दलितभित्रको विभेदले दलित नै अन्यायमा

विभेद बिरुद्ध अभियान-१२ पुस, जुम्ला – हाकु गाविसका एक परियार थरका दलित दलितभित्रकै विभेदले अन्यायमा परेका छन्।विभेदका कारण यसरी अन्यायमा पर्ने हाकु– ८ हाकु गाउँकै ४१ वर्षीय रामलाल परियार हुन्। उनी सार्की थरका दलितबाट अन्यायमा परेको बताउँछन्। परियारको परिवारमा पाँच जना छन्।दलितभित्र हुने बिहेबारी, भोजभतेर र सार्वजनिक कामकाजमा सहभागी हुन आफूलाई सामाजिक रुपमा बहिष्कार गरिएको पीडित परियारले बताए। उनले हाकु गाविसमै भएको एक सार्वजनिक कार्यक्रममा सार्की थरका दलित अगुवाद्वारा आफूलाई सामाजिक काममा सहभागी हुन, खान, बस्न र अन्य कार्य गर्न वञ्चित गरिएको बताए।
उनले भने, “जातीय विभेद गर्नुहुन्न, छुवाछुतको भावनाको अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रम ल्याउने दलित अगुवाले नै आफ्ना छोराको बिहेमा भतेर छोएको भन्दै दुव्र्यवहार गर्नुभयो ।” उनीविरुद्ध आफूले दलित सेवा सङ्घ र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि प्रहरी चौकीमा मिलाउन जिम्मा दिइयो तर समस्या नसुल्झेर आफू पीडामा परेको उनको भनाइ छ।
चौँतिस घरधुरी सार्कीका अघि आफ्नो एक घरधुरी भएको बताउने परियार अहिले पनि न्यायको खोजीमा भौँतारिरहेको बताउँछन्।अब आफ्नो मानवाधिकारको रक्षा र न्याय प्राप्तिका निम्ति राष्ट्रिय मानवअधिकार आयोग, अदालत र प्रशासन धाउने उनले जानकारी दिए। 

No comments:

Post a Comment