थर भनेपछि म दलित जस्तो देखिए रे ! - जुनु सुनार

विभेद बिरुद्ध अभियान- २५ मंसिर , सामान्यतया तपाई हामी २१ औं शताब्दिका मानिसहरु सोच्ने गर्छौ जातिय विभेद तथा छुवाछुत तपाई हाम्रो गाउँ, टोल, छरछिमेक बाट कम भएको छ , अथवा विभेद हुदैन । तर  दलित तथा गैर दलित बस्तिमा हेर्नुहोस अझै पनि उस्तै छन् फरक यति मात्र हो की सामाजिक सभा समारोह हुँदा सबै जना संगै बस्छन् ।

खाजा नास्ता संगै खान्छन् र घरमा, चोकमा पुगेपछि फलाना दलित ले त बढो बाठो भएर बोल्दै थियो, पहिले पहिले हाम्रो घरमा उस्को बाबुले हलो जोत्थ्यो अहिले ठुलो बनेछ । यस्तै यस्तै बिभेद आखिर कहिले सकिन्छ समाज बाट र  हामि भित्र बाट ? 
म यो लेखिरहदा बिर्सन सक्दिन त्यो दिन ! हामी साथीहरु चार जना बसमा करीव एक घण्टाको यात्रामा  थियो । त्यसै अवधिमा नगरपालिका कार्यलयमा कार्यरत सरकारी कर्मचारी जो गैरदलित थिए ।
हामी साथीहरु कुरा गर्दै गयौं, उहाँले पनि कुरामा कुरा थप्दै जानु भयो, एकै छिन मा मेरो साथीलाई सोध्नु भयो “ नानी के थरी ? 
साथीले उत्तर दिईन् ' पौडेल ' ।
फेरी सोध्नुुभयो कहाँको पौडेल ? 
 उन्ले जवाफ दिइन 'अर्घाखाँचीको ' ।
त्यसपछि पौडेलहरुको खानदानी , पुर्खाहरुको बिषयमा निकै बेर चर्चा चल्यो ।
 निकै बेरको कुराकानी पश्चात मलाई पनि सोध्नु भयो अनि नानी चाहि के थरि नी ? 
मैले भने 'सुनार'
उहाले  अक्क न बक्क हुदै भन्नुभयो 'ए सुनार पो ' ! 
अनि भन्नु भयो सुनार जस्तो त लाग्दैन ! त्यस पछि म संगको कुराकानी बन्द ।

हामी भित्रको भावनात्मक विभेद  नचिनुन्जेल हामी सबै मानव थियौ, हाम्रो एउटै सोच थियो, विचार थियो , जवाफ पनि थियो तर चिने पछि सुनार, कामी, दमाई, सार्की चमार, भनेपछि शुरु हुन्छ जातका कुरा र अछुतोपन !मैले जात नभन्दा सम्म म राम्रो थिए र मेरो पहिचान फरक थियो । तर जात भनेपछि म कामी जस्तो देखिए रे !

प्रकृतिले हामि सबैलाई मानव बनाएर यो धर्तिमा झारेको छ हामि महिला र पुरुष सगै समलिङ्गिहरु पनि यो धर्तीमा छन् प्रकृतिले मानवलाई उस्तै बनाएको छ । फरक महिला र पुरुषको शारिरीक बनावटको हो दलित भनेर छुटयाउने टाढै बाट चिनिने कुनै चिन्ह छ त ? छैन अनि केको अधारमा कथित दलित समुदायहरु अछुत जात भए ? 

हामि पुर्खौ देखि चलिआएको परम्परा अन्धविश्वाश  हटाउनुको सट्टा हामीले कहिकतै यसैलाई अपनाएका त छैनौ ? नेपालको संविधान जातिय छुवा छुत कसुर सजाय ऐन २०६८ को कानुन बमोजिम कथित तल्लो जात भनेर छुवाछुत गर्न पाईन्न ।जातिय भेदभाव कम गर्न सरकारी तथा गैर सरकारी निकाय र अन्य सामाजिक संघसस्थाहरु सबैको साझा पहल जरुरी छ ।
 मुगूको थाँयनाथ मन्दिर प्रवेश गर्न खोज्दा त्यहाँका ठकुरीहरुको एक हुलले दलित समुदायहरुलाई आक्रमण र कुटपिट गरेको घट्ना, सुनसरी ईटहरीकी शान्ति गजमेरलाई दलित भएको थाहा पाएपछि घरधनी श्याम भण्डारी उनकी श्रीमती शर्मिला भण्डारीले घरबाट सामान बाहिर फाकिएको घट्ना, धादिङ्गकी एक दलित महिलाले किनेको गाईको दुध दलित हो भनी थाहा पाएपछि गैरदलितले न किनीदिएको घट्ना मोरङ्ग सिजुवाका सञ्जीव घतानी र एलिशा खत्रीले गरेको अन्तरजातिय विवाहित जोडीलाई गैरदलित समुदायहरुले लखेटिएको घट्ना प्रधिनिधी घटना मात्रै हुन । समाजमा यस्ता धेरै घटनाहरु बाहिर आउने गरेका छैनन ।
  त्यसैले जातजातमा भेदभाव गर्छौ किन, यसलाई छुट्याउने के छ चिन्ह ? 
[सुनार नेपाल राष्टिय दलित कल्याण समाज संघ रौतहटकी कार्यक्रम संयोजक हुन]

No comments:

Post a Comment