महिलामाथि दुर्व्यवहार हुँदा छिमेकीहरू बोल्न कहिले थाल्छन् ? - भानुभक्त

काभ्रे, सानो बाङ्थलीकी लक्ष्मी परियारलाई 'बोक्सी' भन्दै कुटपिट गरेर मलमूत्र खुवाइएको एक सातापछि सोमबार सूर्योदय माध्यमिक विद्यालयको चउरमा भेला भएका स्थानीय।
मंसिर २९ -बिभेद बिरुद्ध अभियान - स्थानीय सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगाबहादुर लामालाई तीन महिनाअघि चौबास प्रहरी चौकीले एउटा पोस्टर दिएको थियो। महिला हिंसाविरुद्ध सामाजिक चेतना जगाउने त्यो पोस्टर लामाले स्कुल छेउकै चौतारीमा टाँसे।
पोस्टरमा ‘लैंगिक हिंसासम्बन्धी कुनै घटना भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा तुरुन्त खबर गरौं’ भनेर लेखिएको थियो। प्रहरी कार्यालयका फोन नम्बर पनि त्यसैमा दिइएका थिए।
तर, जुन दिन त्यही स्कुलको चउरमा एक दलित महिलामाथि ‘बोक्सी’ भन्दै दुर्व्यवहार गरियो, अरू गाउँलेको त कुरै छाडौं, पोस्टर ल्याएर टाँस्ने उनै प्रधानाध्यापक लामाले धरि त्यसमा उल्लिखित नम्बर घुमाएर प्रहरीलाई खबर गर्न जरुरी ठानेनन्।
यो सडकले नछोएको र सामाजिक चेतनाका नाराहरू नसुनिएको दुर्गम गाउँको कथा होइन। राजधानी काठमाडौंबाट सय किलोमिटरभन्दा कम दुरीमा पर्ने त्यस्तो गाउँको कथा हो, जहाँका मान्छे हिँडेर होइन, कच्ची सडकमा धुलो उडाउँदै भए पनि गाडी चढेरै ७० किलोमिटर दुरीको बनेपा झर्छन्। त्यही गाडी चढेर विकासे कार्यकर्ता र विकासे नाराहरू पनि पुगिसके। तर, नाराले मात्र चेतना जगाउन सक्दो रहनेछ। 
तामाङ र परियारको बाहुल्य रहेको काभ्रे, सानो बाङ्थली-७, गोदामचौरमा सोमबार हामी पुग्दा रक्सीको नसाले मात्तेका एक व्यक्ति लर्बरिएको स्वरमा भन्दै थिए, ‘हिराले ठिक गरेको छ।’ 
हिरा सूर्योदय स्कुलमा काम गर्ने तिनै व्यक्ति हुन्, जसले एक साताअघि ‘बोक्सी’ भन्दै स्थानीय लक्ष्मी परियारमाथि दुर्व्यवहार गरेका थिए। उनलाई स्कुलकै पोलमा बाँधेका थिए। र, जबर्जस्ती मलमूत्र खुवाएका थिए।
घटनाको चार दिनपछि ‘रहस्यमय’ ढंगले मृत फेला परेकी लक्ष्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ। नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले घटनाको विस्तृत छानबिन गरिरहेका छन्।
स्थलगत भ्रमण क्रममा गाउँलेहरूसँग कुरा गर्दा लक्ष्मीलाई ‘बोक्सी’ भन्दै स्कुलकै चौतारी छेउमा बाँधेर मलमूत्र खुवाइएको सबैले स्वीकार गरे। तर, उनको मृत्यु कसरी भयो भन्नेमा धेरैलाई अन्यौल छ। प्रहरी यही गुत्थी सुल्झाउन थप अनुसन्धान गरिरहेका छन्। 
