यस्ता प्रहरीलार्इ कारवाही गर्ने कि फुली थप्ने गृहमन्त्रीज्यू ? - राधा पोखरेल

बिभेद बिरुद्ध अभियान - २७ मंसिर,  अनलाइनमा एउटा खबर पढें । चटक्कै मुटु चुँडिने खबर । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर । एउटी दलित महिलालाई बोक्सीको आरोपमा एउटा शिक्षकले दिसा खुवाउँदै पिटिपिटी मारेको खबर । त्यही पनि टाढा हो र काठमाण्डौं नजिक काभ्रेको सानो गौंथली गाउँमा । २-४ बर्ष पहिला हो र, यही मंसिर २१ गते मंगलवारका दिन  । लुकिछिपी हो र, सबै गाउँलेको रोहवरमा । अनकण्टार एकान्तमा हो र, आफैँले पढाउने स्कूलको प्रांगणमा ।
प्रिय पाठकहरू ! तपाईंहरूले पनि पढ्नु भयो होला यो हृदयविदारक खबर । हत्या गरिएकी लक्ष्मी नेपालीको १० बर्षीय छोराले आँखाबाट साउन उराल्दै दिएको बयानले के तपाईंको छाती चिरिएन ? आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएन ? मलाई त सहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै विछिप्त नै भएँ म त ।
ज्ञान र विज्ञानको युग अर्थात २१ औं शताब्दी । चन्द्रमामा मान्छेले पाइला टेकेको त धेरै भइसक्यो । वैज्ञानिकहरू पृथ्वी असुरक्षित भयो भन्दै सुरक्षित वासस्थानको लागि अर्कै ग्रहमा बसाईं सर्ने विकल्पको खोजी गर्दैछन् । उफ ! मेरो देशमा भने बोक्सीको आरोपमा मान्छे कुटेर  मारिदै छ । छाउपडीको नाममा छोरी-चेलीको ज्यान जाँदैछ । दाइजोका नाममा दिनदाहडै बुहारीहरूमाथि मट्टीतेल खन्याएर आगो लगाइदै छ । मानवाधिकारकर्मीहरू कुर्लिएको कुर्लिएकै छन्, सरकार कानुन बनाएको बनाएकै छ । तर समाजमा मानवता बिरोधी हिंस्रक घटनाहरू घटेको घटेकै छन् ।
कानुन बनाउनु ठूलो कुरा होइन । शहरका सुविधा सम्पन्न होटलदेखि सडकपेटीसम्म सेमिनार, गोष्टी र बिरोधसभा गर्नु पनि ठूलो कुरा होइन । मुख्य कुरा त कानुनको प्रभावकारी कार्यान्वयन र समस्याग्रस्त समाजमा गएर चेतना सिर्जना गर्नु हो ।
ज्ञान विज्ञानले मान्छेलाई उन्नत बनाउँछ । मानवताले ओतप्रोत गराउँछ । समाज समृद्ध र विकसित हुन्छ । अन्धविश्वासले मान्छेलाई मानवताहीन हिँस्रक पशु बनाउँछ । समाज संकीर्ण र विघटन हुँदै जानथाल्छ ।
आजको विकसित देशहरू पनि अन्धविश्वासको चक्रहरू तोट्दै त्यहाँ पुगेका हुन् । देश विकासका लागि खासगरी राज्य, राजनीतिक पार्टी, नागरिक समाज र नीजि क्षेत्रले आ-आफ्नो दायित्व पुरा गर्नु पर्दछ । यी चार पक्षहरूमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष राज्य हो । बिडम्बना हाम्रो देशमा सबैभन्दा कमजोर राज्य नै देखिएको छ । राज्य समयानुकूल कानुन बनाउन सक्दैन । बनाएको कानुन पनि कडाइपूर्वक कार्यान्वयन गर्न सक्दैन । जब राज्य निरिह र कमजोर बन्छ, तब त्यो देशको नागरिक छाडा बन्दै जान्छ । अन्याय गर्नेहरूले देशलाई बन्धक बनाउँदै लैजान्छ अनि अन्यायमा पर्नेहरू समाजको पीँधमा पुरिँदै जान्छ ।
