पतिको कुटाइबाट गम्भीर सरिता मोतेको उपचारमा समस्या

बिभेद बिरूद अभियान , पौष १०-भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई कुटपिट गरी २५ वर्षीय पति जीवन मोते फरार भएपछि उपचारमा समस्या भएको छ ।पीडित महिलालाई आरोपितले गाँजा सेवन गरेर पुस १ गते दाउराले कुटपिट गरी आरोपित फरार भएपछि उपचारमा समस्या भएको हो ।
टाउकोमा गम्भीर चोट लागेकी सरिताको उपचारमा आर्थिक अभाव भएको सरिताकी सासू हस्तमाया मोतेले बताइन् । उनको पुस १ गतेदेखि विराटनगरको लाइफगार्ड हस्पिटलको आइसियू कक्षमा राखेर उपचार गरिएको छ । आर्थिक अवस्था दयनीय भएकाले उपचारमा समस्या भएको उनको भनाइ छ ।
पीडित महिलाको उपचारका लागि एक कठ्ठा जग्गामा भएको घर ३ लाख रुपियाँमा बेचेर उपचार गरिरहेको बताउँदै ससुरा होमबहादुरले भने-‘भएभरको सबै सक्दा पनि बुहारीको होस आएको छैन । डाक्टरले अझै धेरै पैसा लाग्छ भनेका छन् ।’
दैनिक गाँजा खाने छोराले बुहारीलाई कुटपिट गरेर घाइते बनाउँदा बास बस्ने घरसमेत गुमेको होमबहादुको गुनासो छ ।
सरिताका तीन जना सन्तान छन् । चार महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाहा गर्नु परेको पीडित महिलाकी सासू हस्तमायले बताइन् । उनले भनिन्-‘बाध्यताबस आफैले छोरालाई कारबाही गर्न उजुरी दिनु परेको छ ।’ तर, हालसम्म पनि आरोपित गिरफ्तारीमा नपरेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले बताए ।

No comments:

Post a Comment