रुकुम पुगेका पदाधिकारीहरु महिलाले बाजा बजाएको देखेर अचम्ममा परे

बिभेद बिरुद्ध अभियान - मंसिर २७, २०७३- एक जमाना थियो- महिलाले बाजा बजाउनु त के छोए पनि 'पाप' लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे । अब समय उही रहेन, एकताका बाजा छुन नपाउने महिलाहरु बाजा बजाउन मात्रै होइन बाजाको संरक्षणमा समेत कम्मर कसेर लागि परेका छन् । त्यसको एउटा गतिलो उदाहरण हो, मुसीकोट नगरपालिका–१, को सालघारी पञ्चे बाजा आमा समूह । केहीसमय यता जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनहरुमा महिलाले नै पञ्चे बाजा बजाउने गरेका छन् । एकै पोशाक सजिएका महिलाहरुले पञ्चे बाजा बजाउन थालेपछि जिल्लामा आयोजना हुने प्राय: कार्यक्रमहरुमा बाजा बजाउनको लागि सालघारी पञ्चे बाजा समूहलाई नै बोलाउन थालिएको छ । जिल्लामा आउने पाहुनहरुको स्वागतमा पनि महिलाहरुले नै बाजा बजाउँदै आएका छन्। 
२६ गते आइतबार पनि अतिथि र खेलाडीको स्वागतमा महिलाहरुले नै बाजा बजाएर बजार परिक्रमा गरे । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको मध्यपश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिवल प्रतियोगिता उद्घाटनको लागि जिल्ला पुगेका अतिथि तथा प्रतियोगितामा खेल्न पुगेका खेलाडीको स्वागतमा महिलाले नै बाजा बजाए । 

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली र सहरी विकास राज्य मन्त्री मीठु मल्ल, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारी तथा अतिथिलाई बजार परिक्रमा गराएर बह्राटाकुरास्थित टुँडिखेलसम्म महिलाहरुले नै बाजा बजाएर पुर्‍याएका थिए । 

भलिबल प्रतियोगितामा सहभागी हुन रुकुम पुगेका रुकुम बाहेकका १४ जिल्लाका खेलाडी, व्यवस्थापक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले महिलाले बाजा बजाएको देखेर अचम्ममा परेको बताए । उनीहरुले असिनपसिन भएर पुरुषले जस्तै बाजा बजाउँदै नाँचेका महिलाको प्रशंसा समेत गरेका थिए । ‘महिला पनि कुनै काममा कम छैनन् भन्ने यो एउटा गतिलो उदाहरण हो,’ प्रतियोगितामा सहभागी हुन रुकुम पुगेका रोल्पाका हिमाल डाँगीले भने, ‘यो चेतना र महिलाको जागरुकता प्रशंसा गर्न लायक छ ।’
पछिल्लो समय आयातित बाजाले परम्परागत बाजा लोप हुन लागेको भन्दै पञ्चे बाजा संरक्षणमा लागेको आमा समूहकी अध्यक्ष हिराकुमारी परियारले बताइन् । ‘पुराना बाजागाजा कता गए कता, सप्पै नयाँ बाजातिर मात्रै लागेको देखेपछि हामी बाजा जोगाउन कस्सिएका हौं,’ अध्यक्ष परियारले भनिन्, । पञ्चे बाजा संरक्षणको लागि समूहले सुरुमा बाजा बजाउन थालेको छ । अध्यक्ष सहित समूहका सम्पूर्ण सदस्यहरु भाडामै भएपनि पञ्चे बाजा ल्याएर विभिन्न कार्यक्रमहरुमा बजाउँदै आएका छन् । ‘बाजा संरक्षण गरेर मात्रै भएन,’ अध्यक्ष परियारले भनिन्,‘त्यसका लागि बजाउने सीप पनि चाहिएला भनेर बाजा सिक्दै बजाउदैँ पनि गरिरहेका छौं ।’ 

समूह दर्ता गरी बाजा बजाउन थालेपछि संकलन भएको रकमले पञ्चे बाजा खरिद गरी त्यसको संरक्षण गर्ने योजना बनाइएको समूहकी सचिव कल्पना नेपालीले बताइन् । उनका अनुसार हाल समूहले विभिन्न ठाउँबाट भाडामा बाजा ल्याएर बजाउने गरेको छ । ‘हामीसँग भर्खर सीपको विकास हुँदै छ,’ सचिव नेपालीले भनिन्, ‘अव आवश्यक बाजा पनि जोरजाम गर्ने योजना अनुसार रकम संकलनमा जुटिरहेका छौं ।’ 

पञ्चेबाजा संरक्षणको लागि भन्दै महिलाहरु अघि सरेपछि त्यसमा पुरुषहरुले साथ दिएका छन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको समूहकी अध्यक्ष परियारले बताइन् । ‘हामी गर्छौं भनेर लागेपछि पुरुषहरुको पनि सहयोग पाएका छौं,’ परियारले भनिन्, ‘काम गर्दै जाँदा पर्ने अफ्ठ्यारो परेको बेला सहयोग माग्दै आएका छौं ।’ समूह १२ सदस्यीय छ ।

कान्तिपुर बाट 

No comments:

Post a Comment