समाज परिवर्तनका लागि राजनीतिमा लागेका निर्मल बराल र अनिता परियारको लभस्टोरी


विभेद बिरुद्ध अभियान, मंसिर २६- समाज परिवर्तनका लागि राजनीतिमा लागेका माओवादी केन्द्रका दुई नेता निर्मल बराल र अनिता परियार श्रीमान्–श्रीमती हुन् । तर, विडम्बना ! यी दुईको मिलनलाई दुवैको समाजले स्विकारेको छैन । त्यसको मूल कारण हो– अन्तर्जातीय विवाह । ०६५ सालमा विवाह गरेको यो जोडी अहिले भक्तपुरमा बस्छ । अनिता माओवादी केन्द्रकी सांसद हुन् भने निर्मल केन्द्रीय सदस्य हुन् । यो जोडीले अन्तर्जातीय विवाहकै कारण जीवनमा अनेकौँ उकाली–ओरालीको सामना गर्नुपरेको छ । सौभाग्य भनौँ कि दुर्भाग्य, समाज परिवर्तनमा होमिएको यो जोडीको आफ्नै कथा छ, आफ्नै व्यथा छ । यही विषयमा नयाँ पत्रिकाका विश्वास खड्काथोकीसँग यी दुईले केही दिनअघि मुटुको गाँठोे खोले: 

माओवादी केन्द्रकी सांसद अनिता परियारको अनुहारमा अहिले प्रस्ट खुसी पढ्न सकिन्छ । अनिता केही दिनअघि मात्र दोस्रो सन्तानकी आमा बनेकी छिन् । भक्तपुरका गल्लीहरूको सञ्जाल छिचोलेर उनको निवास पुग्दा उनको अनुहारको खुसीले ती गल्लीहरूमा हिँड्दाको ‘दिग्दारी’ हटाइहाल्छ । उनको निवास पुग्नुअघि मैले ‘डिरेक्सनका लागि उनलाई पाँचपटक फोन गरेको थिएँ, मैले भनेँ, ‘बल्लतल्ल भेटियो ।’ उनी मुसुक्क हाँसिन्, काखमा छोरा ‘आयाम’लाई खेलाउँदै । प्रश्न त अरू पनि गर्नु थियो, तर मैले सुरु गरेँ, ‘आयाम नै किन राख्नुभयो छोराको नाम ?’ यो प्रश्नले अनितालाई नोस्टाल्जिक बनाइदियो, उनी एकाएक विगतमा पुगिन् ।

००० 
अनिता सात कक्षामा पढ्दाको कुरा हो । एक बिहान उनी गाउँको कुवामा पानी लिन पुगिन् । अरू दिनभन्दा फरक त्यो दिन कुवामा उनका छिमेकका अरू पनि थिए । तर, फरक के भने त्यो दिन उनलाई स्कुल जाने हतारो थियो । एक घन्टा उनले कुरिन्, तर अझै पालो आएन । त्यसैले, उनी सोझै कुवाको मुहानमा पुगिन् । र, अंखराले पानी गाग्रीमा भर्न खोजिन् । त्यहाँ उपस्थित सबैलाई पालो दिँदा तीन घन्टा भन्दा बढी लाग्ला कि भन्ने डर उनको मनमा थियो । तर, उनले पानी भर्न पाइनन् । कुवामा अंखरा मात्र के डुबाएकी थिइन्, अरू महिलाले एकै स्वर गरे र उनको गाग्री निकै पर फालिदिए । ‘तँलाई दमिनी,’ उनीहरूले यति मात्र भनेनन्, अनिताको कन्चटमा पनि प्रहार गरे । ‘मैले त तोरीको फूल नै देखेँ,’ अनिता अहिले यो प्रसंग कोट्याउँदा पनि रुन्चे अनुहार लगाउँछिन्, ‘त्यहाँ भएका सबैजनाले मलाई कुट्न थाले ।’ जसोतसो उनी त्यहाँबाट फुत्किइन् र रगताम्य अनुहारमै रित्तै कुच्चिएको गाग्री लिएर घर पुगिन् । 
संयोग, त्यो दिन अनिताका बुवा पनि घरमा थिएनन् । लुगा सिलाउने मेसिन (कल) बनाउन उनी जनकपुर गएका थिए । तर, लामो समय यो कुरा गाउँमा गुपचुप हुन पाएन । भोलिपल्ट गाउँलेहरूको भेला बस्यो । त्यो भेलाको एउटै उद्देश्य थियो– अनितालाई न्याय दिलाउने । अनितालाई न्याय दिलाउन त्यहाँ संयुक्त जनमोर्चाका दीपबहादुर योन्जन पनि थिए । भेलामा उनले अनिताको ‘मुटु छुने’ कुरा गरे । न्यायका लागि आवाज उठाए, अनिताको मनमा आशाको उज्यालो छरिदिए । ‘कम्युनिस्ट भनेका त राम्रा मान्छे पो रहेछन्,’ अनिताले त्यो दिन बुझिन्, ‘दुःखीको साथ दिन नै कम्युनिस्ट बनेका रहेछन् ।’ अनितामा यस्तो बुझाइ हुनुको कारण अर्को पनि छ । अघिल्लो दिन कुवामा उनलाई कुटपिट गर्नेले त्यहाँ उनीसँगै माफी मागे । एकातिर, यो माफीले अनितालाई कम्युनिस्टप्रति ‘पोजेटिभ’ बनायो त अर्कोतिर घटना पनि बाहिर भन्नुपर्छ भन्ने चेत जगाइदियो ।