प्रहरी अनुसन्धानले मृत्युको कारण खोतल्दै जाला, तर एउटा कुरा पक्का छ, एक दलित महिलामाथि खुलेआम हिंसा हुँदा पनि यहाँका सारा गाउँले तमासे बनेर बसे। कतिले त हिंसामा सहयोग नै गरे। जस्तो, सूर्योदय स्कुलका प्रधानाध्यापक।
आँगनकै घटनामा बेखबर
महिला हिंसाविरुद्धको पोस्टर ल्याएर चौतारीमा टाँस्ने ३३ वर्षीय प्रधानाध्यापक लामा आफ्नै स्कुल प्रांगणमा भएको घटना पनि भोलिपल्ट मात्र थाहा पाएको भन्दै टक्टकिन खोज्छन्।
‘अर्को दिन स्कुल आउँदा झगडा पर्यो भन्ने सुनेँ,’ लामाले सेतोपाटीसँग भने, ‘आफ्नो आँखाले नदेखेको घटनाबारे चासो राख्ने कुरा भएन।’
उनले घटनाबारे चासो त राखेनन् नै, त्यसमा संलग्न भनिएका स्कुल कर्मचारी हिरा लामासँग सोधपुछ गर्न पनि जरुरी ठानेनन्। प्लस–टु पास गरेका २५ वर्षीय हिरा सूर्योदय स्कुलमै लेखापाल छन्।
सूर्योदय माध्यमिक विद्यालय छेउको चौतारी, जहाँ महिला हिंसाविरुद्ध पोस्टर टाँसिएको छ। 
‘त्यो दिन लक्ष्मीले गालीगलौज र कुटपिट गरेको भन्दै हिराकी आमा (काइलीमाया) प्रहरीलाई निवेदन लेख्न आउनुभएको थियो,’ लामाले भने, ‘सामाजिक सर (खड्गप्रसाद चौंलागाई) ले निवेदन लेख्दिनुभएछ।’ 
पीडित पक्ष आफूसँग कुरा गर्न नआएको र आफू काममा व्यस्त भएकाले घटनामा चासो नराखेको प्रधानाध्यापक लामाको भनाइ छ। ‘प्रहरीमा निवेदन परिसकेपछि उहाँहरू नै आएर मिलाउनुहोला भन्ठानेर चासो राखिनँ,’ उनले भने, ‘प्रत्यक्ष नदेखेकाले यथार्थ घटना हो कि होइन भन्ने शंका पनि लाग्यो।’
डोरी दिएर सघाउने छिमेकी
स्कुलसँगै साँध जोडिएका छेडुप तामाङ अर्का यस्ता व्यक्ति हुन्, जसले महिलामाथि दुव्र्यवहार हुँदा छुट्टयाउन जानुको साटो उल्टै लक्ष्मीलाई बाँध्न डोरी दिए।
मंसिर २० गते यो घटना हुँदा छेडुप घरमै थिए। उनले घरबाटै हिरा र उनकी आमा काइलीमायाले लक्ष्मीलाई कुटपिट गरिरहेको देखे। तर, वास्ता गरेनन्। 
‘उनीहरू जगल्टा लुछालुछ गरिरहेका थिए, मैले वास्ता गरिनँ,’ छेडुपले भने, ‘एक जना भाइ कपाल काट्न भनेर आएको थियो, म उसको कपाल काट्नतिर लागेँ।’ 
यता छेडुप कपाल काट्न व्यस्त भए, उता लक्ष्मीमाथि ‘बोक्सी’ को बात लगाउँदै कुटपिट हुन थाल्यो। केही बेरपछि हिराकी आमा ‘यसले हामीलाई मुख छाडी, यसलाई बाँध्नुपर्छ’ भन्दै छेडुपकी पत्नी निरमाया तामाङसँग डोरी माग्न आइन्। 
