लाग्थ्यो मैले हाकिम संग यहि अपेक्षा राखेर जागिरको प्रस्ताव राखें |हाकिम साब मलाई तपाइको अफिसमा पिउनको जागिर दिन सक्नु हुन्छ ? मेरो प्रश्नले हाकिम सापमा केहि तरङ्ग पैदा भए जस्तो लाग्यो | उहाँले मलाई हेरि रहनु भयो केहि बोल्नु भएन | अनुहारमा मिश्रित भाव देखियो ए तपाइ लाई जागिर पिउनको......एकछिन अकमकिनु भयो | सोचेर म तपाइलाई उत्तर दिउला भनेर मलाई भोलिको समय दिनु भयो | म भोलिपल्ट गएँ तर मलाई हाकिमले पिउनमा राख्न सक्दिन भनेर मेरो प्रस्तावलाई अस्विकार गर्नु भयो | मलाई पिउनमा राख्न नसक्नुको एउटै कारण मेरो नाम संग जोडिएको  जात र थरनै थियो | जुन जात र थरलाई समाजले अपमान गर्छ घृणा गर्छ | म सिप, योग्यता र क्षमताले गुणवान भएतापनि त्यसको कुनै कदर गरिदैन | योग्यता क्षमता प्रमुख कुरा हुँदो रहेनछ | प्रमुख कुरा जात हुँदोरहेछ यहि खोक्रो आडम्बरले मानिसले मानिसको भावनामा गम्भीर ठेस पुरयाउन पछि पर्दो रहेनछ | चाहे त्यो शिक्षितले होस् या अशिक्षितले चाहे त्यो धनिले होस् या गरिबले सबैले सबै क्षेत्रबाट विभेद गर्दा रहेछन | मलाई गाउँकै एक जना दाजुले उल्लेखित जातीय उत्पीडनका शृंखलाहरु उहाँ संगको अन्तरंग कुराकानीमा बताउनु भएको हो | यो कुराकानीको सिलसिलामा मलाई उहाँले बताउनु भएको यथार्थपरक घटनाको बर्णन हो | उत्पीडित दलित समुदायको सामाजिक जीवनस्तर उठ्न नसक्नुको प्रमुख कारण चाहेको पेशा र ब्यबसाय संचालन गर्न नपाउनु हो | गाई भैसी पालि दुग्ध उत्पादन गरौ दुग्ध बिक्रि हुँदैन उत्पादनमुलक जुनसुकै काम गरौँ बिक्रि वितरणमा समस्या कायम छ | जग्गा जमिन छैन कसरी जीबन निर्वाह हुन्छ ? एकातिर सामाजिक अपमान जातीय छुवाछुत विभेद अर्को तिर आर्थिक अवस्था जरजर कसरी हुन्छ दलित समुदायको उत्थान र बिकास ? उहाँले मलाई प्रश्न गर्नु भयो |उहाँको विश्लेषण यथार्थपरक थियो ।वास्तविक थियो । बर्षौदेखिको पीडाबोध थियो ।अझ भन्नु पर्दा  दलित समुदायको वास्तविक जीबन संग गासिएको थियो | मैले उहाँको कुरामा सतप्रतिशत समर्थन जनाए ।नकार्नुपर्ने कुनै ठाउँनै देखिन | उहाँ संगको कुराकानीमा मैले के पाएँ भने दलित समुदायले आफ्नो सिप अनुसार पेशा ब्यबसाय गर्न पाउँदैनन | प्रथमत ब्यबसाय संचालन गर्न आर्थिक कठिनाई छ | सामान्य पुंजीबाट गर्न चाहनेका लागि पनि कुचलनरुपी छुवाछुत प्रमुख बाधकको रुपमा खडा छ |                                                                                  
