पुरस्कारले थप जिम्मेवारीबोध गराएको छ : पार्वती बिसुन्के

विभेद बिरुद्ध अभियान, मङ्सिर २५- भजन मानव अधिकार पुरस्कारबाट दैलेखकी सामाजिक अभियन्ता पार्वती बिसुन्के पुरस्कृत भएकी छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २५ गते नेपालगञ्जमा आयोजित एक कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाले सम्मान पत्रसहित पुरस्कार राशी प्रदान गरेका हुन् ।स्वर्गीय भजनराम चौधरीकी धर्मपत्नी हीरा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुरस्कृत पार्वती बिसुन्केले आफूलाई सामाजिक क्षेत्रमा लाग्न आमाबाट प्रेरणा मिलेको बताउँदै पुरस्कारले थप जिम्मेवारीबोध गराएको बताइन् ।
दैलेख जिल्लामा जन्मिएकी पार्वतीले ०५८ सालदेखि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । मानव अधिकारको मुल्य र मान्यतामा प्रतिबद्ध भई मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा क्रियाशील उपयुक्त व्यक्तिको प्रस्तावित गर्न सार्वजनिक आह्वान गरेको छनौट समितिले समितिमा प्राप्त प्रस्तावित नामहरू मध्ये दलित समुदायमा जन्मेर जातीय विभेदको अन्त्य, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा विगत १५ वर्षदेखि क्रियाशील बिसुन्केलाई पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका संयोजक बसन्त गौतमले बताए । महिला, बालबालिका तथा दलित अधिकारका क्षेत्रमा सक्रिय बिसुन्के हाल स्थानीय शान्ति समिति दैलेखको संयोजकका रूपमा सक्रिय छिन् ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने भजन मानव अधिकार पुरस्कारको राशी नगद २५ हजार रुपियाँ र सम्मान पत्र रहेको भजनराम चौधरी स्मृति अक्षयकोषका सदस्य प्रभात ठकुरीले बताए । यसअघि पहिलो भजन मानव अधिकार पुरस्कारबाट ०६९ सालमा बर्दिया जिल्ला गुलरिया नपा-८ की मङ्गलाकुमारी श्रेष्ठ र ०७१ सालमा दोस्रो पुरस्कार बाँके जिल्ला फत्तेपुर गाविसकी सावित्री बर्मालाई प्रदान गरिएको थियो ।

इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जमा अधिकृत पदमा रही लामो समय मानव अधिकारको क्षेत्रमा योगदान पुर्‍याएका भजनराम चौधरीको प्रात भ्रमण सकेर घर फर्कँदै गर्दा ०६९ जेठ १६ गते बसको ठक्करबाट मृत्यु भएको थियो ।

यसैबिच मानव अधिकार सञ्जाल नेपालगञ्जले द्वन्द्व पीडितको न्याय र अधिकारका लागि विगत एक दशकदेखि स्वयमसेवी रूपमा न्यायको लडार्इँ लड्दै आएकी न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेती र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा विगत १८ वर्षदेखि क्रियाशील राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका मध्यपश्चिम क्षेत्रीय अध्यक्ष भावुकजङ्ग थापालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।जिल्ला अदालतका मुख्य न्यायाधीश विष्णुप्रसाद कोइरालाले समाजमा रहेका विकृतिलाई उन्मुलन गर्न आवश्यक भएको बताए । उनले समाजमा पिडक र पीडित दुवै पक्ष भएकाले कर्तव्यको जागरण आवश्यक रहेको बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले सम्मानले समाजमा राम्रो प्रभाव पर्ने बताउँदै अधिकारसँगै कर्तव्यलाई पनि अगाडि बढउनु पर्ने बताए । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले भजन चौधरीले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कारको माध्यमबाट उनको कामको सम्झना गराइरहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राई, महिला तथा बालबालिका कार्यालय प्रमुख सुनिता केसी, गैसस महासङ्घका अध्यक्ष प्रमोद रिजाल, उच्च अदालत बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्दलगायतका व्यक्तिले मानव अधिकार संरक्षणमा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

यसैगरी १६ दिने महिला हिंसा विरुद्धको समापन पनि आजै गरिएको छ । समापनमा विपी चोकबाट धम्बोझी चोकसम्म र्‍यालीको आयोजना गरिएको थियो । र्‍यालीमा सरकारी तथा गैरसरकारी संस्थालगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment