लक्ष्मी परियार मृत्यु प्रकरणः प्रहरी इन्चार्ज फेरिए, चारविरुद्ध ज्यान मुद्दा

बिभेद बिरुद्ध अभियान - काभ्रे, मंसिर २९ । दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज जिल्ला तानिएका छन् ।घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार प्रहरी चौकी चौबासका इन्चार्ज असइ प्रेमपुकार चौधरीलाई जिल्ला तानिएको छ भने बुधबारदेखि नयाँ इन्चार्ज पठाइनेछ ।
स्थानीय शिक्षकको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको थियो, चौथो दिन महिलाको मृत्यु भएको थियो ।दुव्र्यवहार भएपछि न्याय माग्न आएका पीडितलाई प्रहरी इन्चार्जले आफूहरूले महिलाको विषय नहेर्ने भन्दै फर्काइदिएका थिए ।तर, गाउँमा गएका प्रहरी इन्चार्जले थप अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराएका थिए । तर, मिलापत्रमा बोक्सी र मलमूत्रको कुरा लेखिएको छैन ।‘निवेदन र मिलापत्रको कागज हेर्दा बोक्सीको विषय कतै देखिएको छैन,’ एसपी थापा भन्छन्, ‘तर पनि आरोप लागेपछि वास्तविकता बुझ्न उनलाई जिल्लामा ल्याइएको हो ।’
पाँच दिनसम्म पनि भएन पोस्टमार्टम
नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको मृत्यु भएको पाँच दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ ।आयोगले सोमबार तथा दलित आयोगले मंगलबार घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएका छन् । बुधबार पोस्टमार्टम गर्न लागिएको छ ।
गत २० मंसिरमा सूर्योदय स्कुलको प्रांगणको पोलमा बाँधेर लक्ष्मीलाई कुटपिट गरी मलमूत्र खुवाइएको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनबाट पुष्टि भइसकेको छ ।बोक्सी भन्दै उनलाई कुटपिट भएको मृतकका छोरा र स्थानीयले बताएका छन् । तर, गाली गर्ने क्रममा बोक्सी भनेको वा बोक्सीकै आरोप लगाएर कुटपिट गरेको भन्ने विषय प्रस्ट भइनसकेको अनुसन्धानमा आबद्ध प्रहरी तथा अधिकारकर्मीले बताएका छन् । २० गते उनलाई कुटपिट गरी घाइते बनाएको चार दिनपछि उनको मृत्यु भएको थियो ।
श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा
काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमानसहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ ।बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् ।
हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए ।
नयाँ पत्रिका दैनिकबाट

No comments:

Post a Comment