निरमाया त्यतिबेला भर्खरै धुसुन लिएर घर छिरेकी थिइन्। 
काइलीमायाले डोरी मागेपछि छेडुप आफैं कोठाभित्र छिरे। डोरी झिके। र, काइलीमायातिर बढाए।
काइलीमाया डोरी लिएर फेरि लक्ष्मीलाई लुछ्न चउरतिर बढिन्।  
छेडुप गाउँमा केही हुँदै नभएजस्तो कपाल काट्नमै तल्लीन भए। मानौं, त्यो डोरी एउटा महिलालाई चउरमा बाँध्न होइन, गोठबाट फुत्केको वस्तुलाई किलोमा बाँध्न मागिएको होस्।
अनि त, लक्ष्मीलाई पोलमा बाँधियो। रिसले आँखा चिम्लेकी काइलीमायाले चाउचाउको खोलमा मलमूत्र लिएर आइन्। र, जर्बजस्ती लक्ष्मीको मुखमा दलिदिइन्। 
‘अर्काको झगडामा बीचमा पर्ने मेरो बानी छैन,’ दुई कक्षासम्म पढेको बताउने छेडुपले भने, ‘त्यस दिन पनि लक्ष्मी र काइलीमायाको झगडा पर्दा म छुट्टयाउन गइनँ। आफ्नै काम गरेर बसिरहेँ। उनले डोरी मागिन्, दिएँ, फेरि आफ्नै काममा लागेँ।’ 
आँखै अगाडिको झगडा त छुटाउन अघि नसर्ने तामाङले चौतारीको पोस्टरमा उल्लिखित नम्बर डायल गरेर प्रहरीलाई के खबर गरुन्!
बरु उनी भोलिपल्ट अर्कै उजुरी लिएर प्रहरीकहाँ भने पुगे।
उनको आरोप थियो, ‘लक्ष्मीले मेरो भैंसीलाई खुकुरीले हान्यो।’
भएछ के भने, मंसिर २० गतेकै रात लक्ष्मी रिसको झोँकमा बर्बराउँदै छेडुपकै घरनिर आएकी थिइन्। ‘आज त्यो हिरा र हिराकी आमालाई काट्ने हो भन्दै लक्ष्मी बाहिर बर्बराएको सुनेको थिएँ,’ छेडुपले भने, ‘भोलिपल्ट हेर्छु त मेरै भैंसीको घाँटीमा पो खुकुरी हानिछे।’
यही घटनापछि छेडुप, हिरा र उनकी आमा काइलीमाया भोलिपल्ट मंसिर २१ गते प्रहरीकहाँ उजुरी गर्न गए। त्यही उजुरीका आधारमा २३ गते प्रहरी घटनास्थल पुग्यो।
परिवारले पनि उजुरी गरेन
लक्ष्मीलाई हिरा लामा र उनकी आमाले मलमूत्र खुवाएर कुटेको उनका दस वर्षका छोरा सुमन र भाइ–बुहारी शान्ताले प्रत्यक्ष देखेका थिए। 
सुमनले आफ्नी आमालाई ‘हिरा सरले बाँधेर दिसा खुवाएको’ बयान दिएका छन्। शान्ताले पनि हिरालाई गाली गर्दै अमाजू लक्ष्मीलाई छुट्टयाएको बताएकी छन्। लक्ष्मीकी सासू विष्णुमायाले बुहारीले कुटाइ खाएर आएको भनेकी छन्। उनको भनाइ छ, ‘मसँग खासै बोल्दिनथी, त्यो दिन पनि नबोलेर गई, खाना पकाएर खाई कि खाइनँ, मैले सोधिनँ।’
लक्ष्मीकी सासू विष्णुमाया परियार। 
लक्ष्मीका श्रीमान् मिलन परियार काठमाडौंमा बस्छन्। उनले घटना भएको दिन साला (लोकबहादुर परियार) लाई यो खबर सुनाए। 