०००
 अर्को घटनाचाहिँ स्कुलको हो । समानता र नैतिकताको पाठ पढाउने शिक्षकले नै अनितालाई स्कुलमा पानी राखेको घैँटो छोएको भन्दै पिटेका थिए । घैँटो तिनै शिक्षकले फुटाइदिएका थिए । गाउँ र स्कुलको ‘घैँटो’ फुट्नुले अनितालाई त्यही उमेरमा राजनीतिप्रति चासो बढाइदियो । त्यही राजनीतिक चासोले उनलाई जीवनसाथी पनि भेटाइदियो । 

०००
 उता, उनका जीवनसाथी, जो माओवादी केन्द्रकै नेता हुन्, निर्मल बरालको पनि कथा कम भावुक छैन । निर्मल सर्लाहीमा जन्मिए । सानै उमेरदेखि राजनीतिप्रति आकर्षित भए । क्याम्पसमा पुगेपछि निर्मललाई राजनीति ‘लत’ नै बन्यो । उही समानता, विभेदको अन्त्यजस्ता सिद्धान्तलाई उनले पनि ‘फलो’ गरे । 

०००
 एउटै म्यान्डेटका कारण राजनीतिमा आकर्षित भएकैले, अनिता र निर्मलको भेट भयो । मन मिल्यो । तर, यसको पछाडि पनि एउटा लामो कथा छ । अब अनिता विगतमा फर्किन्छिन् । सँगै बसेका निर्मल उनको होमा हो मिलाउँछन् । ‘उहाँले हाम्रो गाउँमा प्रशिक्षण दिनुभएको थियो,’ अनिता भन्छिन् । सायद, यसले निर्मलको सम्झनामा विगतका घटना ल्याइदियो । अब उनी बोल्न थाले, ‘त्यतिवेला म जनमोर्चानिकट विद्यार्थी संगठनको उपाध्यक्ष थिएँ ।’ अनिता पनि विद्यार्थी राजनीतिमा लागिसकेकी थिइन् । ०५५ सालमा यी दुईको पहिलो भेट हुँदा निर्मल २८ वर्षका थिए भने अनिता २० वर्षकी मात्र थिइन् ।
 राजनीतिसँगसँगै बिस्तारै दुवैले छुट्टाछुट्टै किन नहोस्, जीवनको योजना पनि बनाइरहेका थिए । संयोग मान्नुपर्छ, त्यो योजना र सपनामा यी दुई एक–अर्काका परिपूरक हुने भए । ‘जनकपुर, सगरमाथा, मेची र कोशी अञ्चलको विद्यार्थी इन्चार्ज भएकाले म प्रशिक्षणमा व्यस्त थिएँ,’ निर्मल झन्डै २० वर्षअघि फर्किन्छन्, ‘प्रशिक्षणकै क्रममा महोत्तरीमा अनितालाई भेटेँ । उनी त्यहाँकी विद्यार्थी अध्यक्ष थिइन् ।’ अर्कोतिर, पारिवारिक अािर्थक अवस्था कमजोर भए पनि अनिता दृढ भएर पार्टीको काममा लागेकी थिइन् । त्यही पार्टीको प्रशिक्षण उनले छुटाउने कुरै भएन । ‘कामको स्प्रिट मात्र होइन, उनको चेत त्यतिवेला पनि अत्यन्त राम्रो थियो,’ निर्मल त्यो प्रशिक्षण सम्झिन्छन्, ‘अन्यायसँग लड्न उनी जतिवेलै तयार छु जस्तो गर्थिन् ।’ त्यही स्प्रिटका कारण निर्मल र अनिताको बोलचाल भयो, निकटता बढ्यो । यो निकटता प्रेममा त्यतिवेला बदलियो जतिवेला यी दुईलाई एकै कार्यक्षेत्रमा पार्टीले खटायो । स्पष्ट विचारका कारण निर्मलले अनितालाई झन् नजिकबाट नोटिस गरे, अनिताले सिनियर भएकाले पनि आफ्ना प्रश्न निर्मलसँग नडराई राख्न थालिन् । उनीहरू दुवैलाई थाहा थिएन, राजनीतिक यात्रामा यी दुईले एक–अर्कालाई मनमा पनि बाँधिसकेका छन् । ‘हामीले प्रस्ताव राखेका होइनाैँ,’ अनितालाई हेर्दै निर्मल भन्छन्, ‘आफैँ प्रेम पलायो, अनि हामी सँगै जिउन तयार भयौँ ।’ ‘उहाँ सालिन हुनुहुन्थ्यो,’ निर्मललाई मन पराउनुको कारणबारे अनिता झन् खुल्छिन्, ‘कोही पनि आउन नचाहने गाउँगाउँमा पनि उहाँ सहजै जानुहुन्थ्यो र समानताका कुरा गर्नुहुन्थ्यो ।’ बिस्तारै, निर्मल अनिताको घरसम्मै पुगे । तर, घरमा निर्मल अनितासँग भन्दा पनि बढी अनिताका बुवासँग बहस गर्थे । एक छेउमा बसेर अनिता चुपचाप निर्मल र आफ्ना बुवाका कुरा सुन्थिन् । अनि कहिलेकाहीँ बीचैमा आफ्ना कुरा पनि राखिहाल्थिन् । त्यसरी कुरा राख्दा निर्मलले अनितामा झन् वैचारिक प्रष्टता पाए, अर्कोतिर अनिताको घरको दयनीय अवस्था देखेर उनी भावुक पनि हुन्थे। ‘त्यसैले पनि हुनुपर्छ,’ निर्मल सम्झिन्छन्, ‘मेरो मुटुको एउटा कुनामा अनिताले आफ्नो स्थान झन्झन् बलियो र ठूलो बनाउँदै गइन् ।’ उनलाई सुनेर अनिता मुसुक्क हाँस्छिन् ।

