खबरदारी गर्ने उद्देश्यले दलित नागरिक समाजद्वारा आन्दोलनको घोषणा

संविधानमा दलित समुदायको सवालहरु सम्बोधन गराउन दबाबस्वरुप चरणबद्ध खबरदारी गर्ने उद्देश्यले दलित नागरिक समाजको बैठक दलित गैर सरकारी संस्था महासंघको कार्यालयमा मिति २०७१ पुस २७ गते आइतबार बस्यो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारको संयोजकत्वमा बसेको बैठकमा दलित महिला संघकी अध्यक्ष दुर्गा सोव, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्मा, दलित नागरिक समाजका अगुवा मोतीलाल नेपाली, महासंघका महासचिव जेवी विश्वकर्मा, सुशील विके, एकराज लकान्द्री, तिलक विश्वकर्मा, अन्जान परियार, पम्फा परियार, अर्जुन विश्वकर्मा, लोकदर्शन लामिछाने, कमल विश्वकर्मा, सुमन पौडेल, सन्तोषविश्वकर्मा, रणबहादुर रम्तेल, हस्तबहादुर सुनारलगायतको उपस्थिति रहेको थियो । बैठकले निम्नानुसारको निर्णय गरेको छ ः
१. खबरदारी कार्यक्रम मिति २०७१ पुस २९ गतेदेखि माघ ८ गते सम्म गर्ने निर्णय गरियो । साथै कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन गर्न निम्न समितिहरु गठन गरी गतिविधिहरु अगाडि बढाउने निर्णय गरियो ।
(क) अपिल रएजेन्डा निर्माण तथा लविंग समितिः संविधानमा समेट्नुपर्ने दलित एजेन्डा र अपिल निर्माण गरी सम्बन्धित सरोकारवालाहरुसमक्ष लविंग गर्न महासंघका अध्यक्ष गजाधर सुनारको नेतृत्वमा मोतिलाल नेपाली, दुर्गा सोव, भक्त विश्वकर्मा, पदम सुन्दास, रेम विश्वकर्मा, अमृत विश्वकर्मा, सुशील विश्वकर्मा रहनुभएको समिति गठन गरियो । यस समितिले अपिल र एजेन्डाहरु
फाइनल गर्ने निर्णय गर्यो ।
(ख) जन परिचालन तथा प्रचारप्रसार समितिः नेपाल ग्रासरुट डेभलोपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्माको संयोजकत्वमा सुमन पौडेल, कमल विश्वकर्मा, लोकदर्शन लामिछाने, सहेक विश्वकर्मा, अन्जान परियार, पम्पा परियार, रामबहादुर तिरुवा, दिनेश हरिजन, कृष्ण गहतराज, धन मिजार, लक्ष्मण दर्नाल, गोपाल बराइली, राजेन्द्र ताम्राकार, सुमन विश्वकर्मा, अशोक दर्नाल, चेतनारायण रसाइली रहनुभएको समिति गठन गरियो । साथै यस समितिमा आवश्यकताअनुसार सदस्य थप्न सकिने निर्णय गरियो ।
(ग) आर्थिक व्यवस्थापन समिति ः खबरदारी कार्यक्रमलाई आवश्यक पर्ने प्रचार प्रसार सामग्रीहरु प्रकाशन लगायत विभिन्न गतिविधि सञ्चालन गर्न आर्थिक व्यवस्थापन गर्नुपर्ने भएकोले दलित गैरसरकारी संस्था महासंघका महासचिव जस बहादुर विश्वकर्माको संयोजकत्वमा महासंघका कार्यकारी निर्देशक सुमन पौडेल, एनपीसी हस्तबहादुर सुनारसहितको आर्थिक व्यवस्थापन समिति गठन गरियो । यस समितिमा सबै संघसंस्थाका एकएक जना प्रतिनिधि रहने व्यवस्था गरियो ।
२. मिति २०७१ पुस २९ गतेदेखि २०७१ माघ २ गतेसम्म राजनीतिक दलहरुका प्रमुख, राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईसमक्ष दलित समुदायका एजेन्डासहित लबिंग गर्ने र पत्रकार सम्मेलन गर्ने निर्णय गरियो
३. संयुक्त दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा नागरिक समाजको तर्फबाट सक्रिय सहभागी हुने निर्णय गरियो ।
४. मिति २०७१ माघ ४ गते दलित नागरिक समाजको र्याली ११ः३० बजे बबरमहलदेखि बानेश्वर सम्म गर्ने निर्णय गरियो ।
५. मिति २०७१ माघ ६ गतेदेखि ८ गतेसम्म संविधानसभा भवन अगाडि दलित नागरिक समाजको ब्यानरसहित धर्ना दिने निर्णय गरियो ।  बैठकमार्फत् दलित नागरिक समाजका अगुवाहरुले आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउनु सबैमा अपिल गर्नुभएको छ ।

Source : nepaldalitinfo@yahoogroups.com

No comments:

Post a Comment