‘भिनाजुले दिदीले झगडा गरेको भन्नुभयो, तर दिसा खुवाएको, कुटेको भन्नुभएन,’ लोकबहादुरले भने, ‘त्यही दिन मैले फोन गर्दा दिदीले पनि झगडा परेको कुरा झिक्नुभएन, बरु चामल नभएको कुरा सुनाउनुभयो।’ 
अर्को दिन लक्ष्मीका श्रीमान मिलन गाउँ आए। तर, श्रीमतीलाई उपचार गर्न लगेनन्। ‘छोराले उपचार गर्न जाउँ भन्दा तँसँग जान्न भनेको रे,’ लक्ष्मीकी सासू विष्णुमायाले भनिन्।
मिलन मंसिर २१ र २२ गते घरमै बसे। २३ गते काठमाडौं जान्छु भनेर हिँडे। उनी काठमाडौं भने गएनन्। बरु ससुराली मिल्थुबगर पुगे। त्यहाँ जेठी सासूसँग भनेछन्, ‘तामाङहरूले लक्ष्मीलाई कुटेछन्, मारे भने म जिम्मेवार हुन सक्दिनँ।’
मिलन त्यही साँझ घर फर्किए। आफ्नो घर नगई आमा विष्णुमायासँगै बस्न आए। ‘त्यसले (लक्ष्मी) रक्सी खाएकी छे आमा,’ उनले भने, ‘म यहीँ सुत्छु।’
अर्कोदिन बिहानै ६ बजे उनी घर गए। साढे ७ बजेतिर दुई वर्षको कान्छो छोरा बोकेर फेरि आमाको घरतिर आए। आमा विष्णुमायाले ‘के भो’ भनेर सोधिन्। मिलनले जवाफ दिए, ‘लक्ष्मी माइत जान्छु भनेर गई।’
त्यसको केही बेरपछि नै माइलो छोरा सुमन ‘आमा... आमा’ भन्दै हाँपदाँप गर्दै आए।
सुमन आत्तिएको देखेर विष्णुमायाको ज्यान चिसो भयो। सबै जना दौडँदै गोठतिर गए।  
लक्ष्मीको शव गोठको ढोकामा पल्टिएको थियो। आधा भित्र, आधा बाहिर।प्रहरी त्यही दिन घटनास्थल पुग्यो। सोधपुछ क्रममा मिलनले बयान दिए, ‘बिहान झगडा हुँदा लक्ष्मीलाई लठ्ठीले हानेको थिएँ, कुन ठाउँमा लाग्यो थाहा भएन।’लक्ष्मीका भाइ लोकबहादुरले मंसिर २५ गते जिल्ला प्रहरी कार्यालय बनेपामा ‘बोक्सी भन्दै दिसा खुवाएर कुटपिट गरेपछि दिदीको मृत्यु भएको’ जाहेरी दिए।
प्रहरीको भूमिका नै शंकास्पद
लक्ष्मीको शव भेटिएको ठाउँ देखाउँदै उनका माइला छोरा।
यो घटनामा प्रहरीको भूमिका पनि शंकास्पद देखिन्छ।हिरा, उनकी आमा र छेडुपले मंसिर २१ गते चौबास प्रहरीमा उजुरी दिए पनि प्रहरी दुई दिनपछि मात्र घटनास्थल पुगेका थिए। 
घटनास्थलमा लक्ष्मीले आफूलाई ‘बोक्सी’ भनेर मलमूत्र खुवाइएको आरोप लगाउँदा पनि प्रहरीले सुनुवाइ गरेन। चौबास चौकीका इन्जार्च प्रेमपुकार चौधरी ‘महिलासम्बन्धी झगडा आफूहरूले हेर्न नमिल्ने’ भन्दै पन्छिएका थिए। 
