आरक्षणको व्यवस्था गरेपछि निजामती सेवामा दलितको पहुँच बढ्दो


विभेद बिरुद्ध अभियान- काठमाडौँ, पुस ८ गते ।  सरकारले २०६४ सालबाट निजामती प्रशासनमा आरक्षणको व्यवस्था गरेपछि दलित समुदायको सहभागिता पनि बढ्दो छ ।  दलित समुदायमा क्रियाशील विभिन्न सङ्घसंस्थाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न थालेपछि निजामती सेवा प्रवेशमा दलित समुदायका युवालाई सहज भएको हो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले हरेक वर्ष निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न थालेपछि दलित युवा लाभान्वित भएका छन् ।  समितिले २०६९ सालदेखि निरन्तर तयारी कक्षा सञ्चालन गरेको छ ।  सो कक्षाबाट दर्जनौँ युवा शाखा अधिकृत भइसकेको समितिले जनाएको छ ।  

हाल समितिले १३६ जनालाई अधिकृत तयारी कक्षा सञ्चालन गरिरहेको छ ।  विभिन्न जिल्लाबाट काठमाडौँमा अध्ययनरत युवालाई तयारी कक्षामा समावेश गरिएको छ ।  २०७२ सालमा ६१ जनाले अधिकृत तह र ७१ जनाले खरिदारको तयारी कक्षा लिएका थिए ।  यीमध्ये दर्जनको सङ्ख्यामा लोकसेवा उत्तीर्ण गरेको समितिले जनाएको छ ।  

काठमाडौँमा मात्र केन्द्रित हुँदै आएको लोकसेवा तयारी कक्षा २०७३ सालबाट भने विभिन्न जिल्लामा पनि सञ्चालन गरिएको छ ।  समितिका उपाध्यक्ष मुक्तबहादुर महतेका अनुसार पोखरा, विराटनगर, सुर्खेत, धनगढी र बुटवलमा दलित समुदायका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन भएका छन् ।  उहाँ भन्नुहुन्छ, “दक्ष जनशक्ति निर्माण गरेर निजामती प्रशासनमा दलित समुदायको सहभागिता वृद्धिका लागि हामीले निरन्तर तयारी कक्षा सञ्चालन गर्दै आएको छौँ र यसले सजिलो पनि बनाएको छ । ” 
लोकसेवा तयारी कक्षा मात्र नभई दलित विकास समितिले उच्च शिक्षा छात्रवृत्तिको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।  समितिले दलित विद्यार्थीका लागि प्राविधिक एसएससीदेखि पीएचडीसम्म छात्रवृत्ति दिँदै आएको समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “सीमित बजेटका कारण हामीले सबै दलित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन सकेका छैनौँ, दलित समुदायभित्र पनि गरिब, दुर्गम तथा जेहेन्दारलाई प्राथमिकता दिएर वितरण गरेका छौँ । ”
उहाँका अनुसार समितिको छात्रवृत्तिले हालसम्म झण्डै पाँच हजार दलित विद्यार्थी लाभान्वित भएका छन् ।  प्लस टुलाई वार्षिक १५ हजार रुपियाँसम्म र पीएचडीलाई ५० हजार रुपियाँसम्मको छात्रवृत्ति वितरण गरिँदै आएको छ ।  चालू आर्थिक वर्षमा पाँच सय दलित विद्यार्थीले छात्रवृत्ति पाएको समितिले जनाएको छ ।  वार्षिक करिब तीन करोड रुपियाँसम्मको छात्रवृत्ति वितरण हँुदै आएको छ ।  

No comments:

Post a Comment