के तपाईहरु ‘गुहु’ खान सक्नु हुन्छ ? - गणेश श्रेष्ठ

पौष १६ - बिभेद बिरुद अभियान- म अहिले साउदी अरबको रियादमा एउटा पेट्रोल पम्पमा काम गरीरहेको छु । म भोजपुर स्थायी घर भई हाल सुनसरी ईटहरीमा बस्दै आएको छु । म करीब ९ वर्ष मलेशिया बसेर अहिले फेरी साउदी पुगेको छु रोजीरोटीको लागि । देश गरीब छ , मानिसहरु गरीबीमा बाचीरहेका छन् , १० वर्षदेखि विदेशी भूमिमा अरुको काम गर्न हामी जस्ताको रहर हो कि राज्यले सिर्जना गरेको बाध्यता हो ?

हामी जस्ता युवाले कसरी दुखः गरीरहेका होलान सिंहदरबारमा चिल्लो गाडीमा कुद्नेहरुले थाहा पाएका छैनन् शायद । ल यो त हामी दुखः गरेर खान्छौ ठिकैछ एक दिन देश बन्ला आशा पनि गर्न सकिन्छ ।तर दिन दिनै जसो देश भित्र आमा दिदी बहिनीहरुलाई बोक्सी भनेर दिशा पिशाब खुवाईएको , हत्या गरिएको, बलात्कार गरिएको खबरले मेरो मन असाध्यै पोल्ने गरेको छ ।यसरी बोक्सी भनेर आगो लगाईएकी ढेगनी देविको पीडा सेलाउन नपाउदै फेरी काभ्रेमा एक दलित महिलालाई दिशा पिशाब खुवाएर रुखमा बाधेर हत्या गरिएको खबरले मन भत भत पोलेको छ । नेपालको विभिन्न अनलाईनहरुमा फेसबुकहरुबाट यो खबर अझ भन्दा साथीहरुबाट मैले सुने ।

काभ्रेकी लक्ष्मी परियारलाई गाउलेहरुले अझ शिक्षक जस्तो मान्छे समेत लागेर दिशा पिशाव खुवाएर रुखमा बाधेर कुटेर मार्नु यो कहा सम्मको न्याय हो ?  म सोध्न चाहन्छु , तपाईहरुलाई लक्ष्मीलाई जस्तै दिशा पिशाब कोच्याउदा के हुन्छ ? तपाई खान तयार हुनुहुन्छ ? यदी तपाई तयार हुनुहुन्न भने अरुलाई , असहायलाई किन यसो गर्नु हुन्छ ? यो अन्याय कहिले सम्म ? त्यो शिक्षकले साना बच्चाहरुको अगाडी रुखमा बाधेर कुटेर मार्दा रमित हेर्ने ती कस्ता समाजका नागरिक थिए ?

सरकार कँहा छ ? कानुन कँहा छ ? यो गंभीर अपराध र हत्याको अभियोगमा राज्यले संलग्नलाई जन्मकैद गर्ने कि नगर्ने ? म आग्रह गर्न चाहन्छु , ती अपराधी हुन् जो जो यो घटनामा संलग्न छन् उनीहरुलाई जन्मकैद होस् । केही दिन पहिला समाचार पढेको थिए ईन्डोनेशियामा महिलालाई बलात्कार गर्नेको लिंग नै काट्ने भनेर , अब नेपालमा पनि यस्तै कानुन चाहिन्छ , मलमुत्र खुवाउनेलाई पनि उल्टै खुवाएर दुबै हात काटदिने खालको कानुन चाहिन्छ कि त आजिवन काराबास कै कानुन । नत्र यो देशमा मानिसले मानिस भई बाच्न नपाउने ? गरीब भएकै कारण बोक्सी , बोक्सा बनेर दिशा पिशाब खानु पर्ने , आगो लगाएर मारिनु पर्ने ?यो जति अपराध भएको सबै गरीब, असहाय र दलित तथा भेदभावमा परेका मान्छेहरुमाथि भएको छ ।  यो कुराले किन सिंहदरबारमा बसेर शासन गर्ने चिल्ला मान्छेहरुको मन छुदैन ? यदी यो जघन्य अपराध ती ठूला बडालाई भएको भए के हुन्थ्यो ? सत्ताको सबै शक्ति प्रयोग गरेर कार्बाही गरीसकेका हुन्थे । हो यसै कारणले देशमा अन्याय छ , द्धन्द छ , पीडा छ ।

अस्ती अख्तियारका प्रमुखलाई कालोमोसो दल्नेलाई कैद र जरीवानाको लागि सर्बोच्चले आदेश दियो भन्ने सुनियो । सामान्य कालोमोसो दल्नेलाई तत्कालै कार्बाही गर्न आदेश दिने सवोच्च छ भने महिलालाई आगो लगाउने, मलमुत्र खुवाउने हत्या गर्नेलाई आदेश दिएको कतै सुन्दिन म किन हो ? म विदेशी भूमिमा श्रम गरेर देशलाई सम्झन बाध्य छु । यो अन्याय र अत्याचार रोक्न के गर्नु पर्छ सबैको ध्यान जाओस् ।
गणेश श्रेष्ठ, भोजपुर , हाल साउदी-मिर्मिरे अनलाइन बाट

No comments:

Post a Comment