दलित समुदायका मुद्दा हेर्न आयोगमा छुट्टै कक्षको स्थापना गर्ने प्रतिबद्धता

विभेद बिरुद्ध अभियान-  काठमाडौँ, मंसिर २१: नेपाली काँग्रेसका सांसदहरुले नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी व्यवस्थाअनुसार दलित समुदायले पाउनुपर्ने मानवअधिकारको प्रत्याभूति तत्काल प्रयोगमा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगसँग आग्रह गरेका छन् ।
सांसदहरु जीवन परियार, मानबहादुर विश्वकर्मा, खड्कबहादुर बस्याल र सुजता परियारले आज आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै दलित समुदायबाट परेको तथा जातीय विभेद र छुवाछूतका कारण मानवअधिकार हनन भएका उजुरी छानबिन गरी कानुनी कारबाही गर्नका लागि सरकारलाई सिफारिस गर्न अपिल गरेका छन् । उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा दलितसम्बन्धी उजुरी हेर्न र दलित समुदायको मानवअधिकार हनन सम्वन्धमा विशेष कार्यक्रम देशभरि सञ्चालन गर्न आयोगभित्र एक दलित विभाग/महाशाखा स्थापना गर्नसमेत माग गरेका छन् । 
सांसद जीवन परियारले आयोगमा कर्मचारी नियुक्ति गर्दा दलित समुदायबाट कम्तीमा २० प्रतिशत कर्मचारी आरक्षण गर्न र आयोगमा कार्यरत दलित समुदायका कर्मचारीको वृत्तिविकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिदैं आयोगमा रहेका दलित समुदायका कर्मचारीलाई प्रोत्साहन गरी उच्च मनोबलका साथ काम गर्ने वातावरण प्रदान गर्न माग गरे । सो अवसरमा आयोगका अध्यक्ष शर्माले अन्य समुदायजस्तै दलित समुदायका मुद्दा हेर्न आयोगमा छुट्टै कक्षको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘आयोगले दलित समुदायसम्बन्धी मुद्दालाई अत्यन्त गम्भीरताका साथ हेरिरहेको छ र आरक्षणको सवालमा पनि पहिलेदेखि कार्यान्वयन गर्दै आएको छ भने ।’
‘देशमा बसोबास गर्ने झन्डै २० प्रतिशत जनसङ्ख्या ओगटेका दलित समुदायको अवस्था अत्यन्त डरलाग्दो छ, आजको २१औँ शताब्दीमा समेत जातका आधारमा मानिस मानिसबीच ठूलो विभेद कायम छ’ ज्ञापनपत्रमा भनिएको छ ।

No comments:

Post a Comment