सात वर्षीया अरनिमा नेपाली मुटुको व्यथा लुकाएर स्कुल जान्छिन्

बिभेद बिरूद अभियान , पौष १०- म्याग्दी– बेनी नगरपालिका–२ अर्जमकी सात वर्षीया अरनिमा नेपालीको मुटुमा समस्या छ । शरीरका विभिन्न भाग दुख्ने र बिरामी हुने गरेकी अरनिमा ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा अध्ययरत छन् । एक वर्षयता बेलाबेला बिरामी हुने गरेकी उनको मुटुमा समस्या रहेको चिकित्सकले बताएका छ । आफ्नो बिमारी बिर्सेर उनी भने नियमित विद्यालय जाने गरेकी छन् ।

उनलाई पढ्ने रहर छ, मुटुको अपरेसनका लागि सहयोग रकम संकलन भइरहेको छ । गाउँबाट साथीहरूसँगै विद्यालयमा पुग्ने अरनिमा कक्षा ३ को साँधुरो कोठाको पछिल्लो बेन्चमा साथीहरूसँगै रोगलाई बिर्सिएर पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक तिलाराम थापाले बताए । ‘पढाइप्रति उनको रुचि छ, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन्,’ थापाले भने ।विद्यालयस्थित पुस्तकालयमा नियमित घन्टी तालिकाअन्तर्गत साथीहरूसँगै जाने, समूहमा रमाउने र सरसफाइजस्ता अभियानमा समेत सक्रिय रहेकी अरुनिमाको मुटुमा समस्या भएको भन्ने खबरले आफूहरुलाई समेत दुःखी बनाएको थापाले बताए ।बिरामी अवस्थामै विद्यालयमा आउने अरनिमा कक्षामा अध्ययन गर्दागर्दै सुत्ने, दुख्न थालेपछि शिक्षकलाई जानकारी गराउने गरेको बताए । ‘बिरामी भएकै कारण पछिल्लो समय पढाइ खस्किएको छ । टोलाउने समस्या देखियो । यसपछि उपचारका लागि हामीले पनि सकेको सहयोग गरेका छौँ तर पूर्ण रकम उठिसकेको छैन,’ थापाले भने । विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो तलबबाट उनको उपचारका लागि सहयोग गरेका छन् ।छोरी बिरामी भएकाले घरमै बस्न भने पनि विद्यालय जाने इच्छा व्यक्त गरेपछि आफूले रोक्न नसकेको अरनिमाकी आमा निशाले बताइन् ।

‘उपचार गर्न पैसा छैन । सबैको सहयोगमा अहिले पैसा जम्मा भइरहेको छ,’ नेपालीले भनिन् ।गत कात्तिकमा अरनिमालाई उपचारका लागि पोखरा लगिएको थियो । मुटुमा समस्या देखिएको र अपरेसनका लागि रकम अभाव भएपछि उपचार नगरी घर फर्किएको आमा निशाले बताइन् । ‘लगातार बिरामी पर्न थालेपछि घरमा रहेको पैसा पनि सकियो । श्रीमानको कमाइले घरखर्च र ऋण तिर्दै सकिन्छ,’ उनले भनिन् । गाउँकै विपन्न अरनिमाको परिवारले छिमेकीको जग्गामा लगाएको अन्नपातले गुजारा चलाउने गर्छ ।ओमकुमारी शान्ति कोष म्याग्दीले अरनिमा बचाउ अभियान सञ्चालन गरेको छ । स्वदेश तथा विदेशबाट अहिले रकम संकलन भइरहेको छ ।मुटुको भल्ब फेर्नुपर्ने अवस्था रहेकाले करिब चार लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनले गरिब भएकै कारण उपचारबाट वञ्चित रहेका म्याग्देलीलाई आर्थिक सहयोग जुटाउनुका साथै अस्पतालमा समेत सहज हुने गरी व्यवस्थापन गर्ने गरेको बताए । कोषमार्फत १७ बिरामीको उपचार  गरिएको छ भने एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापना अभियान समेत सञ्चालन भइरहेको छ ।

No comments:

Post a Comment