लक्ष्मी परियारको मृत्युको घटनाका सम्बन्धमा मानव अधिकार आयोगको प्रेस विज्ञप्ति

बिभेद बिरुद्ध अभियान , पौष ६ - काभ्रेपलाञ्चोक सानोवाङ्थलीकी लक्ष्मी परियारको मृत्युको दुःखद् घटना सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको जनाएको छ ।
प्रारम्भिक अनुगमन बाट प्राप्त तथ्य अनुसार गत मङ्सिर २० गते लक्ष्मी परियारलाई स्थानीय चार जनाको संलग्नतामा भनाभन र गालीगलौज पश्चात् भएको कुटपिट कथित बोक्सीसमेत भनी निजलाई स्थानीय श्री सूर्योदय माविको चौरको पोलमा बाँधी मुखमा मलमुत्र समेत दल्ने, खुवाउने जस्तो निकृष्टतम दुर्व्यवहार समेत भएको पाइएको आयोगले पुस ५ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘मृत्युको उक्त घटना सम्बन्धमा नेपाल प्रहरीले अनुसन्धान प्रकृया अघि बढाई आरोपित चार जनालाई न्यायिक हिरासतमा राखिएको पाइएको छ । साथै आयोगले उक्त घटनाको अनुसन्धान प्रकृयाको अनुगमन गरिरहेको छ । घटनाको संवेदनशीलता र गाम्भीर्यता समेतलाई मध्यनजर गरी आयोगले मानव अधिकारको दृष्टिकोणबाट समेत थप अनुसन्धान गर्नेछ ।’-विज्ञप्तिमा भनिएको छ ।
आयोगले मृतक लक्ष्मी परियारको हत्यामा संलग्न दोषीहरू उपर कानुनी कारबाही गर्न तथा नाबालक सन्तानहरूको उचित संरक्षण र परिपूरण समेतको लागि आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले गरेको अनुगमनको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

No comments:

Post a Comment