दुवै पक्ष महिला प्रहरी भएको ठाउँमा जानुपर्ने उनको भनाइ थियो। कात्तिके देउरालीमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीको व्यवस्था छ।विष्णुमायाले भने ‘बुहारीलाई चौकी लगिए नाति र गाईबस्तु आफूले स्याहार्नुपर्ने’ ठानेर गाउँमै कुरा मिलाउन अनुरोध गरिन्। चौधरीले माथिल्लो तहमा घटनाको रिपोर्ट गर्दा ‘बोक्सी भनेर मलमूत्र खुवाएको छ’ भन्ने सूचनासम्म दिएका थिएनन्। भैंसी काटेको निवेदनको भरमा मिलापत्र गराई उनीहरू चौकी फर्किएका थिए। 
काभ्रे प्रहरी प्रमुख उपरीक्षक सहकुल थापा बोक्सी आरोप र मलमूत्र खुवाइएकोबारे आफूलाई रिपोर्ट नै नगरिएको बताउँछन्।घटना सार्वजनिक भएपछि उपरीक्षक थापाले घटनास्थलमा खटिएका चौधरीलाई जिल्लामै डाकेका थिए। थापाकै अगाडि चौधरीले ‘महिलासम्बन्धी मुद्दा हामीले हेर्न मिल्दैन सर’ भन्ने जवाफ दिएछन्। 
‘संवेदनशील अंग छुनुपर्ने वा गोप्य कुरा गर्नुपर्ने भए पो महिला प्रहरी चाहिन्छ,’ थापाले हप्काउँदै भनेछन्, ‘यो त तिमीले पनि हेर्न सक्छौ।’
 चौधरीले घटनाको गाम्भीर्य बुझ्न नसकेकाले मेलमिलाप गराएको हुन सक्ने थापाको भनाइ छ। ‘बोक्सी भनेको र मलमूत्र खुवाएको घटना नियतवश नै लुकाएको हो भने चौधरीलाई कारबाही हुनेछ,’ उनले भने। 
घटनामा प्रहरीको शंकास्पद भूमिकाको गुत्थी सुल्झाउन चौधरीलाई जिल्ला नै डाकेर अनुसन्धान गर्ने उनले बताएका छन्। 
प्रहरीको भूमिका मात्र होइन, यो घटनामा लक्ष्मीको मृत्युको कारण पनि अझै रहस्यमै रहेको थापा बताउँछन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा हिरा लामा, काइलीमाया लामा, छेडुपकी श्रीमती निरमाया तामाङ र लक्ष्मीकै श्रीमान मिलन परियारलाई हिरासतमा लिएको छ।
 ‘सबैको कुरा सुन्दा, बोक्सी भनेर मलमूत्र खुवाएको र कुटपिट गरेको त देखिन्छ, तर यही कारणले लक्ष्मीको मृत्यु भएको हो कि होइन यकिन छैन,’ उनले भने, ‘यो घटनालाई अब हामी दुईवटा पक्षबाट हेरिरहेका छौं।’
 पहिलो, हिरा र उनकी आमा काइलीमायाले लक्ष्मीलाई ‘बोक्सी’ भनेर मलमूत्र खुवाएका थिए भने यो घटना प्रहरीको रेकर्डमा किन आएन? यसमा प्रहरीको कुनै नियत छ कि छैन?
 दोस्रो, घटना भएको चार दिनपछि लक्ष्मीको अचानक कसरी मृत्यु भयो? जबकि, शव फेला परेको अघिल्लो दिन मात्र लक्ष्मी बिहेमा नाचेर आएको गाउँले बताउँछन्।
 यो घटनाले एउटा प्रश्न भने खडा गरेको छ, महिला हिंसाविरुद्धका पोस्टर ल्याएर गाउँ–गाउँमा टाँसी हिँड्नेहरू आफैं यस्ता हिंसाविरुद्ध बोल्न र उभिन कहिले तयार हुन्छन्? महिलामाथि दुर्व्यवहार हुँदा छिमेकीहरू बोल्न कहिले थाल्छन्?
तस्बिर: अनिश रेग्मी/सेतोपाटी(सेतोपाटी बाट साभार )

No comments:

Post a Comment