दलित समुदायहरुले किराना पसल,चिया पसल,होटल लगायतका ब्यबसायिक क्रियाकलापहरु त गर्नै पाउँदैनन मात्र परम्परागत सिपका आधारमा गरिएका ब्यबसायहरु मात्र गरेको पाइन्छ | यी ब्यबसायहरु पनि निर्वाहमुखी मात्र छन | वालिघरे प्रथाका कारण उचित पारिश्रमिक नपाउनु,अपनाउदै आएका पेशा कष्टकर र जटिल हुनुले दलित समुदायको आर्थिक जीबनस्तर कमजोर भएको हो ।  उहाँ संगको छलफलबाट मैले के निष्कर्ष निकाले भने उहाँले सुरु गर्नु भएको घुम्ती चिया पसलबाट आम्दानीको राम्रो श्रोत बन्न सक्थ्यो तर जातीयताको कारणले ब्यबसायलाई निरन्तरता दिन सक्नु भएन | यसरी पेशा र ब्यबसाय माथिको विभेदका कारण दलित समुदायको जीबनस्तर उठ्न नसकेको हो | सरकारी निकायमा आफ्नो योग्यता र क्षमताको आधारमा विभिन्न पदहरुमा प्रतिस्पर्धामा पदबहाली गर्न सकिएला तर पिउन कहिँ कतै राखिएको पाइदैन | कार्यालय प्रमुखले आफ्नो निजि काम र कार्यालय सम्बन्धि काम गर्नका लागि सहयोगी राख्न सक्छन तर त्यहाँ आफन्त नाता गोतालाई मात्र राखेको पाइन्छ | दलित समुदायलाई राख्नु त आकासको फल जस्तै भएको छ | हुन त दलितहरु पिउन भन्दा पनि माथिल्लो तहको पदका योग्य हुनु पर्छ तर बिबिध कारणले योग्य र सक्षम हुन सकेका छैनन | दलित समुदाय पिउन भएनन भन्ने गुनासो पनि  होइन  पिउन नराख्नुमा जातीयता र   छुवाछूत प्रमुख कारण हो मात्र भन्न खोजिएको  हो ।                                
विभिन्न कार्यालयको प्रमुख दलित हुँदा पनि पिउन दलितलाईनै राख्न नसकेका उदाहरणहरु पनि हाम्रा माझ थुप्रै छन | विद्यालयमा यस्तै स्थिति देखिन्छ | २०५५ /०५६ तिर मकवानपुर छतिवन स्थित श्री कर्मप्राप्ति निमाबि मा बिद्यार्थीहरुलाई खाजा बनाउन भान्छे दलित राखिदा बिद्यालय ब्यबस्थापन समितिले निकाल्ने काम गर्यो । सर्बत्र चर्चाको बिषय बन्न पुग्यो | यसलाई विभेदको रुपमा लिने कि नलिने ? यसैगरि हेटौडा ८ नं. वडा कार्यालयमा सोहि वडाकि एक जना महिलालाई कार्यालय सहयोगी राख्ने काम भयो यो आफैमा राम्रो र उल्लेखनीय काम थियो तर उहाँलाई केहि समय पछि अन्य वडामा सरुवा गर्ने काम भयो | यसो गर्नुमा जातीय विभेद भएको कुरा सम्बधितबाट जानकारी प्राप्त भएको थियो | मैले दाजु संग गरेको अन्तरंग कुराकानीमा जुन बिषय बस्तु उठान भएको थियो त्यो वास्तविक र यथार्थपरक  छ | यसरी दलित समुदाय माथि पेशा र सेवाका आधारमा जुन किसिमको विभेद छ जसको जति बर्णन गरेपनि टुंगिने बिषय होइन  | राज्यद्वारा प्रदान गरिने सुचनाको हक बाट बन्चित दलित समुदाय कतिपय सूचनाबाट बिमुख भईरहेका छन | जसका कारण अवसरहरु प्राप्त गर्न सकेका छैनन | हाल कुनैपनि कार्यालय,कलकारखाना लगायतका ठाउँहरुमा पिउन दलित कति छन त ? छदै छैन भने पनि हुन्छ | यसरी पेशा र सेवामा विभेद गर्नु हुँदैन | सबै कार्यालय प्रमुखले साहस गर्नु पर्यो समानताका उदाहरणका लागि कसैले तपाइलाई हाकिम साब मलाई तपाइको अफिसमा पिउनको लागि जागिर दिन सक्नु हुन्छ ? भनि प्रश्न गर्दा सक्छु किन नसक्नु भनि उत्तर दिने वातावरण बनोस |                              

लेखक युक्तलाल बिश्वकर्मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य हुनु हुन्छ         

No comments:

Post a Comment