०००
 बिस्तारै झाँगिएको प्रेमलाई निर्मलले विवाहको रूप दिने निर्णय गरे । तर, एक्लै । एकदिन उनले हिम्मत गरेर अनितालाई भने, ‘अब हामी विवाह गरौँ ।’ आफू प्रेममा परेको आभाष भए पनि अनिता यो प्रस्ताव सुन्दा झस्किइन् । ‘मनमा डर उब्जियो,’ उनी भन्छिन्, ‘उहाँको घरमा मात्र होइन, समाजमा पनि मलाई अस्विकार गरिएला भन्ने डर आफैँमा पलायो । उनीहरूले अस्विकार गरेपछि मेरो जीवन के होला भन्ने ठूलो प्रश्न तेर्सियो ।’ त्यसैले, अनिताले तत्कालै जवाफ दिइनन् । अर्कोतिर उनले आफ्नै घरमा पनि यो कुरा ‘सेयर’ गर्न सकिनन् । उनी थप्छिन्, ‘बुवाले पनि त्यही प्रश्न गर्नुहोला भन्ने डर भयो ।’ सबैभन्दा ठूलो आशंका अनिताको मनमा थियो, ‘के साँच्चिकै निर्मलले मलाई विवाह गरेर घरमै भित्राउलान् त ? कि उनी यत्तिकै भावनामा भनिरहेका छन् ?’ तर, निर्मल आफ्नो निर्णयमा पक्का थिए । उनले बिथोलिएको अनिताको मनलाई सम्झाउन थाले । अनि, अनिताले पनि आफ्नो घरमा मुख फोरिन् । ‘आफ्नै जिन्दगी हो, भोलि केही भए हामीलाई भन्न पाउँदिनस् नि !,’ बुवा–आमाका यो जवाफले अनिताको मनलाई अलिक सहज बनायो । एकातिर, घरले अनितालाई ‘मौन’ सहमति दिइसकेको थियो भने अर्कोतिर निर्मलले विवाहको कुरा पार्टीमा राखिसकेका थिए । पार्टीकै नेताहरूले ‘भोलि अप्ठ्यारो होला है !’ भन्दाभन्दै पनि आफ्नो निणर्यमा टसमस भएनन्, निर्मल । बरु घरमै पुगेर निर्मलले अनिताको हात मागे । अन्ततः अनिता र निर्मलले एक–अर्कालाई ‘जीवनसाथी’ बनाए, २०६५ साल असारमा । स्टेज कार्यक्रम गरेर भएको त्यो विवाहमा अरू सबै सहभागी हुँदा पनि निर्मलका परिवारका कोही पनि थिएनन् । किनकि, यो विवाहबारे निर्मलले घरमा थाहा नै दिएका थिएनन् । ‘म परिवर्तन भए पनि मेरो परिवारले यो विवाहलाई मान्यता दिँदैन भन्ने मेरो मनमा थियो,’ उनी भन्छन्, ‘खबर गरेको भए त विवाह नै नहुने सम्भावना बढी हुन्थ्यो ।’
 ००० 
दुईको विवाह भयो । र, यसले झन् ठूलो ‘च्यालेन्ज’ थप्यो यी दुईको जीवनमा । किनकि, निर्मलको घरमा अनितालाई स्विकारिएन । विवाहपछि निर्मलले घरमा अनिताको कुरा सुनाए । उनलाई गर्व थियो, समाज परिवर्तनका लागि उनी आफैँले एउटा ‘कदम’ उठाएका छन् । तर, घरले अनिताको त परै जाओस्, उनलाई पनि सहजै बोलाउन चाहेन । तैपनि केही समयपछि निर्मल घर जान थाले । तर, विडम्बना जसलाई निर्मलले आफ्नो जीवनमा भित्राएका छन्, उनलाई घरमा ‘भित्रायाउन’ सकेका छैनन् । यति मात्र होइन, अनितासँगको विवाहकै कारण उनले कयौँपटक छरछिमेकबाट नमिठो वचन सुनेका छन् । त्यसमाथि परिवारले अहिलेसम्म पनि यो विवाहलाई स्विकार नगर्दा निर्मलको मन समयसमयमा कुँडिन्छ । ‘तर, आशा अझै छ,’ उनी भन्छन्, ‘अनितालाई लिएर म जन्मिएको घर जान पक्कै पाउनेछु ।’ अनिता पनि त्यही आशामा छिन् । घरमा अस्वीकार गरिएको नै किन नहोस्, यी दुईले समाजमा चेतना फैलाउन कहिल्यै नछाड्ने कसम खाएका छन् । र, आफैँबाट त्यसको सुरुवात गरेर ‘स्वर्ण’ सम्झनास्वरूप पहिलो सन्तान छोरीको नाम राखेका छन्– समता ।
-नया पत्रिका बाट

No comments:

Post a Comment