शिक्षक, समाजको ज्योति हो । उसले प्रज्वलन गर्ने हरेक दीपले समाजमा प्रकाशमय सूर्य उदाउन सक्नु पर्छ । सूर्य उदाउनु अघि धर्तीमा अन्धकारकै साम्राज्य हुन्छ । उफ ! मेरो देशको शिक्षक के हो ? प्रकाश हो कि अन्धकार ? देवता हो कि राक्षस ? कोही शिक्षक आफ्नै बिध्यार्थीलाई बलात्कार गर्दै हिँड्छन् । कोही शिक्षक प्रश्नपत्र बेच्दै हिँड्छन् । कोही शिक्षक चिट चोराउँदै हिँड्छन् । हुँदाहुँदा अब त बोक्सीको आारोपमा दिसा खुवाएर पिटिपिटी मान्छे नै पो मार्न थालेछन् ।
रिसानी माफ गर्नुस् आदरणीय गुरूबर्ग ! मैले हजुरहरूलाई होच्याउन र बदनाम गर्न खोजेकी होइन । तर ज्ञान बाँड्ने र विज्ञान सिकाउने कतिपय गुरूहरू नै हिँस्रक पशु बनेपछि आक्रोश त जन्मने नै रहेछ । हिरा लामा शिक्षक नभएर शिक्षकको नाममा कलंक हो । हिरा लामा सामाजिक शिक्षा पढाउने शिक्षक रहेछन् । यस्ता सामाजिक शिक्षकले के पढाए होलान् भबिश्यका कर्णधार बालबालिकाहरूलाई ? के संस्कार सिकाए होलान् यिनले ? हे भगवान ! सुन्दा मात्र पनि आंग सिरिंग भएर आउँछ ।
आदरणीय गुरूबर्ग र सरकारप्रति मेरो विनम्रतापूर्वक आग्रह छ- हिरा लामा जस्ता शिक्षकहरूलाई साविकको कानुनी कार्बाही मात्र नभएर थप कार्बाही हुनुपर्छ । र, कानुनी कार्बाहीको अतिरिक्त तुरून्तै पेशाबाट अयोग्य घोषित गर्दै, यस्ता शिक्षकहरूले सेवा वापत प्राप्त गर्ने पेन्सन, उपादान सबै खारेज गर्नु पर्छ । समाजले पनि सामाजिक रूपमा बहिस्कार गर्ने आँट गर्नुपर्छ ।
समाजमा दलित र गरिबहरूलाई हेप्ने संस्कार त छँदैछ । म ठोकुवा गरेर भन्न सक्छु- लक्ष्मी नेपाली यदी दलित र गरिब नभएकी भए बोक्सीको आरोपमा आज मारिनु पर्दैन थियो । दलित र गरिब हुनु के लक्ष्मीको अपराध हो ? यो समाजमा दलित र गरिबलाई बाँच्ने अधिकार छैन ? यदी अधिकार छ भने किन दलित र गरिबहरू मात्रै बोक्सा-बोक्सीको आरोपमा मारिन्छन् ? सरकार ! कहाँ छौ तिमी ? दलित र गरिब यो देशका नागरिक होइनन् ? उनीहरूको सुरक्षा गर्नु तिम्रो कर्तब्य होइन ?
गृहमन्त्रीज्यू ! लास बनिसकेकी लक्ष्मीलाई बेहोशी अवस्थामा ल्याप्चे ठोक्न लगाएर तपाईंको पुलिसले कस्तो मिलापत्र गरेको हो ? मृत्युको मुखमा पुगेको घाइतेलाई उपचार गराउन र अपराध गर्नेलाई कार्बाही गर्नु पुलिसको पहिलो कर्तब्य होइन ? अपराधीको पक्षमा लाग्ने त्यस्ता प्रहरीलाई फुली थप्नु हुन्छ कि कार्बाही गर्नुहुन्छ ? के गर्नु हुन्छ गृहमन्त्रीज्यू ?
-ऑनलाइन खबर बाट

No comments:

Post a Comment